भुइँमै पशु बध
तेह्रथुम : व्यवस्थित बधशाला नहुँदा तेह्रथुमको आठराई गाउँपालिकामा खुला भुइँमै पशु बध गरी मासु बिक्री वितरण हुँदै आएको छ। सफा मासु बिक्री वितरण गर्न सक्रान्ति बजारमा व्यवस्थित बधशाला निर्माण गर्न सरोकारवालाले कुनै चासो नदेखाएपछि उपभोक्ता खुला भुइँमा काटेको अस्वस्थ मासु खान बाध्य भएको उनीहरूको गुनासो छ।
आठराई क्षेत्रका दर्जनभन्दा बढी गाउँ र ताप्लेजुङको व्यापारिक केन्द्र सक्रान्ति बजारमा अहिलेसम्म व्यवस्थित बधशाला छैन। बधशाला निर्माणका लागि सम्बन्धित निकायले ध्यान नदिँदा बर्खामा हिलो लागेको र हिउँदमा धुलोसहितको मासु खान बाध्य भएको स्थानीय खाम्लालुङकी मेन्छिमाया तामाङले गुनासो गरिन्। उनले भनिन्, ‘नखाउँ खान मन लाग्छ, कहिल्यै सफा मासु खान पाइएन।’
वर्षौंदेखि मासु व्यापारीले बीच बाटोमै मासु बेचिरहेका छन्। तत्कालीन जिल्ला पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ र गाउँपालिकालाई पटक पटक बधशाला निर्माण गर्न माग गर्दा पनि कुनै पहल नभएको मासु व्यापारी डम्बर योञ्जनले बताए। ‘बधशाला नभएपछि भुइँमै मासु बेच्न बाध्य छौं’, उनले भने।
आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारमा हरेक महिनाको १ गते, औंसी र पूर्णिमाको दिन हटिया लाग्ने गर्छ। ५० भन्दा बढी होटल रहेको सक्रान्ति बजारमा दैनिक मासु खपत बढे पनि सम्बन्धित निकायको बेवास्ताले बधशाला बन्न नसकेको मासु व्यवसायी ज्ञानेन्द्र कन्दङवाले बताए। उनले भने, ‘मासु व्यवसायी आफैं मिलेर पैसा पनि जुटायौं तर बधशाला बनाउने ठाउँ नै पाइएन।’
मध्यपहाडी लोकमार्गसँगै जोडिएको सक्रान्ति बजारमा सडक किनारामा बसेर व्यापारी मासु बेच्न बाध्य छन्। गाउँपालिकाले उनीहरूसँग कर उठाए पनि सेवा भने दिन सकेको छैन। आठराई गाउँपालिकाकाले बधशाला निर्माण गर्न आर्थिक वर्ष ०७५/७६ मा पाँच लाख बजेट विनियोजन गरेको छ। तर उचित स्थानको अभावमा उक्त योजना सञ्चालन हुन समस्या रहेकोे मासु व्यावसायीको भनाइ छ।