फ्रम नेपाल सर !
हरेक दिन पेसेन्जरलाई आफ्नो राष्ट्रियताको परिचय दिइरहनु दिक्कलाग्दो हुन्छ। तर, गर्ने के ? कि लिफ्ट चलाउन छोड्नु पर्यो कि नेपाल फर्किन पर्यो।
प्रायः यस्तै हुन्छ। मेरो अनुहार हेर्दै पेसेन्जर सोधिहाल्छन्,
‘आर यु इन्डियन ? ’
म भित्रैदेखि चिमोटिएर भन्छु, ‘नो।’
ती क्षमा माग्दै भन्छन्, ‘सरी।’
म भन्छु, ‘नो प्रोब्लेम।’
कोही सीधै सोध्छन्, ‘ह्वेर यु फ्रम ? ’
यस्तो सोधाइमा हेपाइ मिसिएको हुन्छ। तिनलाई यो अमेरिकन हैन भन्ने लाग्छ। त्यसकारण ती योसँग त्यस्तै उस्तै व्यवहार गरे हुन्छ भन्ने ठान्छन्। र, त्यस्तै प्रकट हुन्छन्। म ग्लानि र निराशाले भरिन थाल्छु। तथापि भन्छु,
‘फ्रम नेपाल सर।’
ती नेपाल बुझेझैं भन्छन्, ‘ओ ! नेपाल नाइस।’
मेरो राष्ट्रियता थाहा पाइसकेपछि कतिपय चुप लाग्छन्। कतिपय समय कटाउने सुरमा नेपाल बारेका कुरा खोतल्न थाल्छन्। कतिपय कारभित्र सिटमा बसेपछि औपचारिक ‘थ्यांक्यु’ भनेर मौन हुन्छन्।
कतिपयलाई ‘ह्वेर यु फर्म ? ’ जस्तो फाल्तु प्रश्न सोध्ने फुर्सद हुँदैन। यस्ता पेसेन्जरको हातमा किताब वा अखबार हुन्छ। गन्तव्यसम्मको समय ती तिनै पृष्ठहरूमा घोरिएर बिताउँछन्। कतिपय आफ्नो स्मार्ट फोनमा घोप्ट्याघोप्ट्यै हुन्छन्। त्यस्ता कतिपयलाई त मैले ‘तपाईंको ओर्लने ठाउँ आइपुग्यो सर’ भनेर सम्झाउनु पर्छ। ती हतारिएर ‘थ्यांक्यु’ भन्दै ओर्लन्छन्।
म राइड सेरिङ (हेलिङ) डिजिटल कम्पनी लिफ्टसँग जोडिएको छु। हरेक दिन बिहान ७ बजे म आफ्नो कार सडकमा निकाल्छु। बिहान ७ देखि १० बजेसम्मको समय सब सडकहरू अति व्यस्त देखिन्छन्।
यो समय क्षणक्षणमा पेसेन्जर पाइने समय हो। त्यसकारण यो बेला उबर, लिफ्टजस्ता राइड सेरिङ कम्पनीसँग आबद्ध कारहरू सयौंको संख्यामा सडकमा पेसेन्जर बोकेर कुदिरहेका हुन्छन्। तिनको एपमा कार खोजिरहेका पेसेन्जरहरूको ट्रिप रिक्वेस्ट लगातार पिल्पिलाइरहेको हुन्छ। त्यस्ता ट्रिप रिक्वेस्ट एसेप्ट गरेरै भ्याइन्न। एकपछि अर्को पेसेन्जर बोकेर कार कुदाकुद गर्नु पर्छ। ट्रिप रिक्वेस्ट स्विकार्दै पेसेन्जर टिप्नु भनेको डलर टिप्नु हो।
यसको लागि म बिहान ५ बजे नै उठ्छु। उठ्नेबित्तिकै म टीभी खोल्छु। त्यसमा सीएनन, एनबीसी, एबीसी, सीबीएस, फक्सजस्ता च्यानलहरू चहार्छु। यी कर्पोरेट च्यानलहरू कुनै डेमोक्र्याटिक पार्टी पक्षधर छन्, कुनै रिपब्लिकनका अन्ध समर्थक। त्यसकारण म ट्रम्प विरोधी र ट्रम्प समर्थक ती सबै हास्यास्पद च्यानलमा पालैपालो आँखा लगाउँछु। तिनमा ब्रेकिङ न्युज प्रसारित भइरहेको रहेछ भने तीमध्ये ठीक लागेको कुनै च्यानलमा प्रसारित भइरहेको त्यस्ता समाचार घुर्न थाल्छु। हैनभने तिनले प्रसारित गर्ने वेदर फोर कास्ट हेरेर टीभी बन्द गर्छु। र, बाथरुमभित्र पस्छु।
वासबेसिनको ठीक सामुन्ने भित्तामा झुन्ड्याइएको ऐना अगाडि उभिन्छु। त्यसपछि कमोडमा बस्छु। कमोडको देब्रेपट्टि सानो र्याक छ, त्यसमा ताजा म्यागजिनहरू हमेसा राखिएका हुन्छन्। विशेषगरी न्युयोर्कर, फच्र्युन, हापर, मिन्स हेल्थ, पिपुल्स, ओमन्स हेल्थ आदि। तीमध्ये म प्रायः न्युयोर्कर झिक्छु। त्यसमा प्रकाशित कार्टुनहरू हेर्न थाल्छु, तिनले मेरो ओठमा मुस्कान ल्याउँछन्। कुनै मजाले हसाउँछन्, हाँस्न थालेपछि मेरो पेट सफा हुन थाल्छ। कार्टुनहरूको दृष्टिपछि म त्यसका व्यंग्य स्तम्भहरू पढ्छु। तिनले पनि मलाई खुब हसाउँछन्।
कमोडबाट उठेपछि फेरि म वासबेसिनको ऐनामा घोत्लिँदै हात धुन्छु। आँखामा पानी छर्कन्छु, दाँत माझ्न थाल्छु। यो काम एक मिनेटभित्र गरिसक्छु। अनि दाह्री खौरिसकेपछिको पालो नुहाउने हुन्छ। तातो चिसो पानीको रफ्तार मिलाएर सावर खोल्छु। नुहाइसकेर निस्कँदा सवा ६ बजिसकेको हुन्छ। इलेक्ट्रिक स्टोभमा चिया पकाउने गरेको नन्स्टिक भाँडो बसाल्छु। कपमा दूध र पानीको मात्रा मिलाएर त्यसमा खन्याउँछु। लुगा फेर्दासम्म चिया तयार हुन्छ।
चियाको सुर्कोसँगै १० मिनेट कुनै न्युज च्यानल हेर्न थाल्छु। चियाको कप रित्तिएपछि खुट्टामा जुत्ता हुलेर आफ्नु कार बिसाएको पार्किङ लटमा आइपुग्दा लगभग ७ बज्न लागेको हुन्छ। म हतारहतार लिफ्टको एप लग अन गर्दै कार मेनरोडमा ओराल्छु। एपमा पेसेन्जरका ट्रिप रिक्वेस्ट पिलपिल गरिरहेको हुन्छ। एसेप्ट गर्छु। र, तिनलाई टिप्न जिपियसको निर्देशन हेर्दै तिनको ठाउँमा पुग्छु।
विगत तीन वर्षदेखि म यो लिफ्ट चलाउने काममा गरिरहेको छु। तर, मसँग कुनै न कुनै पेसेन्जरले ‘ह्वेर यु फ्रम ? ’ न सोधेको दिन हुँदैन। हरेक दिन पेसेन्जरलाई आफ्नो राष्ट्रियताको परिचय दिइरहनु दिक्कलाग्दो हुन्छ। तर, गर्ने के ? कि लिफ्ट चलाउन छोड्नु पर्यो कि नेपाल फर्किन पर्यो। हैन भने ‘ह्वेर यु फ्रम ? ’ को सामना गर्नु पर्यो।
तर आज अलि बेग्लै किसिमको अनुभव भयो।
एक वृद्ध पेसेन्जर पछाडि सिटमा थियो। म उसको गन्तव्यतिर कार कुदाइरहेको थिएँ। ऊ मौन थियो। ५, ६ मिनेटको मौनतापछि उसले एकाएक मुख खोलेको थियो र मलाई भनेको थियो,
‘आज पहिलो पटक तपाईं नै हो भेटेको जसले मसँग तपाईं इन्डियन हैन भनेर नसोधेको, उबर र लिफ्टका धेरै ड्राइभरहरूले मेरो अनुहारको भेउ लिएर हेप्न खोज्दै आर यु इन्डियन भनेर मसँग सोधी हाल्छन्।’
‘हो र ? ’
‘यस, आई हेट ड्याट काइन्ड अफ पिपुल्स, तर तपाईंले त्यसो गर्नु भएन, म खुसी छ।’
म पनि हल्का खुसी भएँ।
मैले उसलाई अपराह्न सवा ३ बजे बेलमोन्ट सहरबाट टिपेको थिएँ। त्यहाँको ब्राइटन एभको नम्बर ४१ को घर अगाडि ऊ मेरो कार कुरिरहेको थियो।
म कार रुट टु हाइवेको वेस्ट कुदारहेको थिएँ।
‘यहाँ विकास त छ तर मनको एकान्तिक आनन्द छैन, संरक्षित वन, जंगल र बोटबिरुवाहरूको प्राकृतिक हरियाली छ, तालतलैयाहरू छन् तर किन हो तिनमा हाम्रोमा जस्तो जीवन्तता देख्दिनँ।’ ऊ मैले सुने नि नसुने नि बोली नै रहेको थियो। बूढा पेसेन्जरहरूको ताल यस्तै हो, कि बोल्दै बोल्दैनन्, कि बोल्याबोल्यै गरिरहन्छन्।
ऊ भन्दै थियो, ‘खासमा मलाई अमेरिका आइरहन मन लाग्दैन, तर के गर्नु ? छोरो यतै स्टाबिल्स भयो, अझ मैले नलेभन्दा भन्दै नागरिकता पनि लियो, यसकारण पनि म आइरहन बाध्य छु।’
‘के गर्नुहुन्छ तपाईंको छोरा ? ’
‘डाक्टर हो। ब्रिघम एन्ड ओमन्स हस्पिटलमा काम गर्छ।’
‘ए।’
‘दिल्ली पब्लिक हाइस्कुलको टप विद्यार्थी थियो ऊ, यहाँ हार्डभर्ड युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्समा पनि टप गर्यो।’
अमेरिकी पेसेन्जर यस्ता व्यक्तिगत कुराहरू सुनाउँदैनन्। यो हामी साउथ एसियनहरूको मात्र रोग हो। आपसमा राम्रो परिचय भइसकेको हुँदैन, ती तीन पुस्तासम्मको बखान गर्दै आफ्ना घर, सम्पत्ति, छोराछोरीहरूको धाकधक्कु लगाउन सुरु गरिहाल्छन्। त्यो बूढो पनि त्यस्तै बखाने प्रकट भएको थियो। र, भन्दै थियो,
‘म जवाहरलाल नेहरू विश्वविद्यालयमा फिजिक्स पढाउथेँ।’
‘ओ !’
‘प्रोफेसर थिएँ, आठ वर्ष पहिले रिटायर्ड भएँ।’
‘अहिले तपाईंको उमेर कत्ति भयो ? ’
‘सेभेन्टी एट।’
‘बट यु डन्ट लुक्स ड्याट ओल्ड।’
बूढाहरूलाई यस्तो प्रशंसा मन पर्छ। मैले त्यसो भनेपछि ऊ खुसी भयो।
आफू छिट्टै मर्नेवाला छैन भन्ने भाव मिसाएर त्यसपछि उसले भनेको थियो,
‘प्राणायाम गर्छु, मर्निंङ वाक गर्छु, अग्र्यानिक उत्पादनका खाना मात्र खान्छु।’
‘गुड फर यु सर।’
‘यस, थ्यांक्यु म्यान।’
‘अनि कपालभाती पनि गर्नुहुन्छ कि ? ’
‘नो, आइ हेट रामदेव काइन्ड अफ थिंग्स।’
‘गट यु।’
‘म अब एक हप्तापछि इन्डिया जान्छु, दिल्लीको खास ठाउँ हौजखास क्षेत्रमा छ मेरो घर।’
उसको घर हौजखासमा होस् वा रूखको टुप्पामा मलाई के मतलव। तर ऊ भन्दै थियो, ‘मपछि त्यस घरमा बस्ने कोही हुने छैन।’
‘किन सर ? ’
‘मेरा जम्मा दुई सन्तान छन्, एउटा छोरो, एउटी छोरी, दुवै यैं छन्, अघि जुन घर अगाडि तपाईंले मलाई पिकअप गर्नु भएको थियो, त्यो मेरो छोरीको घर हो, मलाई तपाईंले जहाँ लगेर ओराल्नु हुन्छ त्यो मेरो छोरोको घर हो।’
‘ए ! अनि छोरी पनि डाक्टर हो ? ’
मैले यत्ति के सोधेको थिएँ, ज्वाईंसम्म पुगेर उसले भन्यो, ‘हो छोरी, ज्वाईं दुवै डाक्टर हुन्।’
मैले कंकर्ड सहर पस्ने एक्जिट लिइसकेको थिएँ। यो एक्जिट लिनेबित्तिकै उसले सोधेको थियो, ‘हेनरी डेभिड थरोको नाम सुन्या छ ? ’
‘छैन सर।’
‘अनि राल्फ वाल्डो इमर्सन नि ? ’
‘छैन सर।’
‘यी दुवै यै कंकर्ड सहरमा जन्मिएका हुन्, दुवै अमेरिकाको ठूलो बौद्धिक, दार्शनिक कवि, साहित्यकार हुन् र कतिपय दार्शनिक विचारका पायोनियर पनि। महात्मा गान्धीको सत्याग्रह थरोको विश्वप्रसिद्ध निबन्ध सिभिल डिसओबिडेन्सबाट प्रभावित छ, थाहा छ ? ’
बूढो मलाई उसको छोरोको घर यस्तो महत्वपूर्ण ठाउँमा छ भन्ने जनाउन हेनरी डेभिड थरो र राल्फ वाल्डो इमर्सनबारे यस्तो भन्दै थियो। त्यसकारण ऊ इमर्सन र थरोबारे बढी नै बोलिरहेको थियो। म चुपचाप थिएँ।
कंकर्ड सहरमा पसेको ५, ६ मिनेटपछि लेक्सिंगटन स्ट्रिटको घर नम्बर ८८ अगाडि पुगेर मैले कार रोकेँ। एपको न्याभिगेसनले उसलाई ल्याई पुर्याउने ठेगाना यै देखाएको थियो। ‘हेर कम्स योर प्लेस सर,’ मैले लिफ्टको एपमा ट्रिप इन्ड गर्दै उसलाई भनेको थिएँ। र, फुर्तिसाथ कारबाट ओर्लिएर उसको लागि पछाडिको दाहिने ढोका खोलेदिएको थिएँ। ऊ विस्तारै ओर्लिएको थियो। र, मेरो अनुहार हेर्दै डोमिनेटिङ टोनमा सोधेको थियो, ‘ह्वेर यु फ्रम ? ’
यो सुन्नासाथ मेरो कञ्चट झनन गरेको थियो। म एकदम रन्थनिएको थिएँ। यै मुडले सिटमा फर्किएर कारको गति चर्काउँदै मैले आफ्नु कारको दाहिने साइड मिररतिर च्याएको थिएँ। मेरो कारतिर हेर्दै बूढो साइडवाकमै उभिइरहेको देखियो। मलाई चर्को खल्लो लाग्यो। म हाफ ब्लकभन्दा अगाडि पुगिसकेको थिएँ। तथापि थ्री प्वाइन्ट टर्न लिएर मैले फेरि कार बूढो उभिएको तिर कुदाएँ। ऊ नजिक पुगेर झ्यालको सिसा खोल्दै उसले सुन्ने गरी चिच्याएँ, ‘फ्रम नेपाल सर।’