तलब नपाएका कर्मचारीकाे गुनासो : दसैंमा सन्तानलाई के खुवाउने ?
गाईघाट : संघीय व्यवस्थामा गएपछि झनै सहज हुनुपर्नेमा यहाँका सयौं कर्मचारी बिचल्लीमा परेका छन् । दर्जन बढी सरकारी कार्यालयका कर्मचारीले दसैंको मुखमै तलब नपाएपछि गुनासो गर्न थालेका छन् ।
डिभिजन वन कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास, भू–संरक्षण, सिचाई डिभिजन, महिला तथा बालबालिका, खानेपाली तथा सरसफाई डिभिजन, शिक्षा विकास तथा समन्वय ईकाई, जिल्ला प्राविधिक, जिल्ला अस्पताल, सगरमाथा अञ्चल आयुर्वेदिक, घरेलु विकास समिति लगायतका कार्यालयका सय भन्दा बढी कर्मचारीको तलब रोकिएको हो ।
संघबाट खारेजीमा परेका कार्यालयका थुप्रै कर्मचारीले तलब नपाएपछि गुनासो गरेका हुन् । उदयपुरगढी गाउँपालिकाका सामाजिक शाखा प्रमुख मिनबहादुर कार्कीले भने, ‘परिवारका सदस्यलाई के भन्ने ? दसैंमा नयाँ लुगा लगाउने, मीठो खाने भनेर बसेका सन्तानलाई तलब नपाएपछि के जवाफ दिने ? अब त पसलेले पनि उधारो पत्याउन छोडे ।’
कतिपय कार्यालय त फाजेलामा परेपछि कर्मचारीको जागिर नै अन्योल भएको छ । कामको अख्तियारी नै नपाएपछि उनीहरु दिनभर कार्यालयमा बसेर काम नै नगरेरै साँझ फर्कन बाध्य छन् ।