अश्लील
मभित्र क्रोधको भाव सल्बलायो। मैले सम्पूर्ण भीडलाई चुनौतीको आँखाले हेरेँ। भीडको अनुहार देखेर मलाई लाग्यो - यो भीड हाम्रो जमानाको एउटा यस्तो आज्ञाकारी गधा हो जसको शब्दकोशमा आज्ञापालनभन्दा अर्को शब्द नै छैन।
१.
मलाई त्यस बेलासम्म डर, आश्चर्य वा नयाँपनको अनुभव भएको थिएन। एउटा सपाट भीडको माझमा म थिएँ। त्यो भीड गड्यौला, चिप्लेकीरा, छेपारा वा साङ्लाहरूको जस्तो तान्त्रिक मुद्रामा थियो। त्यो बाहिरबाट हेर्दा सभ्य र शालीन देखिन्थ्यो तर त्यसको अन्तस्करण उल्टो थियो। सामान्य कल्याङमल्याङ र गुनगुनबाहेक त्यसले आफ्नो पाखण्डी सादा जीवन र उच्च विचार कायमै राखेको थियो। खासमा भन्ने हो भने त्यहाँ शान्तिवादी दर्शन र विचारधाराको मर्यादा राम्रैसित पालन भइरहेको थियो।
तर, एकाएक मौसम बदलियो। बाहिरको शून्य आकाशमा कालो बादलका लाम्टा देखिए। बादलहरू तीव्र वेगमा उड्न थाले। त्यसपछि भीडको रङमा पनि आमूल परिवर्तन आयो। भीड सुरुमा पहेँलो र त्यसपछि गाढा कालो भयो। त्यो देखेर म संवेदना नभएको कुनै निर्जीव पिण्डझैं भएँ।
भीडको माझबाट एउटा मोटो व्यक्ति सलबलायो र अगाडिको मञ्चमा उक्लेर पोडियमको सामुन्ने उभियो। उसको गालामा झुन्डिएको मासु पानीझैं हल्लिरहेको थियो। उसका आँखा पाकेका खोर्सानीजस्ता राता थिए। उसले नेप्टो नाकमुनि खैरा जुँगा पालेको थियो। उसको जुँगाका दुवै छेउ सुइरोझैं माथितिर ठडिएका थिए।
पहिले उसले आफ्नो राजकीय जुँगा मुसार्यो र त्यसपछि गम्भीर मुद्रा धारण गर्यो। राज्यले सायद यस्तो जुँगालाई महत्व दिन्थ्यो ! उसले माइकमा भन्यो, ‘आदरणीय महिला तथा सज्जनवृन्द ! कृपया शान्त रहनुहोस् र यथायथास्थानमा आसनग्रहण गर्नुहोस् !’
उसले श्रीपेचजस्तो सक्कली ढाकाको टोपी लगाएको थियो।
उसको धोद्रो स्वरले भीडको गुनगुन र कल्याङमल्याङ रोकियो। उभिएकाहरू आआफ्नो नजिक राखिएका बेन्चमा नितम्ब ओछ्याएर बसे। उनीहरू जुँगेले के भन्ला भनेर एकोहारिए। अब एकाएक त्यो सुरुङजस्तो लाम्चो कोठाभरि मुर्दास्थिति जन्मियो। काठका बेन्चहरूमा गम्भीरतापूर्वक विराजमान भीड र तिनका टाउकाले मोटेको ओजश्वी व्यक्तित्वलाई बुझेर हो वा आत्मअनुशासन बोध गरेर हो, उसका हरेक आग्रहलाई टुलुटुलु हेर्दै हुबहु पालन गरिरहे।
तर मेरो टाउको भने फनफनी घुम्न थाल्यो जो श्रीपेचजस्तो टोपीबिना नांगै थियो।
मलाई त्यो वातावरण कृत्रिम हुँदै गइरहेको लाग्न थाल्यो। मभित्र क्रोधको भाव सल्बलायो। मैले सम्पूर्ण भीडलाई चुनौतीको आँखाले हेरेँ। भीडको अनुहार देखेर मलाई लाग्यो- यो भीड हाम्रो जमानाको एउटा यस्तो आज्ञाकारी गधा हो जसको शब्दकोशमा आज्ञापालनभन्दा अर्को शब्द नै छैन। अर्थात् आज्ञापालन उसको युगधर्म हो, उसको समयको पदचाप हो।
मोटेजुँगे बिग्रेको टेपरिकर्ड पड्केझैं फतफताउन थाल्यो-
‘अँ त साथीहरू ! ...ए प्लस बी होल स्क्वायर इज इक्वल टु ए स्क्वायर प्लस ट्वाइस ए बी प्लस बी स्क्वायर।’ ऊ सूत्रमा बोल्न थाल्यो।
सूत्रमा बोल्न सजिलो हुन्छ। त्यसका निम्ति दिमाग चाहिँदैन। मोटेको छनक हेर्दा उसले आफ्नो दिमाग कतै बन्धकी राखेर त्यहाँ आएको प्रतीत हुन्थ्यो।
‘अँ त साथीहरू ! ए माइनस बी होल स्क्वायर इज इक्वल टु ए स्क्वायर माइनस ट्वाइस ए बी माइनस बी स्क्वायर।’
उसको त्यो चालाले मभित्र जन्मिएको द्रोह बनमारा झारझैं व्यापक भएर हुर्किन थाल्यो।
म यहाँ आएदेखि यो संस्था यस्तै थियो। प्रचण्ड गर्मीको एक दिन म यहाँ भर्ना भएको थिएँ। मनमा धमिला सपना थिए। शरीरमा उमंग थियो। तर, चाँडै नै सपनाहरू भत्किए। मनभित्र विषादको राक्षस आएर बस्न थाल्यो। हुन पनि यहाँ आयोजना गरिने कुनै पनि कार्यक्रम, भेला वा गोष्ठीहरू यस्तै निम्छरा हुन्थे। साथीहरू, सज्जनहरू, महिलाहरू, पुरुषहरू...। सभापति महोदय, प्रमुख अतिथिज्यू, अतिथिज्यू आदि आदि। मा... स्साला ! यस्तो फाल्तु कुरा सुन्न यहाँ मानिस होइन भीड आउँथ्यो। मानिस यसरी हाकाहाकी भीडमा कायाकल्प भएको अश्लील दृश्य देखेर मेरो मन रन्थनिन थालेको थियो।
र, त्यस दिन पनि त्यस्तै भयो।
‘साथीहरू ! हामी यहाँ किन भेला भएका हौं भन्ने विषयमा मैले केही भन्नु छैन। यस विषयमा मभन्दा यहाँहरू नै विज्ञ हुनुहुन्छ। उहाँ हाम्रो युगको महामानव हुनुहुन्थ्यो। समृद्धिको विश्वात्मा हुनुहुन्थ्यो। उहाँको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको छ।’ मोटेले भूमिका बाँध्यो र भीडका केही व्यक्तिलाई मञ्चमा बोलाएर आसनग्रहण गरायो। सभापति, प्रमुख अतिथि र अतिथिहरू क्रमशः मञ्चमा आएर बसे।
मोटेले जसलाई ‘उहाँ’ भनेको थियो, त्यो देशको खलनायक थियो र त्यो मरेको तेह्र दिन भएको थियो।
स्पष्ट छ, कार्यक्रम सुनियोजित र पूर्वनिर्धारित थियो। कार्यक्रमलाई ओजश्वी बनाउन मञ्चपछाडि सेतो भित्तामा विज्ञापनको शक्ति भएका ठूलाठूला अक्षरमा ‘शोकसभा’ लेखिएको कालो तुल टाँगिएको थियो। मृत व्यक्तिको तस्बिर मञ्चको अग्रभागमा राखिएको थियो। तस्बिर निकै ठूलो थियो- झन्डै बागबजारको पर्खालको भित्तामा टाँसिएको विदेशी चलचित्रको पोस्टर जत्रो। मृत व्यक्तिको शिरमा चाँदतोडा चम्किरहेको थियो। त्यो चाँदतोडा भाले कुखुराको सिउरजस्तो थियो।
आसनग्रहण र दिवंगत आत्माको गुणगान सकिएपछि मोटेले जुँगा बटार्दै कार्यक्रमको अर्को चरणको घोषणा गर्यो- प्रमुख अतिथिबाट पुष्पार्पण।
पुष्पार्पणपछि अर्को चरण, मौनधारण।
‘अब म शोकसभामा उपस्थित समस्त भद्रजनमा निवेदन गर्दछु कि दिवंगत आत्माको चिर शान्तिका लागि एक मिनेट मौनधारण गरौं’, मोटेले उही खस्रो स्वरमा भन्यो।
भीड जुरुक्क उठ्यो। पहिले म उठिनँ। जब भीडले आफ्ना क्रूर आँखाले मलाई घुर्न थाल्यो, म पनि उठेँ मन नलागीनलागी।
भीडसँग म हार्दै थिएँ भन्ने सत्यको पूर्वांग थियो त्यो।
अरू निहुरिएका थिए तर म टाउको ठड्याएर उनीहरूको अनुहारमा हेरिरहेको थिएँ। उनीहरूको अनुहारको सतहमा दुःखको भाव देखिए पनि अन्तरमा कपट लुेकेको स्पष्ट झल्किन्थ्यो। उनीहरू आफूभित्रको त्यो कपटलाई सप्रयास दबाइरहेका थिए। भित्री मनमा उनीहरू दुःखी थिएनन्। यस अर्थमा उनीहरू रंगमञ्चमा अभिनय गर्न आएका असफल रंगनेताजस्ता देखिएका थिए।
मौनधारणको त्यो क्षणखण्डमा सम्पूर्ण कोठाभरि एकलासको मसानघाटको जस्तो एकान्त निर्माण भयो। पहिले म स्तब्ध भएँ। त्यसलगत्तै मलाई अट्टहास छोड्न मन लाग्यो। हा हा हा। हा हा हा। हा हा हा।
खासगरी भीडको द्वैध चरित्र देखेर हाँसो विस्फोट भएको थियो। मेरो त्यो आवाज युद्धमा अचानक पड्केको बारुद बनेर कोठाभित्र मडारियो। मैले सोचेँ, अब अनर्थ हुनेछ। भीड बहुलाएर अरिंगालझैं ममाथि खनिनेछ।
प्रायः यस्तो हुन्छ। उल्टो बाटोमा हिँड्नेहरूका निम्ति सुल्टो बाटोमा हिँडेकाहरूले पाठ सिकाउँछन्। आजसम्मको मानव इतिहास त्यसरी नै बनेको छ।
तर, त्यस्तो केही भएन, मानौं भीडको कुनै कान नै थिएन। भीडले मेरो हाँसो नसुनेजस्तो गरेर पचायो। उनीहरूका निहुरिएको अनुहारका आँखाहरू भने भित्रभित्रै बलिरहेका थिए। उनीहरूले एकपटक टाउको उठाए र मलाई घुरेर हेरे। फेरि निहुरिए।
‘ए साले किन हाँसेको ? ’ मसँगै उभिएको एउटा सुपरिचित सहपाठीले चाहिँ मेरो चाकमा चिमट्दै मसिनो स्वरमा भन्यो।
‘यहाँ रुने वातावरण नै छैन, हाँस उठ्ने वातावरण छ त म के गरौं ? ’ म फेरि हाँस्न चाहन्थेँ।
‘देशको एक महापुरुषको निधन भएको छ। त्यसमा तँ निर्लज्ज भएर हाँसिस् ?’ उसले दाह्रा किट्दै भन्यो।
‘यही त भीडको गल्ती हो, व्यभिचारी खलनायकलाई महापुरुष मान्ने !’
‘देशले लेखिसकेको छ, यिनलाई महामानव भनेर। बढ्ता किचकिच नगर। महान् आत्माको शोकसभामा यस्तो अभद्रता सभ्य आचरण होइन।’
मैले उसको जवाफ नदिँदै एक मिनेट बितेछ। मोटे जुँगेले भन्यो, ‘धन्यवाद।’
‘देशको इतिहासलाई नमान्ने ?’ सहपाठी फेरि उचालियो।
‘कसको इतिहास ? निरंकुश भीडले घोकाएको इतिहासलाई तँ देशको इतिहास भन्छस् ?’ मैले ढिलै भए पनि उसकै जस्तो तेबरमा जवाफ दिएँ।
त्यसपछि ऊ बोलेन।
२.
भीड फेरि यथास्थितिमा फर्किसकेको थियो। मोटेको धन्यवादपछि सबै बेन्चमा बसिसकेका थिए। तर, उनीहरूका आँखा अब मञ्चतिर होइन, मतिर एकोहोरिएका थिए। कहिलेकाहीँ आँखाहरू विशुद्ध आँखा नभएर अरू नै वस्तु बनेका हुन्छन्। तिनीहरू हिंस्रक जनावरका तीखा दाँतझैं धारिला देखिन्छन्। अथवा ती बलिरहेको ज्वालामखुीको मुस्लोझैं आक्रामक बन्छन्।
ती आँखाहरूले एकातिर मेरो महत्व बढाएको भए पनि मभित्र नजानिँदो सकसले ठाउँ लिइरहेको थियो। म बालुवामाथिको माछा बन्न थालेको थिएँ।
मञ्चबाट मोटेले जुँगा मुसार्दै प्रवचन कार्यक्रम सुरु भएको उद्घोष गर्यो।
‘तँ जसलाई भीड भन्छस्; त्यो तँभन्दा धेरै शालीन, धैर्यवान् र अनुशासित छ। देखिनस् तेरो यत्रो उत्पातमा पनि समारोहमा सहभागी कसैले तेरो असभ्यताविरुद्ध अवाञ्छित प्रतिक्रिया जनाएन’, सुपरिचित सहपाठीले रिसाउँदै फेरि थप्यो।
एकछिन थामिएर फेरि उसले भन्यो, ‘तर तैंले तेरो आत्माको रुपान्तरण गर्नुपर्छ। नत्र यो व्यवस्थामा तँलाई रहने अधिकार छैन।’
उसको सल्लाहलाई मैले उदासीन भावले उपेक्षा गरेँ।
कार्यक्रमको त्यो चरणअन्तर्गत विभिन्न वक्ताले मञ्चबाट सम्बोधन गरे। उनीहरू सबैले देशमा भूमिगत भएको विपक्ष वा निर्वासनमा बसेको प्रतिपक्षलाई धज्जी उडाए। सबै वक्ता एकअर्कालाई उछिन्दै देशको भार काँधमा बोकेर हिँड्न सक्छु भनेर गुड्डी हाँकिरहेका थिए। अब विस्तारै शोकसभाका खलनायक अर्थात् दिवंगत राष्ट्रवादी महादानव ओझेलमा परेका थिए र उसको स्थानमा वक्ताहरूले आफूलाई लिन थालेका थिए।
पहिलो वक्ता- ‘म विकासको मूल फुटाउँछु।’
दोस्रो वक्ता- ‘होइन होइन, समृद्धिको रथ म गुडाउँछु।’
तेस्रो वक्ता- ‘उग्रवादीलाई म तह लाउँछु।’
चौथो वक्ता- ‘होइन होइन, अराष्ट्रिय तत्वको काल ममात्र हुँ। ममात्र सबै रोगको एकमात्र समाधान हुँ।’
पाँचौं वक्ता- ‘जय देश, जय नरेश। राष्ट्रवाद जिन्दावाद।’
वक्ताहरूको प्रतिबद्ध गर्जन सुनेर भीड मन्त्रमुग्ध बनेको थियो तर म भित्रभित्रै छटपटिँदै थिएँ। केही समयपछि म त्यहाँ बस्न सकिनँ र एउटा लुते चोरजस्तै सुटुक्क बाहिर निस्किएँ। मसँगै बसेको सुपरिचित पनि मलाई पछ्याउँदै बाहिर आयो।
मौसम फेरि बदलियो। केही समयअघि आकाशमा उठेको कालो बादल हटेर जेठ महिनाको तानाशाही घाम शासन गरिरहेको थियो। कमेरोजस्तो त्यो सेतो घाममा मेरा आँखाहरू बिझाए र चाउरिए। म सडकछेउको सुकेको घाँसतिर बढेँ र एउटा रूखको छायाँमुनि घुस्रिएँ। म सुस्ताउन नपाउँदै मेरो सुपरिचित सहपाठीले भन्यो।
‘यो विश्वविद्यालय राष्ट्रिय सम्पत्तिको सर्वनाश हो। मेरो शक्ति भए म यसलाई आजैबाट बन्द गरिदिन्थेँ।’
‘किन ? ’
‘किनकि यसले तिमीजस्ता अराजक देशद्रोहीहरू जन्माइरहेछ।’
‘मजस्ता अराजक देशद्रोही ?’
‘हो त तिमीले अघि जुन व्यवहार प्रदर्शन गर्यौ, त्यो देशद्रोहको उदाहरण हो। तिमीजस्तो मेधावी विद्यार्थीले यस्तो हरकत गर्न नहुने ! म आज धेरै दुःखी भएको छु। तर म तिम्रो भलो चाहन्छु। अहिले म त्यति भन्न मात्र आएको।’
त्यसपछि ऊ अमिलो मुख लगाउँदै आएकै दिशातिर लुरुलुरु फर्कियो।
एकैछिनपछि शोकसभा कक्षबाट दुई स्त्री चरित्र यता आए र चौरको अर्को कुनाको बैंसको रूखमुनि बसे। मैले उनीहरूको अश्लील लावण्यलाई सहज आँखाले पढेँ। तिनीहरू उत्तेजनाको अर्को उन्मादमा थिए। ‘ही इज गुड फर अ ले’, एउटीले मुख फोरेर भनी। के भन्या त्यो ? के उसले मलाई सुताउने ? उसको कथनले एकछिन मेरो मनमा पनि यस्तो प्रतिक्रियावादी विचार आएर बास बस्यो,
‘यस दे आर भेरी गुड फर अ ले।’ तर, तुरुन्तै म ओइलाएँ किनकि तिनीहरूले मलाई यसरी घुरेर हेरे मानौं तिनीहरूको आँखामा जालन्धरकी पत्नीको सतित्व हरण गर्ने भगवान् विष्णुको दिव्यास्त्र थियो। म तिनीहरूको हेराइमा टिक्न नसकेपछि पलायन गर्दै बसबिसौनीतर्फ लागेँ।
उनीहरू भुस्याहा कुकुरले गल्लीकी कुकुर्नीलाई जस्तै मलाई पछ्याउँदै आए। अर्थात् म कुकुर्नी र उनीहरू कुकुर !
३.
यस्तो बेकारको द्वन्द्व किन निम्तियो, यसको सबै पृष्ठभूमि भन्न सक्दिनँ म। तर, यो अवस्था अझै बढी जटिल भएर विकास भयो।
बस बिसौनी खाली थियो। त्यहाँ न बस थियो न त पढेर घर फर्कन लागेका विद्यार्थी थिए। म बिसौनीमा आएर बेन्चमा बसेपछि पहिलेका दुई स्त्री चरित्रहरू मतिर हेरेर सुसेल्न थाले। उनीहरूले सुसेलेपछि मेरो मनमा प्रश्न जन्मियो, के म कुनै अबला हुँ ?
(अपला चपला हरू एक सुरमा
गुनकेशरीको फूल लि शीरमा।।)
केही समयपछि शोकसभाको भीड बाहिर आयो र यता बसबिसौनीतिर बढ्यो। ती दुई स्त्रीचरित्र पनि आफ्नो वर्गीय स्वभावअनुसार आगन्तुक–भीडमा मिसिए।
‘त्यइ मोरो त हो। रियाक्सनरी साले। हेर त भागेर यहाँ पो आइपुगेछ !’ भीडमा मिसिएपछि एउटीले भनी।
‘च्व च्व च्व। बिचरा पचाउरे !’ अर्कीले थपी।
भीड क्रमशः स्त्रीलिंग र पुलिंगमा विभाजित भयो। त्यसै बेला साझा यातायातको खाली बस आइपुग्यो। भीड ठेलमठेल गर्दै बसभित्र पस्यो। बस एकाएक गर्भ बोकेकी क्लान्त आइमाईजस्तो भयो। म भीडको बाढीले हुत्याइएर बसको माझ खण्डमा पुर्याइएँ।
म उभिएको थिएँ।
त्यसै बेला योजनाबद्ध रूपले बसभित्रको भीडलाई ठेल्दै उही दुई स्त्रीपात्र आए र ठीक मेरोपछाडि उभिए।
‘एइ मोरी कुरा गर न।’ एउटीले मलाई घचेड्दै तर आफ्नी साथीलाई भनी।
‘अँ मोरी तैं भन्न त आजको मौसम कस्तो छ ?’ सँगैकी अर्कीले फेरि मलाई घुच्याई र उसलाई सवाल गरी।
‘आजको मौसम ठ्याक्कै भूतबंगलाजस्तो छ !’
‘भित्र पनि खोक्रो बाहिर पनि खोक्रो हो कि क्या हो ?’
‘हैन मोरी, बाहिर चोक्टा, भित्र झोल। दिल बिच्क्याउने !’
त्यसपछि तिनीहरू मरिमरि हाँसे, शोकसभा स्थलमा मैले हाँसेको भन्दा पनि क्रूर शैलीमा।
मैले आफ्नो उद्धारका लागि अगाडि हेरेँ। अगाडि उही सुपरिचित सहपाठी उभिएको रहेछ। दुई स्त्रीपात्रको हाँसोपछि ऊ पछाडि फर्कियो र मलाई सहानुभूति गरेको भावमा होच्याएर हेर्यो।
‘तिमीले यस्तो गर्न नहुनी। तिम्रो कारणले आज सारा युनिभर्सिटी दुःखी छ।’ उसले भन्यो।
‘मैले के गर्नुपर्थ्यो ?’
‘एउटा महामानवको निधनमा तिमी दुःखी भएनौ।’
‘यस्तो ढोंग गर्न सक्दिनँ म।’
‘ढोंग रे, वाह ! समारोहमा कस्ताकस्ता प्रज्ञानले सम्पन्न महाजनहरू प्रवचन गर्न आएका थिए, तिमीले आफ्नै आँखाले देखेका हैनौ ?’
‘यस्तै तथाकथित महाजनहरूको नक्कली प्रवचन र भाषण सुन्दासुन्दा म बहिरो हुन आँटेको छु।’
‘वादे वादे जायते तŒवबोध। के राष्ट्रिय विचार र राष्ट्रिय चिन्तनको विषयमा वादविवाद हुनु नराम्रो हो ?’
‘के तिमीलाई शोकसभामा वक्ता बन्ने अवसर दिइएन ? तिम्रो अहिलेको छटपटी देख्दा त यस्तै लाग्यो मलाई।’
‘के भन्या तिम्ले ?’
‘मलाई लाग्छ यो देशलाई अरू दस हजार वर्षसम्म पुग्ने भाषण बान्ता भइसकेको छ।’
‘तिम्रो र मेरो विचार यहीँ आएर फाट्छ।’
‘मेरो त कुनै विचार नै छैन। म विचारहीन जनावर हुँ।’
‘त्यसो भए तिमीलाई कन्भिन्स गरेर राष्ट्रवादी बनाउनु निरर्थक कर्म हो। निदाएको मानिसलाई पो ब्यूँझाउन सकिन्छ, तर ननिदाईकन निदाएको नाटक गर्नेलाई कसरी ब्यूँझाउन सकिन्छ ?’
त्यति भनेर ऊ भीड छिचोल्दै अगाडि गयो।
विचरा साझा बस आफ्नै गतिमा गुडिरहेको थियो।
४.
सुपरिचित सहपाठी अगाडि गएपछि म केही हल्काफुल्का भएको थिएँ तर त्यसै बेला फेरि मेरोअगाडि रहेको अर्का एउटा बलिष्ठ पुरुषचरित्र र पछाडिका उही दुई पुतना सक्रिय भए। बसको माझमा डन्डी समाएर उभिए पनि मेरो शरीरको सन्तुलन बिस्तारै गडबडाउन थाल्यो। पहिले अगाडिको पुरुषले आफ्नो सम्पूर्ण शक्ति लगाएर उसको भद्दा शरीरले मलाई ठेल्यो।
उसको शरीर दन्त्यकथाको फलामको राक्षसजस्तो कठोर थियो। त्यसपछि पछाडिबाट उनीहरूले मलाई पेल्न थाले। मैले पछाडि फर्केर हेरेँ, पुतनाहरू मलाई काँचै निल्न व्यग्र देखिएका थिए। उनीहरूका चार थान ताता थलथले मांसल भूगोलहरू मेरो शरीरविरुद्ध युद्धरत थिए। त्यो युद्धमा कुनै पनि मानवोचित संहिताले काम गरिरहेको थिएन।
उनीहरूको राक्षसी आक्रमणमा पहिले मेरो पिठ्यूँ, त्यसपछि कम्मर र त्यसपछि जाँघ पराजित भए। त्यसपछि म सम्पूर्णमा अपांग भएँ। त्यसपछिको विद्रूप मध्यरातमा नेपाल अधिराज्यको कालो कानुन उल्लंघन गरेको आरोप लगाएर मलाई गिरफ्तार गरियो। .