नयाँ विचारको प्रादुर्भाव

नयाँ विचारको प्रादुर्भाव

कुनै गुरुका कुरा सुन्दा विज्ञापन कलामा डिग्री गरेका एक्सपर्टजस्ता लाग्छन्। कृष्णमूर्ति कसैको गुरु हुन मानेनन्।


१६ देखि २०–२२ वर्षको उमेरसम्म पढेका किताबले मनमा नमेटिने छाप छाड्छन्। मेरो जीवनमा त्यस्तो छाप छोड्ने पुस्तक धेरै छन्। आख्यानमा जेम्स जोयसको ‘पोट्रेट अफ द आर्टिस्ट एज अ यङ मैन’, फ्रेन्ज काफ्काको ‘ट्रायल’, आयन रैन्डको ‘द फाउन्टेनहैड’ तथा गैरआख्यानमा परमहंस योगानन्दको ‘अटोबायोग्राफी अफ अ योगी’ र जिद्दु कृष्णमूर्तिको ‘अवेकनिङ अफ इन्टेलिजेन्स’ यस्तै केही पुस्तक हुन्।

पछि गएर कार्ल माक्र्सको ‘दास क्यापिटल’, एडवार्ड सइदको ‘ओरियन्टालिज्म’ र रैवेलन कोनेलको ‘मैसकुलिनिटिस’ ले पनि मेरो वैचारिक क्षितिजलाई फराकिलो पार्न प्रशस्त भूमिका खेले। तर, यी पछिल्ला पुस्तक भने मैले अलि पछि पढेँ, त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेपछि।

युवावस्थामा पढेका पुस्तकलाई अहिले आएर दोहोर्‍याएर पढ्दा पहिलेको जस्तो मन छुँदैन। जीवनका अनुभवले क्रिटिकल सोचको विकास गरेको हुन्छ। पहिले मन पराएका लेखकका विचारलाई प्रश्न गर्न मन लाग्छ। कतिसित विचार मिल्दैन। तर, जे जस्तो भए पनि काँचो उमेरमा पढेका ती पुस्तकको जीवन पर्यन्त प्रभाव पर्छ। मैले कृष्णमूर्तिको ‘अवेकनिङ अफ इन्टेलिजेन्स’ २० वर्षको हुँदा पढेको थिएँ। अहिले आएर उनका केही विचारसित आफूलाई असहमत पाउँछु। तर, पनि त्यस पुस्तकको प्रभाव अझै छँदैछ।

कृष्णमूर्तिको मुख्य तर्क के छ भने हामी आफ्नै स्मृतिहरूका दास बनेका हुन्छौं। हामी नयाँ वस्तु वा व्यक्तिलाई जस्ताको तस्तै किन देख्न सक्दैनौं भने हाम्रा ‘हेराइ’ पुराना समृतिका रङमा रङिएका हुन्छन्। उदाहरणका लागि मैले भर्खरै गुलाफको फूल देखेँ रे। तर, गुलाफ त मैले जीवनमा सयौंपल्ट देखिसकेको छु। गुलाफको बास्ना पनि सयौंपल्ट सुँघेकै छु।

कृष्णमूर्तिको भनाइ मान्ने हो भने ती पहिले देखेका र सुँघेका गुलाफका सम्झनाले मनमा स्मृतिका तहहरू बनाएका हुन्छन्। त्यसैले अहिले आएर गुलाफको फूल हेर्दा म त्यस फूललाई जस्ताको तस्तै हेर्न सक्दिनँ। किनकि वर्तमानको गुलाफ हेराइ, सुँघाइलाई विगतका गुलाफ हेराइका अनुभूतिले प्रभावित परिरहेका हुन्छन्। वर्तमानको अनुभूति विगतका अनुभूतिमार्फत मात्र घटित हुन सक्छ।

कृष्णमूर्तिको मतअनुसार, नयाँ विचार, वस्तु वा मानिसलाई साक्षात्कार गर्दा ती वस्तु वा मानिसबारे विगतमा संग्रृहीत स्मृतिप्रति हामीले तटस्थ रहन सक्नुपर्छ। यसो गर्न सकेको खण्डमा मात्र हाम्रो हेराइमा नयाँपन आउँछ र नयाँ विचारको प्रार्दुभाव (वा अवेकनिङ) सम्भव हुन्छ। नत्र हाम्रो हेराइ र बुझाइ सधैं पूर्वाग्रही नै हुन्छ। हामी आफ्नै स्मृतिहरूका दास बन्न पुग्छौं।

कृष्णमूर्तिको यस विचारले मलाई निक्कै प्रभावित गर्‍यो। खास गरेर दैनिक जीवनका भेटघाटहरूमा मैले उनका विचारलाई अभ्यासमा ढाल्ने प्रयास गरिरहेँ।

उदाहरणको निम्ति, कुनै व्यक्ति मसित कुनै कुरामा रिसायो रे, वा मलाई हेप्न खोज्यो रे। उक्त घटनाले मेरो मनमा त्यस व्यक्तिप्रति नकारात्मक धारणा वा नेगेटिभ मेमरी सिर्जना गर्छ। उप्रेती केही पूर्वाग्रहहरूसमेत सिर्जना गर्छ।

अब मानौं त्यस व्यक्तिसँग मेरो दुई वर्षपछि फेरि भेट भयो रे। जीवन परिवर्तनशील छ। हाम्रा विचार, भावना, शरीर सबै परिवर्तनशील छन। दुई वर्षमा त्यो व्यक्ति केही न केही परिवर्तित भएको हुन सक्छ। म आफैं पनि परिवर्तित भएको हुन सक्छु। तर, मेरो त्यस व्यक्तिप्रतिको पूर्वाग्रह त्यही हुन सक्छ। दुई वर्षअघि भएको अप्रिय घटनाले त्यस व्यक्तिप्रतिको मेरो वर्तमानको हेराइ र बुझाइलाई प्रभावित पारेकोे हुन सक्छ।

कृष्णमूर्तिको भनाइ मान्ने हो भने हरेक व्यक्ति मौलिक मात्र हुँदैन। मानिसबीचकोे हरेक भेटघाटसमेत मौलिक हुन्छ। त्यसैले उक्त व्यक्तिलाई दुई वर्षपछि भेट्दा मैले खुल्ला हृदय लिएर भेट्नुपर्छ। ऊ बारेका विगतका पूर्वाग्रहबाट आफूलाइ मुक्त गरेर। अनि मात्र ऊ अहिले जस्तो छ, त्यही रूपमा मैले उसलाई र उसले मलाई बुझ्न सक्छौं।

ससाना बालबालिकाको हेराइमा ताजापन हुन्छ। त्यसैले उनीहरू गुलाफको फूललाई हेर्दा वा पहाड वा हिउँलाई हेर्दा अत्यन्त खुसी हुन्छन्। तर, वयस्क हुँदै जाँदा हाम्रो हेराइको ताजापन हराउँदै जान्छ। किनकि त्यतिञ्जेलसम्म हामीले त्यस्ता फूल, पहाड, हिँउ आदि सयौंचोटी हेरिसकेका हुन्छौं।

स्मृतिका तहहरू हामी भित्रभित्रै बाक्लिँदै जान्छन्। हाम्रो हेराइ नयाँ रहँदैन। हाम्रो बुझाइ पुरानै स्मृतिको रङमा लुटपुटिएको हुन्छ। हामी जीवनका नयाँ रङ हेर्न सक्दैनौं। नयाँ अनुभूतिलाई पुरानै रङमा रंग्याएर मात्र हेर्न सक्छौं। 

अहिले आएर भने कृष्णमूर्तिको विचार अलि ‘रोमान्टिक’ जस्तो लाग्छ। के आफूलाई स्मृतिका सञ्जालबाट पूर्णरूपले तटस्थ राख्न सम्भव छ ?        के हामी एकअर्कालाई जस्ताको तस्तै हेर्न सक्छौं होला, एकअर्काको मौलिक व्यक्तित्वलाई पूर्णरूपले स्वीकार गर्दै ?       

नेपालमा गत दुई दशकदेखि चर्किएको परिचयको राजनीतिको एउटा परिणाम के भएको छ भने हामीले एकअर्कालाई मौलिक व्यक्तिको रूपमा हेर्न छाड्यौं। कुनै मानिस भेट्नेबित्तिकै सबैभन्दा पहिले हाम्रो मनमा प्रश्न उठ्छ– यो मानिस बाहुन वा क्षेत्री हो वा जनजाति ? पहाडे हो वा मधेसी ? नारी वा पुरुष ? कुन वर्गको हो ? एमाले होे वा माओवादी वा कांग्रसी हो ? अर्को शब्दमा भन्दा हामी त्यस व्यक्तिको मौलिक अस्तित्व स्वीकार गर्नै सक्दैनौं। त्यस व्यक्तिलाई हाम्रा स्मृतिमा जरा गाडेर बसेका पूर्वाग्रहमार्फत मात्र हेर्न र बुझ्न खोज्छौं।

एउटा दृष्टिले बुझ्दा यो स्वाभाविक हो। आखिर, इतिहास स्मृतिहरूकै सँगालो न हो। इतिहासमा माथिल्ला कहलिएका जातिले तलकालाई दबाएका छन्। थुप्रै पुरुषले नारीमाथि अत्याचार गरेका छन्। एलिट वर्गका पहाडेहरू मधेसी तथा अन्य सीमान्तकृत समूहप्रति असंवेदनशील बनेका छन्।

यी सबै कारणले विभिन्न लिङ्ग, जाति, वर्ग र भूगोलबीचका पूर्वाग्रह पनि उत्तिकै मौलाएका छन्। ती सबै पूर्वाग्रहलाई चटक्क बिर्सेर एकअर्कालाई पहिलो चोटी भेटेको र देखेको झैं सहज रूपमा ग्रहण गर्न सजिलो छैन। यस अर्थमा म अहिले आएर कृष्णमूर्तिसित ३० वर्षअघिको झैं पूर्ण रूपमा सहमत हुन सक्दिनँ।

तर यति हुँदाहुँदै पनि लाग्छ- एकअर्काप्रतिको आपसी वैमनस्य र पूर्वाग्रहमा जकडिएको हाम्रो समाजमा कृष्णमूर्तिको दर्शन आंशिक भए पनि अझै सान्दर्भिक छ कि ?        देशमा परिचयको राजनीति चल्नु स्वाभाविक थियो। केही समय अझै चलिरहनेछ। यो ऐतिहासिक प्रक्रियाको भाग हो। तर, यति हुँदाहँदै पनि हामीले एकअर्कालाई जात, वर्ग, लिंग र पार्टीगत परिचयबारेका पूर्वाग्रहबाट मात्र नहेरी मौलिक दृष्टिले हेर्ने अभ्यास पनि साथै गर्ने हो कि ? ऐतिहासिक स्मृतिकै सीमसारमा भासिइरहेका बेला पनि एकअर्काको मौलिक अस्तित्वलाई स्वीकार गर्न सकिन्छ कि ?       

कृष्णमूर्तिलाई एनि बेसेन्ट र थियोसफिकल सोसाइटीले आफ्नो आध्यात्मिक संस्थाको भविष्यको रूपमा हेरेको थियो। उनलाई त्यही किसिमको शिक्षा र ट्रेनिङ दिइयो। सबैले सोचेका थिए, कुनै दिन कृष्णमूर्तिले थियोसफिकल सोसाइटीको गुरु बनेर संसारभरि ‘महानवाणी’ फिँजाउनेछन्। तर, जब गुरु बन्ने बेला आयो, तब कृष्णमूर्तिले गुरुडमलाई लत्याएर आफूलाई आचार्यको रूपमा मात्र स्वीकार गरे। भने, ‘संसारमा कोही कसैको गुरु हुन सक्दैन। हो, शिक्षकले विद्यार्थीलाई जीवनबारेका महत्वपूर्ण ज्ञान र टेकनिक सिकाउन सक्छ। हिँड्नुपर्ने बाटोतिर संकेत गर्न सक्छ। तर हिँड्नु सबैले आफैं पर्छ।’

अहिले टेलिभिजनदेखि पत्रपत्रिका र सामाजिक सञ्जालमा बर्गेल्ती गुरु उदाएका छन्। कसैले आफूलाई भगवान भन्छन् त कसैले मुक्तिदाता। कुनै गुरुका कुरा सुन्दा त विज्ञापनकलामा डिग्री गरेका एक्सपर्टजस्ता लाग्छन्। कृष्णमूर्तिले कसैको गुरु हुन मानेनन्। गुरु बनेर अर्कालाई आफू हिँडेको बाटोमा हिँडाउन खोज्नु चेलालाई आफ्नै पूर्वाग्रहको भारी बोकाउनु हो। तिनलाई आफ्नै जीवन अनुभवका रङमा ढाल्न खोज्नु हो।

तिनलाई स्वतन्त्र बनाउनु सट्टा आफैंमा आश्रित बनाउनु हो। कृष्णमूर्ति गुरुडमको भारी पन्छाएर आफैं स्वतन्त्र भए। अरूलाई पनि परतन्त्री बनाउने प्रयास गरेनन्। हो, मानिस इतिहासबाट मुक्त हुन सक्दैन। तर, पूर्वाग्रहबाट आफूलाई स्वतन्त्र गराउने प्रयाससम्म गर्न सक्छ। जति स्वतन्त्र हुन्छ, त्यति नै नयाँ विचारको प्रार्दुभाव हुँदै जान्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.