बिपटा
उसको चाहना त रुदल बन्ने थियो। तर नियतिले उसलाई बिपटा बनाइदियो। नाचमा कुनै त्यस्तो पार्ट थिएन, जसका डायलगहरू उसलाई कण्ठ भएको नहोस्। तर उसलाई सबैभन्दा मन पर्ने पात्र रुदल नै थियो। उसको जीवनको लक्ष्य नै रुदल बनेर धेरैभन्दा धेरै चौकी तोड्नु थियो। यसका लागि दह्रो खुट्टा चाहिन्थ्यो तर सायद नियतिलाई यो कुरा मञ्जुर थिएन। १० वर्ष हुँदा उसलाई पोलियोले छोप्यो, दाहिने गोडा लुलो भएको थियो।
उसको बुवा दशरथ सदा माँ धमिनी नाच कम्पनीको एक मात्र गवैया थियो। उसले हारमोनियम पनि बजाउँथ्यो। ढोलक बजाउने ढोलकिया, झ्याली बजाउने पाउन खासै गाह्रो थिएन तर गवैया पाउन गाह्रो थियो। त्यसैले दशरथ त्यस कम्पनीको महत्वपूर्ण सदस्य थियो। त्यस कम्पनीको मालिक महावीर दास यदि कसैसँग आदरका साथ प्रस्तुत हुन्थे भने त्यो दशरथ नै थियो। त्यसैले गुरुशरण सदा बच्चैबाट बुवासँग नाच कम्पनीमा जान थालेको थियो।
उसलाई धमिलो सम्झना छ। मेला लागेको थियो त्यस दिन। गाउँमा हुन लागेको पहलमानीको रन्को ऊलगायत उसका साथीहरूलाई पनि लागेको थियो। बन्दै गरेको अखाडामा ऊ र बिरजु सदा जो अहिले रुदलको रोल गर्दैछ, पहलमानी भिडेको थियो। जम्मा दुई दाउमा चित गरेको थियो उसले बिरजुलाई। उसका साथीहरू साक्षी छन् त्यस घटनाको। पहिलोपटक चित गर्दा बिरजु अलमलमै थियो। त्यसपछि अर्कोपटक फेरि लडेको थियो। अर्कोपटक भने उसले बिरजुलाई चित गरेन। उसलाई भुइँमा पछार्यो। उसको पिठ्यूँमा चढेर उसको हातलाई धेरै बेरसम्म बटारिरह्यो। जबसम्म बिरजु आफैं हार मानेन, तबसम्म उसले छाडेन।
त्यही साँझ ऊ ज्वरोले थलियो। उसलाई लहानको मुरारका अस्पताल लगियो। जहाँबाट फर्कंदा एउटा खुट्टा लुलो भएर आयो। डाक्टरले पोलियोको कारणले यस्तो भएको बताए। जब उसले थाहा पायो, यदि उसलाई जन्मँदै पोलियो खोप खुवाएको भए यस्तो हुँदैनथ्यो। ऊ बिरजुभन्दा बढी घृणा आफ्नो बुवालाई गर्न थाल्यो। उसले बुवालाई आफ्नो सपनाको हत्याराजस्तै देख्न थाल्यो। ऊ बुवासँग राम्ररी बोल्न छोड्यो। उसको बुवाले पनि कहिल्यै कारण सोधेन।
जब जब बिरजुले रुदल बनेर स्टेजमा चौकी तोड्थ्यो। गुरुशरण पोलियोले सुकेको आफ्नो दाहिने गोडा हेथ्र्यो। अनि सम्झन्थ्यो, आफ्नो बुवाको अनुहार। पिचिक्क थुक्थ्यो। र, आफ्नो गोडातिर हेर्दै बर्बराउँथ्यो,
‘खासमा यो चौकी मैले तोड्नुपर्थ्यो।’
अहिले ऊ नाच पार्टीमा सबैभन्दा वरिष्ठ कलाकार हो। उमेरको हिसाबमा होइन, नाच कम्पनीमा काम गर्न थालेको आधारमा। ऊ बुवासँग जति घृणा गथ्र्यो, त्यति नै ईष्र्या पनि गथ्र्यो। सबैभन्दा बढी ईष्र्या त उसको गायनदेखि गथ्र्यो। त्यस नाचमा सबैको रोलको गायन बुवाले नै गाउनुहुन्थ्यो। त्यसैले उसको सम्मान पनि धेरै नै थियो। गुरुशरण बुवाकै रिसले सबै गायन पनि कण्ठस्थ पारेको थियो।
एक दिन बिपटाकै नक्कल गरिरहेको बेला गुरुशरणलाई उसको बुवाले देखेको थियो। त्यस बेला उसले सोनावतीलाई हँसाउनका लागि गरिरहेको थियो। सोनावती उसको बिपटईमा हाँसेर मग्न थिई। ऊ भने उसको हाँसोमा मक्ख थियो।
‘फुलबायरमे हम फुल लोरहलियै...
पतायरमे जाक डुबकी लगेलियै...’
उसले प्रत्यक भाकामा अभिनय गरेर देखाइरहेको थियो। फूल टिप्ने कुरा गर्दा टिपेको अभिनय गथ्र्यो। पोखरीमा डुबुल्की लगाउँदा त्यसैको अभिनय गथ्र्यो। कलिलो अनुहारले गर्दा मायालाग्दो देखिन्थ्यो ऊ। ऊ हिँड्दा, दगुर्दा वा अभिनय गर्दा खुट्टा खोच्याउने कारणले आफै हाँसउठ्दो थियो। तर, भाका मिलाएर गाउँदै अभिनय गर्दा रमाइलो देखिन्थ्यो।
ऊ सादा लुगामा अभिनय गरिरहँदा त हँसाइरहेको थियो। अझ उसले विपटाको लुगा र टोपी लगाएर गरेको भए झन् कमाल गथ्र्यो होला। उसको बुवाले त्यस्तै सोच्यो। अहिले बिपटई गर्ने घुर्नाभन्दा उसको भाका पनि मीठो थियो। उसले अझ धेरै कुराहरू सम्झेर भन्न सक्थ्यो। घुर्नाले त मुख बटार्ने मात्र हो।
त्यसको केही दिनपछि घुर्ना जन्डिस लागेर थला परेको थियो। त्यस महिनामा महावीर दासले तीनवटा ठाउँमा सट्टा गरिसकेको थियो। ऊ कतिसम्म तनावमा थियो भने उपचारको खर्चका लागि पैसा माग्न आएको उसकी बूढीलाई समेत गाली गरेर पठाएको थियो।
‘त्यसलाई पैसा दिन्छु म ? भन गएर अझ रक्सी खाओस् साला ? तीनवटा सट्टा छ मेरो। अब यति बेला बिपटा खोज्न कहाँ जानु ? ’
दशरथ सदा त्यस बेला त्यहीँ थियो। उसैले कम्पनीको मालिकलाई आफूतिर डाक्यो।
‘अरे महावीरजी इन्सानियत नाम पनि केही चिज हुन्छ। जाबो अलिकति पैसाको लागि किन नराम्रो हुनु हुन्छ ? ’
‘अहिलेसम्म म कसैको पैसा हिनामिना गरेको छ दशरथजी ? समस्या यहाँ कलाकार छ ? अब म यतिबेला कहाँबाट खोज्ने बिपटा। नाचमा रोल गर्नेहरू सबै आफूलाई ठूलो कलाकार सम्झन्छ। एकदुईजना नयाँ छन् तिनीहरू नाच्दा त अनुहारमा भाव ल्याउँदैन, झन बिपटई के गर्छ ? ’
‘अरे चिन्ता किन गर्नुहुन्छ ? म ल्याउँछु तपाईंको लागि विपटा। बरु घुर्नाको बूढीलाई पैसा दिएर पठाइदिनुस्।’
महावीरदासले दशरथ सदाको कुरा पहिले पनि पत्याउँथ्यो। त्यस दिन पनि पत्यायो।
त्यसकै भोलि गुरुशरणलाई लिएर दशरथ सदा महावीरको घर गयो।
‘अनि खोइ त बिपटा ? ’
महावीरले गुरुशरणतर्फ हेर्दा पनि हेरेन। उसको बुवातिर हेर्दै सोध्यो।
‘पख्नुस् एक क्षण।’
उसलाई लिएर बुवा गोदामघरमा जानुभयो, जहाँ सारा नाचका सामानहरू राखिएका हुन्थ्यो। कुन सामान कहाँ राखिएको हुन्छ भन्ने कुरा उसको बुवालाई राम्ररी थाहा थियो।
त्यस बेलासम्म गुरुशरणलाई पनि केही थाहा थिएन। बुवाले बिपटाको मेकअपको सामान निकालेर उसको अनुहारमा दल्न थालेपछि मात्र ऊ झसंग भएको थियो। बिपटाको लुगा र टोपी भने उसलाई निकै ठूलो भएको थियो। तर पनि त्यसलाई पट्याएर उसलाई लगाई महावीर दासको अगाडि लिएर गए।
यसपटक भने महावीर दासले गुरुशरणलाई हेर्यो। बिपटाको लुगामा हेर्दै हाँस उठ्दो थियो। हेर्नेबित्तिकै हाँस्यो पनि। तर छिटै उसको अनुहारको हाँसो गायब पनि भयो।
‘अरे दशरथजी म मजाक गर्ने मुडमा बिलकुल छैन।’
‘त मजाक कसले गरिरहेको छ महावीरजी ? गुरुशरण बेटा, अस्ति जे सोनावतीलाई सुनाइरहेको थियो त्यो सुनाइदे त।’
गुरुशरण फेरि झस्क्यो। बुवाले साथीहरूको अगाडि गरेको नाटक देखेको चाल बल्ल उसले त्यस बेला मात्र भयो। उसलाई केही फुरिरहेको थिएन। उसले के गाएको थियो, त्यो पनि बिर्सिसकेको थियो।
‘गे बर बर भक्ति हम ईश्वरके केलियै
सिलानाथ सिलवती पुजेलियै...
...तहियो नै बैमनवा पियवा दर्शन देलकै।...’
ऊ आत्तिएर मूल गीत नै सुनायो। जुन ऊ बेलाबेला लाउडस्पिकरमा सुन्ने गथ्र्यो। तर त्यसले पनि महावीर दासलाई राम्रै प्रभाव पार्यो। किनकि ऊ गाउँदा उसको मुखसँगै उसको पूरै शरीर चल्न थालेको थियो।
‘अहँ यो भएन। यो ओरिजनल भयो। यसलाई नक्कल गरेर अरू बनाएर गाउँथिस् नि ? हो त्यसरी गाऊ। मान्छेहरू हाँसो उठ्नु पर्यो।’
‘गे बर बर भक्ति हम छौरीके केलियै
बाप मताइरसे हम झगरा करलियै...
जयनगरसे साडी किनलियै...
...तहियो नै बैमनवा छौरी... हमरा जरे यैले...’
यसपटक भने महावीर दास मुर्छा पर्ने गरी हाँस्न थाल्यो। महावीर दास त्यसरी हाँस्न थालेपछि दशरथ सदाले पनि आफ्नो हाँसो रोक्न सकेन। बुवा हाँस्न थालेपछि गुरुशरणले गाउन बन्द गर्यो। टोलाएर दुवै हाँसेको हेर्न थाल्यो।
‘धत् गजब छ। कहाँ लुकेर बसेको थिइस रे तँ ? ’
महावीर दासले मायाले उसलाई आफूतिर तान्यो। कुनै ठूलै तीर मारेको अनुभव उसले गरेको थियो।
त्यसपछि सबै नाचमा बिपटा ऊ हुन थाल्यो। ऊ गुरुशरण दासबाट गुरदास लाल भयो। सानो भएकाले नटुवाहरू झन् बढी छिल्लिन्थे। त्यसले झन् बढी हाँसोका फोहोराहरू उठ्थे। तर, उसले आफ्नो बिपटई छिल्लिनेमा मात्र सीमित राखेको थिएन। त्यो क्षेत्रमा घट्ने तर सबैका चासो हुने विषयलाई समेत ऊ भाकामा उतार्न खोज्थ्यो।
‘पैसा मागलकै पैसा हम देलियै
भोज मागलकै खसी काटलियै...
बुढवा सबके धोती बाँडलियै
मौगी मेहरके सारी बाँडलियै...
...तहियौ नै बैमनवा जनता भोट देलकै हे...’
चुनाव हुन्थ्यो। मानिसहरू भोट हाल्थे। जित्ने जित्थे, हार्ने हार्थे। तर मानिसहरू लामो समय उसको बिपटईको कारणले पनि सम्झन्थे।
घटनाहरू सबै रमाइला मात्र थिएन। अप्ठ्याराहरू पनि थिए। एउटा गाउँबाट दुई जोडाजोडी भागेर विवाह गरेका थिए। त्यहाँका छेउछाउका गाउँहरूको विशेषतालाई भाकामा ढालेर ऊ गाउँथ्यो। त्यसमा नै उसले त्यस गाउँलाई ‘उर्हरा उर्हरी...मे देखलियै...’ भन्दै गाइदियो। नाचको भीडभाडमा त त्यसैले राम्रै हाँसो पायो। तर रातभरिमा त्यो कुराले उल्टो अर्थ बोक्यो। त्यहाँका युवाहरू त्यस गाउँको नाम बदनाम गरेको भन्दै रिसाए। तीन दिनको नाचको सट्टा थियो। पहिलो दिनबाट नै बबाल सुरु भएको थियो।
दोस्रो दिन त्यहाँका युवाहरू मिलेर उसलाई कुट्ने योजना बनाएका थिए। त्यो खबर केही गरी महावीर दासले पाए। उसले सबेरै गुरुशरणलाई त्यहाँबाट एकजनाको साइकलमा भगाइदियो। तर समस्या गुरुशरणलाई भगाएर मात्र समाधान भएन। उनीहरू नाच कम्पनी बसेको धर्मशाला नै घेरेका थिए। उनीहरूले गुरुशरणलाई नै झिकाउने कुरा गरेका थिए। तर उसको बुवाले मानेन। त्यसपछि महावीर दास सबैका अगाडि उभेर गुरुशरणको तर्फबाट माफी माग्नु परेको थियो।
त्यस पछिका बाँकी दुई दिन गुरुशरणबिना नै नाच चलेको थियो। तर, नाच पहिलो दिन जसरी जमेन। दिउँसो त झनै भएन। गुरुशरण हुँदा उसले गर्ने मनोरञ्जनले स्टेज वरपर मानिसहरूका भीड सम्भाल्नै नसकिने गरी हुन्थे। ऊ गएपछि त नटुवाहरूको नाचेको मात्र हेर्न मानिसहरू खासै जम्मा हुन छाडे। मेला आयोजक कमिटीले त्यसपछि सुरक्षाको जिम्मा लिएर भए पनि गुरुशरणलाई मगाउने कुरा गरे तर दशरथ सदाले मानेन।
त्यो घटनाले कम्पनीमा गुरुशरणको भाउ झनै बढेको थियो। ऊ आफ्नो उमेर समूहमा हिरो भएको थियो।
त्यो संयोग गुरुशरणका लागि राम्रो भयो या भएन ? यसको हिसाबकिताब गर्दा गुरुशरण आफैं अलमलमा पर्थ्यो। किनकि जहिलेबाट उसले बिपटा बन्न सुरु गर्यो, त्यसपछि उसको ठाउँ कसैले लिन सकेन। जुन जुन ठाउँमा नाच देखाउन पुग्थ्यो, त्यहाँको स्थानीय पहिचानलाई उसले भाकामा उतारेर मान्छेलाई हँसाउँथ्यो।
नाच चलुन्जेल मात्र होइन, पछि बाटोघाटो देख्दासमेत मानिसहरू उसलाई देखेर हाँस्थे। कतिपयले उसले बोलेको कुरालाई जस्ताको त्यस्तै नक्कल उताथ्र्यो। बच्चाहरूमा त ऊ झन् लोकप्रिय भएको थियो। अझ चुनाव आउँदा प्रचारप्रसारका लागि समेत उसलाई पैसा दिएर नै बोलाउन थालिएको थियो।
त्यसैले ऊ सुरुमा निकै हौसिएको थियो। आफ्नो उमेर समूहमा यति सानैमा स्टेजमा गएर नाच देखाउने ऊ पहिलो थियो। अझ प्रत्येक सट्टा पछि उसले पैसासमेत पाउँथ्यो। कहिलेकाहीँ अरू नटुवाहरूले जस्तो उसले पनि बक्सिस पाउँथ्यो। जति बेला उसका उमेरका केटाहरू आमाको फेर समातेर खेतमा सिला टिप्न जान्थे, त्यस बेला ऊ नाचमा व्यावसायिक भई पैसा कमाउने भइसकेको थियो।
सोनावती ऊ भनेपछि मरिहत्ते गर्थिन्। ऊ प्रायः मेलाहरूमा नाच देखाउन जानुपर्ने भएकाले उसले त्यहाँबाट चुरा, रुमाल, अल्ता, रिवन केही न केही उनको लागि ल्याइदिन्थ्यो। शनिबार बिहानको सोमा सिनेमा हलमा फिल्म हेर्न जान्थ्यो। कहिलेकाहीँ घरमा ढाँटेर सोनावती पनि ऊसँग जाने गरेकी थिई।
जहिले गुरुशरण सोनावतीलाई आफ्ना दुई जना बच्चालाई लिएर स्कुलतिर गइरहेको देख्थ्यो। ऊ आफ्नो दायाँ खुट्टातर्फ हेर्दै अफसोस गथ्र्यो र भन्थ्यो, ‘यो खुट्टा दह्रो हुन्थ्यो भने सोनावतीले बिरजुका होइन, मेरा बच्चाहरू लिएर स्कुल गइरहेकी हुन्थिन्।’
उसको दुःख उसको उमेरसँगै बढ्दै जान थालेको थियो।
सुरुमा ऊ स्टेजमा हुँदा मानिसहरू हाँसेको मन पर्थ्यो। त्यति नै बाहिर हाँस्दा पनि मन पर्थ्यो। गुरुशरण दासलाई गुरदास लाल भनेर बोलाउँदा मक्ख नै पर्थ्यो। ऊ पनि प्रतिउत्तरमा जिस्कन्थ्यो। तर जति ऊ जवान हुँदै गयो, त्यही कुरा उसलाई मन पर्न छोड्न थाल्यो। मानिसहरूले उसका सारा कुरालाई हाँसोमै लिन्थे। उसको भित्र के चलिरहेको हुन्थ्यो, कसैलाई वास्ता हुँदैनथ्यो। जसले जहाँ पनि मजाक बनाउन थाल्ने कुरा उसलाई मन पर्न छाड्यो।
यसको अर्थ यो पनि होइन कि उसलाई बिपटई गर्न नै मन पर्न छाडेको थियो। ऊ स्टेजमा हुँदा जमेर नै लाग्थ्यो। एक दुईवटा कारण थियो जसले गर्दा उसलाई बिपटा हुन मन परेको थियो। उसलाई नाचको अरू रोलमा जस्तो एउटै डायलग सधैं बोल्नु परेन। एउटै अभिनय सधैं उसले गरेन। समयअनुसार उसले आफ्नो हँसाउने तरिकाहरू बदली नै रहन्थ्यो। तर, उसले गर्ने मेहनतलाई अरूले महत्व नदिएपछि ऊ दुःखी हुन थालेको थियो।
सुरुमा ऊ उसका साथीहरूमाझ हिरो थियो। पछि जब उनीहरू ठूलो हुँदै गए र कुनै न कुनै रोजगारीमा लाग्न थाले, त्यसपछि उनीहरूले गुरुशरणलाई हेर्ने दृष्टिकोण पनि बदले। विस्तारै गुरुशरणलाई जोकरभन्दा बढी अरू केही लाग्न छोड्यो।
अरूभन्दा पनि सोनावतीको अगाडि पनि उसको महत्व कम हुँदै गएको थियो। उनी पहिला जसरी ऊसँग भेट्न छोडेकी थिइन्। फिल्म हेर्न जान त बन्द नै गरिन्। बुवाको कारण देखाई उसँग तर्कन थालेकी थिइन्। भेट्दा त्यसरी नै जिस्कन्थिन्, जसरी अरू मानिसहरू ऊदेखि जिस्कन्थे। अर्थात्, उनको लागि पनि ऊ गुरुशरण होइन, गुरदास लाल भएको थियो।
जहिलेबाट बिरजु झगरुको रोलमा नाच पार्टीमा प्रवेश गर्यो, त्यसपछि उसको दुःख झन् बढेको थियो। यसरी एकैपटक नाचको एउटा पार्टकै रोलमा थोरै मात्र मानिसहरूले प्रवेश पाउँथे। प्रायः नयाँहरूलाई नटुवा जो केटी बनेर नाच्ने गर्थे, त्यहाँबाट प्रवेश गराइन्थ्यो। केही महिना अथवा वर्ष दिनपछि मात्र कुनै रोल दिइन्थ्यो। बिरजुसँग भएको सामथ्र्य भनेकै उसको ज्यान थियो। त्यहाँ भएकामध्ये सबैभन्दा ठूलो र कसिलो ज्यान नै उसैको थियो।
त्यसमाथि लामो कपाल, ताउ दिन मिल्ने जुँगा थियो। जसको कारणले उसले नटुवा बनेर नाच्नु परेन। यसको अर्थ यो होइन कि बिरजु राम्रै कलाकार थियो। अभिनय त उसको जिरो नै थियो। डायलग त उसलाई झन् कण्ठ नै हुँदैनथ्यो। पर्दा पछाडिबाट उसलाई भनिरहनु पथ्र्याे। त्यही कारण ऊ स्टेजको अगाडि नभएर पर्दानजिकै उभिएर आफ्नो भूमिका निभाउँथ्यो।
अर्को कारण पनि थियो उसलाई झगरुको रोल दिने। खासमा झगरु भनेको रुदलको प्रतिद्वन्द्वी अलहाको चम्चाजस्तो रोल हो जहाँ उसले बोल्ने डायलग निकै कम र एउटै जस्तो हुन्थ्यो।
तर ऊ आउनेबित्तिकै उसको रवाफ ठूलो भयो। खासगरी गुरुशरणलाई त उसले मान्छे नै गन्न छोडेको थियो। केही भन्दा ‘चुप रे साला बिपटा’ भनेर हेपिहाल्थ्यो।
त्यस बेला गुरुशरणलाई सानोमा बिरजुलाई पहलमानीमा पछारेको सम्झना खुब हुन्थ्यो। फेरि एकपटक त्यसरी पछार्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई। तर न त बिरजु पहिलाजस्तो कमजोर थियो। न त ऊ नै त्यस बेला जस्तो बलियो थियो। त्यस बेला एउटा खुट्टाले अपांग हुनुको पीडाबोध उसलाई सबैभन्दा बढी हुन्थ्यो। तर एउटा सामथ्र्य थियो उसँग। त्यो हो महावीर दासको अगाडि ऊ र उसको बुवाको महत्व।
‘यो नाच कम्पनीबाट कि बिरजुलाई निकाल्नु कि मलाई। ऊ हुन्जेल म काम गर्दिनँ।’
एकपटक झोँकमा सीधै उसले महावीर दाससँग बिरजुको विषयमा कुरा गर्यो। गुरुशरण रिसाएको कारण बुझ्न महावीर दासलाई खासै अप्ठ्यारो भएन। अरू नाच कम्पनीभन्दा उसको कम्पनीको डिमान्ड बढी हुनमा एउटा महत्वपूर्ण कारण गुरुशरण नै थियो। नाच त अरूले पनि देखाउँथे। अलहा र रुदलको कथा सबैलाई थाहा नै थियो। कलाकारहरूले गर्ने अभिनय तथा नटुवाहरूको नाच सबै उस्तै हुन्थे। अरूभन्दा उसको नाच कम्पनी फरक भनेकै गुरुशरणको बिपटईले गर्दा थियो। त्यसैले भर्खर आएको कलाकारका लागि महावीर दासले गुरुशरणलाई गुमाउन चाहन्थेन।
महावीर दासले बिरजुलाई बोलाउन लगायो।
‘तँ झगरुको रोल गर्छस्। होइन ? ’
गुरुशरणकै अगाडि महावीर दासले बिरजुको सातो जाने गरी सोधेको थियो। उसले एकपटक गुरुशरणतिर हेर्यो। अनि फेरि आँखा झुकायो।
‘हो।’
टाउको निहुर्याएरै बोल्यो ऊ।
‘ल झगरु बध हुँदै गरेको बेला रुदलसँग कसरी गिडगिडाउँछस् ? गरेर देखा।’
एकपटक महावीर दासतिर हेर्यो। भुइँ ताक्न थाल्यो। एकपटक प्रयास गर्न खोज्यो तर सकेन। हलचल नगरी उभिरह्यो।
‘एउटा डायलग राम्रोसँग याद हुँदैन। बडा ठूलो एक्टर ठान्न थालिस् ? अब आइन्दा कसैको कमप्लेन आयो भने धक्का दिएर बाहिर निकालिदिन्छु। जा अब।’
ऊ रुन्चे अनुहार लिएर त्यहाँबाट निस्केको थियो।
त्यस घटनाको केही दिनसम्म गुरुशरणलाई अप्ठ्यारो लागेको थियो। महावीर दासले त्यसरी कराउँदा त्यस बेलाको बिरजुको अनुहार सम्झेर टिठ पनि लागेको थियो। भित्रभित्रै डर पनि लागेको थियो। उसको शरीर र अनुहार सम्झँदा डराउनु स्वाभाविक पनि थियो। एकै ठाउँ घर थिए उनीहरूका। तत्काल ऊमाथि हमला गर्दा प्रतिकार गर्नसक्ने ल्याकत पनि थिएन उसको।
त्यस्तो केही भएन। तर, बिरजुमा भने व्यापक परिवर्तन भयो। उसले फेरि गुरुशरणलाई कहिल्यै हेपेन। आफ्नो अभिनयमा मेहनत गर्न थाल्यो। डायलगहरू पनि कण्ठ गर्न थाल्यो। केही समयमै ऊ पर्दानजिक जान पनि छोड्यो। ज्यानलाई अझ कसिलो बनाउन थाल्यो। नाचमा नगएको बेला बिहानै उठ्ने र कसरत गर्न थाल्यो।
तर त्यस कुराले पनि गुरुशरणको मनलाई शान्त गरेन। उसलाई बिरजुप्रति झन् ईष्र्या बढ्न थाल्यो। यसको प्रमुख कारण थिई सोनावती। अब सोनावती बिरजुसँग पनि त्यति नै नजिकिन थालिन्, जति ऊसँग नजिकिन्थी। गुरुशरणसँग पनि उनको राम्रै थियो। तर उसलाई बिरजुसँगको निकटता फिटिक्कै मन परेको थिएन।
महावीर दासले झपारेपछि उसले बिरजुलाई सीधै निकाल्न भन्न सकेन। किनकि उसको व्यवहारमा ठूलै परिवर्तन भएको थियो। सन्की र घमण्डीबाट ऊ स्थिर र सहनशील भएको थियो। अझ उसले आफ्नो अभिनयमा झनै निखार ल्याएको थियो। नाचपछि समीक्षा गर्दा कसैले बिरजुको तारिफ गर्यो भने ऊ नराम्रो मान्न थालेको थियो।
‘रुदलभन्दा ठूलो ज्यान छ उसको। झगरुमा सुहाएकै छैन। म भएको भए त्यसलाई लिँदै लिँदैनथे।’
ऊ मौका पाउँदा बिरजुको कुरा काट्न पछि पर्दैनथ्यो।
‘खासमा उसको ज्यान त रुदल हुन लायककै छ, बस उसलाई थौरै अनुभवको कमी छ।’
तर उसको कुरा लगाई बिरजुका लागि फाइदा नै सिद्ध भएको थियो। त्यस नाच कम्पनीको भावी रुदलको रूपमा उसलाई हेर्न थालिएको थियो। रुदलको रोल गर्ने दुखरण मुखिया बूढो भइसकेको थियो। चिच्याउँदा घाँटी बस्न थालेको थियो। एक वा दुई दिनसम्मको सट्टामा ठिकै थियो। तर तीन दिन वा सात दिन सम्मका पनि सट्टा हुन्थे। त्यसमा उसले हार मान्न थालेको थियो। जुन कुराले गुरुशरणलाई भित्रभित्रै झन पोल्न थालेको थियो।
आखिर त्यो सुनौलो मौका पनि बिरजुलाई आई नै पुग्यो। सारस्वरको पूर्णिमा मेलाका लागि महावीर दासले तीन दिनको सट्टाका लागि बुक गरेको थियो। त्यही समय दुखरण मुखिया बिरामी भयो। रुदलबिना नाच हुनै सक्दैनथ्यो। बिरजु पनि यही मौकाको ताकमा थियो र सीधै महावीर दासलाई भेट्यो।
‘म गर्छु रुदलको रोल।’
पूरै शिरदेखि पैतालासम्म नियाल्यो उसलाई।
‘एउटा झगरुको रोल ठीकसँग गर्न सक्दैनस् रुदलको गर्ने ? ’
महावीर दासले उसलाई पत्याएन।
‘आ... हो...
प्रथम सुमिरण श्रीगणेशको
दोसर श्री गुरुचरणमे शिष नवा
शिष नवा माता तोहर चरणमे
हे माता जगदम्बा देवी हो ...
आ... हो...
प्रथम सुमिरण माता सरस्वतीको...’
उसले सुमिरणबाट सुरुआत गर्यो र रुदलले आउनेबित्तिकै दिने आफ्नो परिचयबाट सुरु गर्यो। हुन त उसले रुदलको पोसाक लगाएको थिएन। तर उसको लामो कपाल र जुँगाले उसलाई रुदलकै झझल्को दिएको थियो। उसको हातमा रुदलको तलबार थिएन। तर ऊ चिच्याउँदा वा उफ्रँदा रुदलले तलबार समातेर गर्ने अभिनय झैं गर्यो।
उसले रुदलको डायलग बोलिरहँदा महावीर दास टोलाएर हेर्न थालेको थियो। उसले अभिनय गरिरहँदा सबै कलाकार भेला भएका थिए। गुरुशरण पनि थियो। करिब आधा घन्टा पूरै जोशमा उसले रुदलको अभिनय गरेको थियो। मानौं ऊभित्र साक्षात् रुदल नै अवतरित भएको होस्। ऊ रोकिँदा पूरै नाच कम्पनीले ताली बजाएर रुदलको रोलमा स्वागत गरेका थिए। त्यहाँ गुरुशरण एक्लो थियो, जसले ताली बजाएन।
‘यो ताली मेरो लागि बज्थ्यो होला।’
आफ्नै अगाडि बिरजुले रुदलको रोल गर्ने अवसर पाउँदा गुरुशरणले फेरि आफ्नो खुट्टातर्फ हेर्यो र पिचक्क थुक्यो। अनि पोलियोको थोपा नखुवाएको आफ्नो बुवा र आमा दुवैलाई मनमनै गाली गर्यो। त्यसपछि बिरजु माँ धमिनी नाच कम्पनीको रुदलको रोलमा बढोत्तरी भयो।
सारस्वरमा उसले पहिलो रातको प्रदर्शनमै चारवटा चौकी भाँच्यो। आवाज पनि उसको चर्को थियो। त्यसभन्दा अगाडि दुखरण मुखियाको आवाज त्यहाँ बज्ने ढोलक, हार्मोनियम र पिपहीको बीचमा हराउने गथ्र्याे। तर, उसको आवाज ती बाजाहरूभन्दा चर्का सुनिन्थे। प्रत्येक डायलगपिच्छे उसले जोडले खुट्टा बजाथ्र्यो। अनि मच्चिएर हल्लिन्थ्यो। बाँसको मचान र त्यसमाथि चौकी राखेर स्टेज बनाइएका हुन्थे। अलि पातलो काठ प्रयोग गरिएका चौकीहरू चाँडै भाँचिन्थे।
चारवटा चौकी तोड्ने नयाँ रुदलको हल्ला त्यहाँ वरपर सबै गाउँमा फैलिए। अर्को दिनको मेला पहिलो दिनभन्दा धेरै मानिस मेलामा ओइरिए। पसलहरूको व्यापार झन् बढ्यो। मेला आयोजक कमिटीले चन्दाको दस्तुर पनि बढायो।
बिरजु झन् हौसियो। अर्को दिन पनि उसले चौकी तोड्ने क्रम जारी राख्यो। गुरुशरणलाई अप्ठ्यारो त्यति बेला लाग्यो, जब उसले रुदललाई कुष्ठ रोग लागेको अभिनयमा समेत चौकी तोड्यो। उसले महावीर दासलाई भन्यो पनि।
‘अरे गुरुशरण बेटा यो अडियन्सको डिमान्ड हो। हेर्दैनस् ? यही चौकी तोडेर त यत्तिका मानिसहरू यहाँ आएका छन्।’
तर ऊ त आफ्नो नाच कम्पनीको नाफा नोक्सानमा बढी केन्द्रित थियो। उसको नाच कम्पनीको डिमान्ड बढिरहेको थियो। पूरै तीन दिनको नाचमा उसले सत्रवटा चौकी तोड्यो। त्यहाँका व्यापारी र मेला आयोजक कमिटीहरू मिलेर बिरजुलाई चार आना सुनको तक्मा बनाएर उपहार पनि दिए। बिरजु रातारात त्यस कम्पनीको स्टार बन्यो।
त्यसको केही दिनमै सोनावतीलाई बिरजुले भगाएर विवाह गरेको खबर उसले सुन्यो। त्यही नाचमा जितेको सुनको तक्माको गहना बनाएर बिरजुले सोनावतीलाई दिएको थियो। सुरुमा त बिरजु उसको बुवासँग माग्नै गएको हो। तर, राजमिस्त्रीको काम गर्ने उनको बुवा नटुवालाई छोरी दिन चाहेन। त्यसपछि सोनावती बिरजुसँग भागेकी थिइन्। हप्ता दिनजति पछि उनीहरू फर्के पनि। औपचारिक रूपमा भोज पनि गर्यो। पूरै गाउँका मानिसले भोज खाएका थिए। नाच कम्पनीबाट समेत सबै गएका थिए तर गुरुशरण गएन।
सबै कुरा सामान्य अवस्थामा आए पनि गुरुशरण सामान्य अवस्थामा आएन। विक्षिप्त भएको थियो। महावीर दासले अर्को नाचको सट्टा पनि गरिसकेको थियो। त्यो खबर गर्न आफैं आएको थियो। तर उसले जान नसक्ने बताएपछि मात्र महावीर दासले उसको विक्षिप्तताको अवस्था थाहा पाएको थियो। बिरजुको विवाहको भोजमा नआउँदासम्म उसले त्यसलाई गम्भीर रूपले लिएकै थिएन। त्यस अवस्था गुरुशरणले बिपटई गर्न पनि सक्दैनथ्यो। त्यसैले महावीर दासले उसलाई धेरै सम्झाउनतिर पनि लागेन।
महावीर दास आएको भोलि नै सोनावती आफैं गुरुशरणको घरमा आइन्। एक्कासि सोनावतीलाई आफ्नोअगाडि देखेपछि उसको होश नै हराएजस्तो भएको थियो। उसको मुटु नै बाहिर निस्किन लागेको जसरी गति तेज भएको थियो। उसको समझमै आइरहेको थिएन के गरूँ ? हतारहतार आफू सुत्ने चौकी सफा गर्यो। र बस्न भन्यो।
‘म बस्न आएको होइन। तिमी किन यस्तो गर्दैछौ सोध्न आएको ? ’
‘के गरेँ र मैले ? ’
उसले अञ्जान बन्दै सोध्यो।
‘अब मसँग पनि अञ्जान नबन। तिम्रो मनमा मेरो बारेमा के चल्छ ? म कसरी थाहा पाउँछु। अनि सबै कुरा तिमीले सोचेर मात्र पनि त भएन। मैले पनि त त्यसरी सोच्नु पर्यो। तिमी भोजमा पनि आएनौ। र अहिले नाचमा जाँदैनौ भन्दैछौ। यसले मलाई के गर्छ सोचेको छौ ? ’
वास्तवमा उसको यस व्यवहारले सोनावतीलाई पुर्याउन सक्ने असरको ख्याल नै गरेको थिएन। ऊ आफ्नो गममा यति विक्षिप्त थियो कि यसले समाजमा हुने असरको बारेमा उसले वास्ता नै गरेन।
‘महावीर दासले बिरजुलाई तिमी फर्केनौ भने उसलाई पनि लिदिनँ भनेको छ।’
पक्का व्यापारी हो महावीर दास। ऊ आफूबाट नभएपछि सोनावतीलाई समेत प्रयोग गरेको थियो। उसले बिरजुलाई पनि पठाउन सक्थ्यो। तर सोनावतीलाई पठायो। ताकी उसले नकार्न नसकोस्। महावीर दासको कूटनीति देखेर गुरुशरण मनमनै हाँसेको थियो।
‘जान्छु हो जान्छु। मेरो रोजीरोटी नै बिपटई हो। त्यो गरेन भने त भोकै मर्छु। मैले त यसो महावीर दासको मन जाँचेको मात्र हो।’
सोनावती खुसी भइन् र उज्यालो अनुहार लिएर उनी त्यहाँबाट हिँडिन्।
‘यो सब यही खुट्टाले गर्दा त हो। नत्र उनले पनि मेरो बारेमा त्यसरी नै सोच्थिन्, जसरी मैैले उनको बारेमा सोच्थेँ।’
उनी हिँडेपछि उसले आफ्नो दायाँ गोडातिर हेर्यो। त्यसमाथि हातले जोडसँग हिर्कायो। .