किशोरावस्थामै उदासीको पिरलो
काठमाडौं : घरपरिवार छ। तलब आकर्षक छ। साथीभाइको भन्दा रामै्र प्रगति छ। एकाग्र हुनै सकिरहेको छैन। तर पनि जीवनदेखि दिक्क लाग्छ। दैनिक क्रियाकलापमा डिस्टर्ब हुन थालेपछि उनी जँचाउन गए। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ मनोचिकित्सक प्राडा.सरोज ओझाले केही बेर सम्झाए। डा.ओझाले भने, ‘तनाव वा चिन्ताको सुरुवाती लक्षण नै एकाग्रता नहुनु हो। सकारात्मक सोच्नुस्। तनाव नलिनुस्।’
अहिले जुनसुकै उमेरका नेपाली पनि विभिन्न खालको मानसिक समस्याले पिरोलिएका छन्। किशोरावस्थादेखि नै उदासी र चिन्ताले धेरैलाई पिरोलिरहेको मनोचिकित्सकहरू बताउँछन्। वरिष्ठ चिकित्सा मनोविद् डा.पशुपति महत वैदेशिक रोजगारीमा गएका घरपरिवारमा निराशा तथा चिन्ताजन्य समस्याले बढी सताएको बताउँछन्। उनी भन्छन्, ‘गरिबी, घरायसी झगडा भइरहेको घरमा हुर्कने बच्चामा समेत दिक्दारी, चिन्ता थपिने गरेको छ।’
उदासी र चिन्ताले गरिखाने उमेरका युवायुवतीलाई अझै सताएको छ। बौद्धिक क्षमता बढाउने, करिअर निर्माण गर्ने बेलामा बेरोजगारीका कारण जीवन असहज भएपछि धेरैले एक्लोपन महसुस गर्छन्।
निराशा एवं चिन्ताले सताएपछि कतिपयले आत्महत्याको बाटो रोज्छन्। गएका १० वर्षमा देशभरि झण्डै ३० हजारले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ। आत्महत्याको दर बढेर २०७३÷७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। २०७४÷७५ मा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए।
डा.महतका अनुसार आत्महत्या गर्नेमध्ये झण्डै ८५ प्रतिशतमा लामो समयदेखि डिप्रेसनमा रहेको पाइएको छ। उनी भन्छन्, ‘उदासीकै कारण आत्महत्या गर्ने क्रम ह्वात्तै बढेको छ। रिसको झोंकमा, व्यक्तित्वमा असर परेर तथा मदिरासेवन गरी आत्महत्या गर्नेहरू थोरै छन्।’ पढाइ कमजोर हुँदा र परिवारका सदस्य बिरामी पर्दा आत्तिने, डराउने गर्छन्।
पुरुषभन्दा महिला बढी तनावग्रस्त हुने पाइएको छ। ३२ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार गराएका ४९ हजार ९ सयमध्ये ६३ प्रतिशत महिलामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी नेपाल) ले जनाएको छ।
मानसिक समस्याले सताइएका मध्ये सबैभन्दा धेरैमा चिन्ताजन्य रोग पाइएको छ। डा.महतका अनुसार ४३ देखि ४८ प्रतिशतमा चिन्ताजन्य रोग (एनजाइटी डिस्अर्डर) देखिएको छ। २० देखि २८ प्रतिशतमा उदासी तथा निराशा (डिप्रेसन) भएको पाइएको छ। झण्डै ४ प्रतिशतमा मात्र कडा खालको मानसिक समस्या भएको छ।
लैंगिक हिंसा, घरायसी बोझ, सामाजिक लाञ्छना, स्वास्थ्य समस्यालगायत कारणले महिलामा उदासी एवं चिन्ता हुने गरेको मनोविद् करुणा कुँवर बताउँछिन्। उनी भन्छिन्, ‘महिलाहरू घरबाहिर निस्केर आफ्नो चाहना पूरा गर्न पाएका छैनन्। इच्छाचाहना दबाएर बस्नु पर्दा उदासी बढेको छ।’
मानसिक समस्याले राति ननिदाउनेहरू बढिरहेका छन्। अबेरसम्म उनीहरू सामाजिक सञ्जालमा रमाउने गरेको मनोचिकित्सकहरू बताउँछन्। समस्या झेलेर समाधान निकाल्ने हो। तर युवायुवतीहरू समस्या आइपर्ने बित्तिकै उदास हुने र चिन्ता लिने गरेको डा.ओझा बताउँछन्।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ मानसिक समस्या देखिए मायालु व्यवहार गर्ने, उनीहरूको मनको कुरा सुनिदिनु पर्ने बताउँछन्। उनी भन्छन्, ‘आत्महत्याको लक्षण देखिए बेवास्ता नगरी साथीभाइले पनि उपचार प्रक्रिया सहयोग गर्नुपर्छ।’