शाक्तमतको पर्व

शाक्तमतको पर्व

देवी भगवती असोजमा बोधन अथवा ब्यूँझने, पुसमा भोजन गर्ने, चैतमा शयन गर्ने र असारमा कोल्टे फेर्ने यी चार अवसर मानिएको छ।


दसैं पर्व सनातन वैदिक धर्मअन्तर्गत शाक्तमतको पर्व हो। जुन मतले शक्ति अथवा देवी भगवतीलाई सर्वोपरि मान्छ, त्यस मतलाई शाक्तमत भनिन्छ। अथर्ववेदको देव्यथर्वशीर्षमा देवी भगवतीको महिमा व्याख्या गरिएको छ। चराचर जगत्का जननी एवं मालिक्नी भएकाले त्यस सर्वोपरि शक्तिलाई देवी र षड्ऐश्वर्यद्वारा युक्त हुनाले भगवती भनेको हो।

यसैगरी दुर्गा अथवा संकटलाई शान्त गर्ने हुनाले देवी भगवती दुर्गा नामद्वारा कहलिएकी हुन्। भवरूप शिवको शक्ति हुनाले दुर्गालाई भवानी भनिन्छ। भक्तहरूको संकटलाई नास गरेर भवबन्धनबाट मुक्त गराउने शक्ति हुनाले देवी भगवती दुर्गा भवानीको नामबाट प्रख्यात छिन्।

शक्तिपूजाको लागि विशेषगरी चारओटा अवसरहरू मुख्य छन्, जस्तैः वसन्त ऋतुमा चैत्रशुक्ल प्रतिपदादेखि चैत्रशुक्ल दशमीसम्म मनाइने दसैंलाई वासन्तिक, गृष्मऋतुमा आषाढशुक्ल प्रतिपदादेखि आषाढशुक्ल दशमीसम्म मनाइने दसैंलाई गृष्मीय, शरदऋतुमा आश्विन शुक्लप्रतिपदादेखि आश्विन शुक्लदशमीसम्म मनाइने दसैंलाई शारदीय र हेमन्तऋतुमा पौषशुक्ल प्रतिपदादेखि पौषशुक्ल दशमीसम्म मनाइने दसैंलाई हैमन्तिक भनिन्छ।

यी पर्व शक्ति उपासनाको लागि अति उपयुक्त छ। देवी भगवती असोजमा बोधन अथवा ब्यूँझने, पुसमा भोजन गर्ने, चैतमा शयन गर्ने र असारमा कोल्टे फेर्ने यी चार अवसर मानिएको छ। आजकल यी चारओटा अवसरहरूमध्ये गृष्मऋतु र हेमन्तऋतुमा मनाइने दसैंको सम्बन्ध साधारण जनजीवनसँग रहेको पाइँदैन। वसन्तऋतुमा मनाइने दसैंलाई चैतेदशैंको रूपमा एक दिन मनाइन्छ। शरदऋतुमा मनाइने दसैंलाई भने शारदीय दुर्गापूजा अथवा बडादसैंको रूपमा विधिपूर्वक मनाइँदैछ।

दसैंको अवसरमा घर घरमा र देवीका मन्दिर तथा शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ। यस अवसरमा प्राचीन दरबार, कोट तथा मौलोहरूमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हुन्छ। मौलिबाट मौलो शब्द बनेको हो, जसको अर्थ सर्वोच्च, शिखर, मुकुट, प्रमुख आदि हुन्छ। पशुको भोग खाने देवी देवताको मन्दिरमा पनि मौलो गाडिएको हुन्छ।

मौलो खासगरी बलिकै लागि गाडिएको खाँबो हो, तापनि राजदरबार र कोटको मौलोले सामरिक एवं प्रशासनिक महत्व राख्छ। यहाँका मौलोहरूलाई राज्य एवं शासनसत्ताको प्रतीक मानिन्छ। पहिले कुनै राज्य वा त्यसको कुनै क्षेत्रमा विजय गर्न सकियो भने विजयको प्रतीकस्वरूप त्यहाँ मौलो गाडेर आफ्नो हक भोग कायम गरिन्थ्यो।

पहिले नेपालको स्थानीय प्रशासनमा मौलोको महत्वपूर्ण स्थान रहेको हुन्थ्यो। त्यस इलाकाभित्रका रैती दुनियाँले मौलोलाई मान्नु पर्दथ्यो। मौलोको जिम्मावाल मुखिया त्यहाँ राजप्रतिनिधिका रूपमा रहन्थे। आफ्नो मोहोडाको लडाइँ भिडाइँ र सन्धि सुलहको काममा अघि सर्ने, आफ्नो इलाकाभित्रको मुद्दा मामिला छिन्ने, सरकारी नीति नियमहरू लागू गराउने र शान्तिसुरक्षा कायम राख्ने काम उमरा र जिम्मावालले गर्थे।

कोट नभएको ठाउँमा जिम्मावालकै आँगनमा मौलो गाडिएको हुन्थ्यो। विशेषगरी दसैंको अवसरमा मौलोको पूजा गरिन्थ्यो। अतः दसैंको अवसरमा धर्माधिकारी श्री ६ बडागुरुज्यूको समुपस्थितिमा मूल पुरोहितले संकल्प वाक्य भन्ने र राज्याधिकारी गद्दिनसीन श्री ५ महाराजाधिराजले पानी समाएर राज्यको मौलो पूजा गर्ने परम्परा थियो।

अहिले पनि अघि मौलो गाडिएका कोटहरूमा मौलोको पूजा गरिन्छ। शत्रुक्षय र राज्यवृद्घिको लागि दुर्गा भवानीको पूजा गरेर मौलोमा विभिन्न पशुपंक्षीहरू बलि दिने परम्परा छ। मौलोको पूजाको लागि जग्गा गुठी पनि राखिएको हुन्थ्यो, जसलाई मामलित जग्गा भनिन्थ्यो।

दसैंको अवसरमा कोट भएका ठाउँमा उमरा र कोट नभएका ठाउँमा जिम्मावालले मौलोलाई राज्यको प्रतीक मानेर दही अक्षता मुछेको टीका र जमरा लगाई दिन्थ्यो र मौलोसँग आफ्नो निधार जोडेर आफूले टीका लगाउँथ्यो। त्यसपछि रैती दुनियाँलाई उनले आफ्नो हातबाट दसैंको टीका लगाइदिन्थ्यो। नेपालका सैनिक ब्यारेक र विदेशका गोर्खा पल्टनहरूमा अहिलेसम्म पनि यो चलन कायमै छ।

शाक्तमतमा नेपाललाई शक्तिपीठ मानिएको छ। त्रिकोण स्थापना गरेर त्यसमा विभिन्न शक्तिपीठहरूको पूजा गर्ने परम्परा छ, जसअनुसार त्रिकोणको केन्द्र बिन्दुमा वाराणसीपीठ, त्रिकोणको अग्रकोणमा कामरूप कामाख्यपीठ, दाहिने कोणमा नेपालपीठ र बायाँ कोणमा पौण्ड्रवद्र्घन पीठको पूजा गर्ने विधान छ।

कामरूप कामाख्यपीठ र गुह्येश्वरीपीठ यी दुवै योनीपीठ हुन्। अतः यी दुई पीठको विशेष महत्व रहेको छ। गुह्येश्वरीपीठकै कारणले नेपाल देशलाई नै एउटा शक्तिपीठ मानिएको हो। त्यसकारण सबैले नेपालपीठको महत्वलाई बुझेर यसमा गौरव गर्नुपर्छ।

दुर्गापूजा अथवा दसैंलाई युद्धको लागि प्रस्थान गर्न शुभ साइतको द्योतक मानिएको छ। अतः विशेषगरी शस्त्र अस्त्रको प्रयोग र राज्यशक्ति प्रवद्र्घनसँग दसैंको सोझो सम्बन्ध रहेको छ। अहिलेसम्म पनि विश्वबाट युद्धको डर त्रास हटिसकेको छैन। युद्धको प्रयोजनको लागि नयाँ हातहतियारहरू उत्पादन भइरहेका छन्। यसैगरी युद्धको लागि नयाँनयाँ प्रविधिहरूको विकास भइरहेको छ। तिनको प्रयोग र उपयोगको लागि तालिमहरू दिइँदैछ, लिइँदैछ।

पहिले नेपालमा कम्पु पल्टन जमिनसकेकाले स्थायी सेना थिएन। युद्धको बेला उमराहरूले आआफ्ना इलाकाबाट खुँडा हान्ने जातका जोधा (योद्धा) हरू जुटाउनु पर्थ्यो। थुमथुमका उमराहरूको तैनाथमा सेना बटुलेर खुँडा, खुकुरी, ढाल, तरबार, धनुषकाँड, र भाला बर्छाकै भरमा लडाइँ गरिन्थ्यो। मोहोडा मोहोडाको युद्धमा आक्रमण, सुरक्षा र राशनपानीको जिम्मा पनि त्यही मोहोडाको उमरा, द्वारे र जिम्मावालहरूलाई दिइन्थ्यो। यसैगरी आजकल जसरी सेनालाई ब्यारेकमा राखेर वस्ताज र अफिसरहरूले तालिम दिने व्यवस्था पनि थिएन।

पृथ्वीनारायण शाहले मुसलमान र अंग्रेजसँगको लडाइँमा उनीहरूको हातहतियार खोसेपछि उनले गोरखनाथको नाउँबाट श्रीनाथ र गोरखकालीको नाउँबाट कालीबक्स दुई कम्पनी जमाएका थिए। त्यसबेला सेनामा पनि जुनसुकै जातको मानिसलाई राखिँदैनथ्यो। खुँडा हान्ने जातका मानिसलाई मात्र लडाइँमा लड्न लगाइन्थ्यो। त्यसबेला ज•ी अथवा सैनिक शासन चल्ने हुँदा खुँडा हान्ने जातका मानिसले नै राजाको तजबीजअनुसार कोटको उमरा, गढी, गौंडाको द्वारे, गाउँका जिम्मावाल मुखिया र तालुकदार भएर देशको राज्यशक्ति परिचालन गर्थे। तर वर्तमान परिस्थितिमा यो अवस्था र बाध्यता छैन। सबै नेपाली समान छन्। अतः सबै नेपालीले राज्यबाट समान अवसर पाउनुपर्छ।

त्यस अवस्थामा खुँडा हान्ने जातका मानिसका लागि उसको आफ्नै घर ब्यारेकजस्तो र आफ्ना दाजु, बाबुहरू नै वस्ताज र अफिसरजस्ता हुन्थे। उनीहरूको आफ्नो कुल घरान र परम्पराअनुसार आफ्नै घरमा राजा, महाराजा र आफ्ना पिता पुर्खाहरूको गौरवगाथा सुन्न पाउँथे। शत्रु राज्यको गतिविधि जान्न बुझ्न पाउँथे र आफूभन्दा ठूलाबडाको देखासिकीबाट नै युद्ध कौशल र त्यससम्बन्धी योग्यता प्राप्त गर्दथे। उनीहरूलाई उमेरअनुसारको हतियार चलाउन र त्यही माफिकको पशुबध गर्न दिइन्थ्यो।

सानो उमेरकाले आँसी, त्यसभन्दा अलि ठूलाले खुर्पा, खुकुरी र उमेर पुगेकाहरूले चाहिँ खुँडा हान्थे। आँसी खेलाउनेले परेवा र कुखुराका स–साना भाले पोथी काट्थे भने खुर्पा खेलाउनेले कुखुराको ठूलो भाले र पाठाको मार हान्थे। खुकुरी खेलाउनेले बोका र स–साना राँगाहरू छिनाल्थे। उमेर पुगिसकेका खुँडा हान्न सक्ने लक्का जवानहरूले ठूल्ठूला सतार राँगाको मार हान्थे।

पहिले वर्षायाममा लडाइँ गरिँदैनथ्यो। खोलो पहिरोले गर्दा बाटोघाटोको सुविधा हुँदैनथ्यो। त्यसैले सबै खेतीपातीमा लाग्थे। खेतीपाती लगाएर गोडमेल गरिदिएपछि आइमाई केटाकेटीहरूले पनि बाली भित्र्याएर खान सक्थे। त्यसकारण असोज लागेर खोलानाला घटेपछि चारैतिर युद्धको उद्योग चल्थ्यो। वारि डाँडा पारि डाँडा दुवै तर्फकाले आ–आफ्ना हतियार उध्याउन थाल्थे।

बर्खाभरि थन्क्याएर राखेका खुँडा, खुकुरी र तरबारमा साँद लगाएर ठीक दुरुस्त पारी खुँडामा दुर्गा भवानीको शक्ति जगाउन जमरा राखेर दुर्गापूजा गरी खाँडो जगाएर दसैं मान्थे। माल श्रीको राग र नगरा, कर्णालको तालले योद्धाहरूको जोस र जाँगरलाई बढाउँथ्यो। त्यसकारण दसैैंको अवसरमा योद्धाहरू हातमा खुँडा, खुकुरी र ढाल तरबार लिएर नगरा र कर्णालको तालमा सराय खेलेर युद्धको अभ्यास गर्थे। यसरी सराय खेल्ने परम्परा अहिलेसम्म पनि विद्यमान छ। यसैगरी विजयादशमीमा टीकाको दिनमा खड्गयात्रा सम्पन्न गर्ने परम्परा अहिलेसम्म विद्यमान नै छ।

जसरी आजकल वस्ताज र अफिसरहरूले सिपाहीहरूलाई बालुवा भरेको बोरालाई दुश्मन मानेर राइफलको संगीनले घोच्न लगाएर युद्धको तालिम दिन्छन्, त्यसैगरी अघि कोटका उमराहरूले योद्धाहरूलाई निधारमा सिन्दूरको ठाडो टीका लगाइदिई हातमा खुँडा थमाएर कोटको मौलोमा तरिएको बोका र राँगाको मार हान्न लगाउँथे। जसले २२ अंगुल सिङ भएको सतार राँगालाई एकै मारमा छिनाल्न सक्छ, उसलाई पगरी गुथाएर शिरपाउ दिइन्थ्यो र त्यस्तो व्यक्ति पक्का जोधा (योद्धा) ठहरिन्थ्यो।

यसरी दसैंको मौलोमा आफ्नो उमेर र योग्यताअनुसारको पशुको मार हानेर रक्तपातको दृश्य देखेपछि योद्धाहरू शारीरिक एवं मानसिक रूपले युद्धको लागि उपयुक्त हुन्थे। त्यस्तो वातावरणमा भिजिसकेपछि कुनै पनि यौद्धा युद्धबाट विचलित भई हातको खुँडा फ्याकेर युद्धको मैदानबाट पीठ फर्काएर भाग्दैनथे।

त्यसपछि आजकल तालिम सकिएको रिक्रुटलाई कसम खुवाएर राइफलमेन बनाएजस्तै अघि नवमीको दिनमा कोटको मौलोमा मार हान्ने योद्धाहरूलाई विजयादशमीको दिनमा उमराले दहीमा मुछेको रातो अक्षताको टीका र जमरा लगाइदिई आशीर्वाद दिएर युद्धको लागि सतर्क राख्थे। र, बडादसैंको टीकाको दिनमा युद्धको लागि सारिएको साइत वर्षदिन भरलाई शुभ मानिन्थ्यो।

यसरी आजकल दसैंलाई धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा मान्न थालिए पनि समसामयिक अवस्थामा रणकौशलको योग्यता प्राप्त गर्न तालिम दिने र लिने महत्वपूर्ण अवसरको रूपमा दसैं पर्वले अग्रणी भूमिका खेलेको हुन्थ्यो। त्यसकारण आजसम्म पनि आफ्ना वीर पुर्खाहरूले कायम गरेको कोट एवं त्यहाँ गाडिएको मौलो र ती वीर पुर्खाका सन्तानहरूको घरमा दुर्गा पूजा गरी खाँडो जगाएर दसैं मान्दै आइराखेको छ।

वर्तमान अवस्थामा दसैं पर्वले राष्ट्रिय चाडको रूपमा मान्यता पाएको छ। अतः दसैं सबै नेपालीहरूको साझा पर्व हो। बडादसैंको अवसरमा नेपालका विद्यालय र अदालतहरूलार्ई आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म बिदा दिइन्छ। सरकारी कार्यालयहरूलाई फूलपातीदेखि द्वादशीसम्म बिदा दिइन्छ। यसरी सरकारले बडादसैंलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छ।

दसैंमा दहीमा मुछेको चामलको रातो टीका र पहेँलो जमराले विश्वभरि नै नेपालीहरूको पहिचान कायम राखेको छ। यस प्रचलनले नेपालीहरू चाहे जुनसुकै ठाउँमा जस्तोसुकै अवस्थामा रहेता पनि एकताको सूत्रमा आबद्घ गरिराखेको छ।

दसैं पर्वले नेपालीहरूलाई आफ्नो दुःख सुख साट्न र रिसईबी छोडेर एकापसमा आत्मीयता बढाउन उपयुक्त अवसर प्रदान गर्छ। त्यसकारण चाहे नेपालमा रहेका हुन् वा नेपाल बाहिर रहेका हुन्, सबै नेपालीले आफ्नो पहिचान तथा नेपाली बन्धुत्वभावलाई कायम राखेर नेपाल राष्ट्र एवं नेपाली राष्ट्रियताप्रति समर्पण र प्रतिबद्घ हुन अत्यावश्यक छ। दुर्गा भवानीले हामीलाई यही शुभआशीर्वाद दिऊन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.