तलब नपाएपछि ऋण खोज्दै कर्मचारी
बैतडी : कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्द शुक्रबार दिनभरि कार्यालयको अख्तियारी आउने आशामा थिए। अख्तियारी आउला र सबै कर्मचारी तलब बुझेर घरतिर लागौंला भन्ने सोचेका उनी निरास भए। ‘सरकारी जागिरको २६ बर्से यात्रामा पहिलो पटक दसैंमा तलब नपाइएको हो’, उनले भने, ‘दसैंको मुखमा पनि तलब नपाउँदा निकै खल्लो लागेको छ।’ कार्यालयका अन्य कर्मचारी पनि निरास छन्।
प्रदेश सरकार मातहत स्थापना भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कर्मचारीले पनि दसैंको मुखमा तलब पाएका छैनन्। ‘दसैंमा त कसो तलब नआउला भनेर सोचेको तर अब आशा मरिसक्यो’, पशुसेवा प्राविधिक बिसनसिंह विष्टले भने, ‘कार्यालय मात्रै स्थापना भयो। न काम छ, न तलब नै पाइएको छ।’
कृषि ज्ञानकेन्द्रमा कार्यरत कार्यालय सहयोगी दामोदर जोशी पनि तलब नपाएपछि झन् समस्यामा परेका छन्। ‘तलबकै भर थियो, केटाकेटीका लागि नयाँ लुगा किन्न ऋण खोज्न जानुपर्ने भयो’, उनले भने, ‘अरू सबै कर्मचारीले आफन्तबाट ऋण मागिरहेका छन्।’
प्रदेश सरकारमातहत स्थापना भएका कृषि ज्ञानकेन्द्र र भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रजस्तै डिभिजन वन कार्यालयका कर्मचारीले पनि साउन महिनादेखि तलब पाएका छैनन्। दसैंको मुखमा समेत तलब नपाउँदा निकै नरमाइलो लागेको कर्मचारीको गुनासो छ।
साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब नपाएको गुनासो गरेका छन्। साउनदेखिको तलब नपाउँदा कर्मचारी मारमा परेको बृहत जलाधार संरक्षण केन्द्र महाकालीका कर्मचारी रामदत्त पन्तले बताए। उनले भने, ‘हाम्रो त कार्यालय नै स्थापना हुन सकेको छैन। अझ तलब पनि नपाएपछि त झन् के हालत भयो होला ? ’
समयमै अख्तियारी दिई दसैंमा जसरी पनि तलब खुवाउन कार्यालयका हाकिमले प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आए। ‘तर केहीसीप लागेन’, कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले भने, ‘तलब र कार्यक्रमको अख्तियारी विषयमा छलफल गर्न धनगढीसम्म पुगेँ र मन्त्रालय पनि धाएँ। दसैंअघि तलब निकासा हुने आश्वासन पाएको थिएँ। तर, सम्भावना टरेको छ।’
सुदूरपश्चिम प्रदेश सरकारमातहतका केही सरकारी कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए। उनले भने, ‘कृषि ज्ञानकेन्द्र, डिभिजन वन कार्यालय, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, साविकको भू संरक्षण कार्यालयको अख्तियारी आएको छैन। दसैंअघि अख्तियारी आउने सम्भावना न्यून छ।’