बाेली फेर्ने छेपारो
बोली फेर्ने छेपारोविश्वकथाका महारथी आन्तोन चेखबका कथा मानव समाज रहेसम्म मर्दैनन् भनिन्छ। चेखबको सबैभन्दा बढी रुचाइएको र तर नेपाली पाठकले उति पढ्न नपाएको कथा यहाँ प्रस्तुत छ। यो कथा म्यापलप्रेस, नोयडा, भारतबाट प्रकाशित ‘सेलेक्टेड सर्ट स्टोरिज बाई आन्तोन चेखब’ बाट ‘अ केमेलिन’ शीर्षक कथाको साभार अनुवाद हो। जारकालीन प्रहरी अधिकृतको नोकरशाही प्रवृत्ति राम्ररी झल्काउने यो कथा खासमा संसारभरिका आम मान्छेको प्रवृत्ति हो।
प्रहरीको हाकिम अचुमेलोभ नयाँ ओभरकोट भिरेर बजारतिर जाँदैछ। काखीमुनि एउटा पार्सेल च्यापिएको छ। कतैबाट जफत गरिएको गुजबेरीको डालो बोकेर रातो कपालवाला पुलिस जवान उसको पछिपछि हिँडिरहेको छ। चोकमा कुनै जीव देखिन्न। पसल र होटेलका खुला ढोकाहरू भोका अनुहारझंै दिक्दार भावमा आकाश ताक्दैछन्। वरिपरि कतै माग्नेहरूसमेत देखिँदैनन्।
‘खुबै जान्ने भएर टोकेको होइनस् ? पख्लास् बदमास !’ अचानक अचुमेलोभले सुन्यो, ‘ओई केटा हो, त्यल्लाई भाग्न नदिनू है ! अचेल टोक्न पाइँदैन। समात्...ऐया..या...या...या।’
तर्सेर कुकुर चुइँकेको सुनियो। आवाज आएतिर हेर्दा अचुमेलोभले देख्यो, पिचुगिनको काठ गोदामबाट एउटा पोथी कुकुर तीन खुट्टाले मात्र टेक्दै उफ्रँदै आइरहेको छ। खद्दरको बुसर्ट र टाँक खुला इस्टकोट भिरेको एउटा मान्छे उसलाई लखेट्दैछ। दौडँदै उसले आफ्नो जिउ फाल्यो र कुकुरको खुट्टो समात्यो। कुकुर फेरि चुइँकियो। ‘भाग्न नदेऊ है !’ कसैले भन्यो। पसलहरूबाट निद्राले राम्ररी नछाडेका अनुहारहरू देखा पर्न थाले। काठ गोदामनिर चाँडै नै भीड जम्मा भयो, मानौं ती सबै माटो खोस्रेर पृथ्वीबाट एक्कासि निस्केका हुन्।
‘साप, यहाँ केही उधुम भएजस्तो छ’, प्रहरी जवानले भन्यो।
अचुमेलोभ बायाँतिर फर्कियो र भीड भएतर्फ लाग्यो। देख्छ, इस्टकोटको टाँक खुला गरेको अघिकै मान्छे काठ गोदामनिर उभिएर दायाँ हात उठाउँदै भीडलाई रगत बगिरहेको औंला देखाउँदैछ। रक्सीले अर्धमात लागेको उसको अनुहारले भनिरहेझैं लाग्थ्यो, ‘बदमास, त्यसै तँलाई कहाँ छाड्छु !’ अँ, उसको घाइते औंलाचाहिँ विजयको झन्डा फहराएझैं देखिन्थ्यो। अचुमेलोभले त्यो मान्छेलाई चिनिहाल्यो। ऊ सुनार ह्रिउकिन थियो। यो दंगाको मुख्य दोषी, लाम्चो थुतुनोवाला र पिठ्यूँमा पहेँलो पाटा भएको सेतो फुच्चे छाउरो भीडको बीचमा अघिल्ला खुट्टा फालेर थुरथुर काम्दै बसेको थियो। त्यसका अ श्रुपुरित आँखामा दुःख र भय प्रस्टै झल्किन्थ्यो।
‘के हुँदैछ यहाँ हँ ? ’ भीडलाई धकेल्दै अचुमेलोभले सोध्यो, ‘औंला उचालेर तँ जात्रा गर्दैैछस् ? हल्ला गर्ने को हो ? ’
‘साप, म आफ्नै सुरमा चुपचाप हिँडिरहेको थिएँ’, हातले मुख छोपेर खोक्दै ह्रिउकिनले भन्यो, ‘मित्री मित्रिचसँग दाउरा किन्नेबारे कुरा गर्दै थिएँ, त्यत्तिकैमा यो बदमासले मेरो औंला ङ्याक्क पारिदियो। माफ गरिबक्सेला साप, म त काम गरेर खानुपर्ने मान्छे, कम्ता गाह्रो छैन मेरो काम, मैले क्षतिपूर्ति त पाउनैपर्छ, किनभने यसकै कारण अब कम्तीमा एक हप्तासम्म म काम गर्न सक्दिनँ होला। त्यहाँमाथि कानुनले पनि यस्ता जन्तुले टोक्दा सहेर बस्नुपर्छ भनेर कतै भनेको छैन साप। यसरी कुकुरहरूले सबैलाई टोक्न थाले भने त बाँच्नुकै अर्थ नहुने भो साप !’
‘अँ, ठीक कुर,’ अचुमेलोभले खोक्दे आँखीभौं उचालेर कडा स्वरमा भन्यो, ‘ठीक कुरा गरिस् ! कसको कुकुर हो यो ? म त्यसै छाड्दिनँ। कुकुर जथाभावी छाड्नेलाई त म पाठ पढाएरै छाड्छु नि ! नियम मान्दैनन् भने तिनलाई अब ठीक पारिन्छ। हर्जाना तिर्नुपरेपछि कुकुर र गाईबस्तु छाडा छाड्ने यी बदमासहरूले थाहा पाउँछन्। यिनलाई म तह लाउँछु। येल्दिरिन !’ हाकिमले हकार्दै भन्यो, ‘कसको कुकुर हो यो पत्ता लगाइहाल् बाबु ! एउटा रिपोर्ट पनि तयार पार्नू। कुकुरलाई चाहिँ सुइँक्याइहाल्नू। तुरुन्तै। पक्कै बहुलाएको हुनुपर्छ। सुनेनौ तिमीहरूले, कसको कुकुर हो यो ? ’
‘जर्नेल जिगालोभको कुकुर हो क्या र !’ भीडबाट कसैले भन्यो।
‘जर्साप जिगालोभको रे ? ....खोइ, मेरो कोट खोल्दे त येल्दिरिन, कस्तो गर्मी हो ! पानी पर्छ होला। एउटा कुरा मैले बुझ्न सकिनँ’, ह्रिउकिनतिर फर्कंदै हाकिमले भन्यो, ‘यल्ले कसरी तँलाई टोक्न सक्यो हँ ? कुकुर यति सानो छ, तँ यति अग्लो छस्। तेरो औंला त यल्ले भेट्न सक्दैन। तैंले आफ्नै नङले घाउ पारिस् होला, अनि तँलाई एक्कासि हर्जाना तिराउन पाइने जुक्ति फुर्यो होला। सबैलाई थाहा छ तेरो बदमासी ! तँ फटाहाको चाला म बुझ्दिनँ भन्ठान्छस् ? ’
‘यो बदमासले जिस्केर कुकुरको मुखमा सल्केको ठुटो चुरोट झोसिदिएको थियो साप ! अनि कुकुरले क्याप्प पार्दिहाल्यो। मान्छे त यो बेवकुफ नै हो नि !’
‘झुटो बोल्छस् ? तैंले त देख्या थिइनस्, अनि बित्थामा किन झुटो बोल्छस् ? हाकिम साप आफैं विद्वान् होइबक्सन्छ। भगवान्ले जस्तै कल्ले झुटो बोल्या, कल्ले साँचो बोल्या भन्ने छुट्ट्याउन सकिबक्सन्छ। मैले झुटो बोल्या भए अदालतले निर्णय गर्ला। आजभोलि त कानुनको नजरमा सब बराबर छन्। मेरो आफ्नै भाइ पनि पुलिस छ, भनौं भने...।’
‘बढ्ता नबोल् !’
‘यो जर्सापको कुकुर त होइन,’ प्रहरी जवानले विश्वस्त भएर भन्यो, ‘जर्सापका यस्तो कुकुर छैन। उहाँकहाँ त सब खतरनाक सिकारी कुकुर मात्र छन्।’
‘तँलाई पक्का थाहा छ ? ’
‘छ साप !’
‘हो त ! मलाई पनि थाहा थियो। जर्सापकहाँ त एक से एक मूल्यवान्, उच्च जातका कुकुर पो छन् त ! तातो न छारोको यस्तो झ्याउरे कुकुर पनि कसैले पाल्छ ! मास्को वा पिटसबर्गमा यस्तो कुकुर बाहिरफेर भेटिए के गर्छन् थाहा छ ? कानुनसानुनको टन्टा कसैले गरिरहँदैन, काम तमाम गरिदिन्छन्। हेर् ह्रिउकिन, तँ घाइते मान्छे, यो कुरा त्यसै नछाड् ! यिनेलाई स्वाद चखाउनैपर्छ। अब पुरानो जमाना छैन।’
‘जर्सापकै हो जस्तो पनि छ,’ अलि घोरिँदै ठूलो स्वरमा प्रहरी जवानले भन्यो, ‘यसको अनुहारमा त केही लेखिएको छैन, हिजो उहाँको आँगनमा मैले यस्तै कुकुर देखेको थिएँ।’
‘पक्का जर्सापकै हो’, भीडबाट कसैले भन्यो।
‘अ ह ह, खोइ, मलाई कोट लगाइँदे त येल्दिरिन ! के सारो हावा चलेको ! रुघा लागेजस्तो छ। तँ यो कुकुर लिएर जर्सापकहाँ जानू र बुझ्नू। मैले सडकमा भेटेर पठाएको भन्नू। बाहिरफेर नछाड्नू भन्नू। कति महँगो कुकुर हुँदो हो, सारा सुँगुरहरूले यसरी यसको मुखमा सल्केको चुरोट झोस्न थाले भने विचरा यो त खत्तम हुन्छ ! कुकुर संवेदनशील जनावर हो। ओई बज्रस्वाँठ, तेरो कुहिएको हात तल राख्। तेरो वाइहात औंला उचालिराख्नुको कुनै अर्थ छैन, बुझिस् ? छुद्र्याइँ तेरै हो !’
‘लौ, जर्सापको भान्छे यतै आउँदैछन्, सोधी हेरौं। ए प्रोहोर, यता आऊ मेरो बाबु। हेर त यो कुकुर तिमीहरूको हो ? ’
‘होइन त ! हामीकहाँ यस्तो कुकुर कहिल्यै पालेको छैन।’
‘बेकार सोधपुछ गरेर किन अमूल्य समय नष्ट गर्ने ? ’, अचुमेलोभले भन्यो, ‘भुस्याहा कुकुर हो। यस्ता कुकुरबारे गफ गरेर समय किन खेर फाल्ने ? भनिसक्यो त प्रोहोरले, भुस्याहा कुकुर हो। चट पार्दिने हो, खेलै खत्तम।’
‘यो हाम्रो कुकुर त होइन,’ प्रोहोरले भन्यो, ‘जर्सापको भाइको कुकुर हो। हिजो मात्रै आउनुभएको। हाम्रा मालिकलाई यस्तो हाउन्ड जातको कुकुरको वास्ता छैन। भाइ मालिकलाई चाहिँ खुबै मन पर्छ।’
‘आमै नि त ! महामहिमका भाइ आइबक्सेछ ? भ्लादिमिर इभानोभिच आइबक्सेको ? ’ अनुहारभरि नक्कली मुस्कानको आभा फैलाउँदै अचुमेलोभले भन्यो, ‘अहो, मलाई... मलाई त थाहै भएन त ! डुल्न आइबक्सेको हो कि ? ’
‘हो।’
‘अहो, मलाई त थाहै भएन...विचरा दाजुसँग छुट्टेर बस्नै सकिबक्सिन्न...अनि मलाई चाहिँ थाहै भएन ! ए, त्यसो भए यो उहाँको कुकुर ? साह्रै खुसी लाग्यो....लैजाऊ बाबु, लैजाऊ। कुकुर खराब होइन, गज्जबको रहेछ। यसको औंला चाहिँ क्याप्पै पार्देछ। हा..हा.. हा.., आइज, च्व ..च्व...च्व.. त्यसै किन काम्छस् बच्चु ? च्व..च्व..च्व..बदमास ! त्यसै रिसाउँछ ! कुकुर दामी छ।’
प्रोहोरले कुकुरलाई बोलायो। अनि काठ गोदामको बाटो हुँदै गयो। मानिसहरू ह्रिउकिनलाई हाँसोमा उडाउन थाले।
‘पख्लास्, म तेरो धतुरो झार्छुृ,’ अचुमेलोभले उसलाई धम्क्यायो। अनि ओभरकोटमा ठाँटिएर चोक छिचोल्दै बाटो लाग्यो।
अंग्रेजीबाट अनुवाद : अभय श्रेष्ठ