बुहारी अन्माउने सासू
भद्रपुर : झापा मेचीनगर–९ की ५८ वर्षीया अञ्जु अधिकारीले बिहीबार विधवा बुहारीको विवाह गराइन्। बुहारी अन्माएर पठाएपछि उनका घर सुनसान बनेको छ।‘बुहारीलाई नयाँ जीवन दिनु थियो’, उनले आँसु झार्दै भनिन्, ‘म खुसी छु तर बुढेसकालमा घर सुनसान हुँदा खल्लो लाग्दो रहेछ।’ उनका नाति घरआँगन, कोठामा खेल्थे, बुहारीसँग साँझ सुख–दुखको गन्थन हुन्थ्यो। शनिबार साँझ ढल्किँदै गर्दा पिंढीमा बसेर उनी बत्ती काढ्दै थिइन्।
उनले बिहेमा बुहारीको खुट्टा ढोग्न पनि अप्ठेरो मानिनन्। अरूले भने, ‘खुट्टा नै किन छोएकी ? ’ उनले छोरो १९ वर्षकी केटी लिएर ठिंग आँगनमा उभिएको स्मरण गरिन्। त्यति बेला उनका छोरो टाउको निहुर्याएर उभिएको र डरले बोल्न सकेको थिएन। ‘तर, बुहारी दीपाले सिधै आएर मेरो खुट्टा ढोगिन्’, उनले स्मरण सुनाइन्, ‘मलाई जन्म दिने आमा बितेको एक वर्षमा हजुरलाई आमा भन्न आइपुगेकी छु, म पनि हजुरकी छोेरी नै हुँ, हामीलाई स्वीकार गर्नुहोस् भन्दै रोएकी थिई।’
उनले दीपाका खुट्टा पनि तिनै दिन सम्झेर ढोगिन्। उनका दुई छोरीलाई त आपूmले जन्माएकी थिइन्। उनीहरूलाई मायासँगै कर्तव्य पनि थियो आफूले गर्नुपर्ने। तर, बुहारीलाई कन्यादान गर्दा उनको मायाले आफूले ढोगेको उनले सुनाइन्। सासू–बुहारी कसको पो ठाकठुक पर्दैन र ! तापनि, दीपा सासूसित रिसाएर बस्नै सक्दिनथिन्। ‘आमा के खाने ? आज व्यापार कस्तो भयो भनेर सोधिहाल्थी’, अञ्जुले सम्झिइन्, ‘पछि–पछि मसँगै पाथीभरा मन्दिरमा पूजाका सामग्री लिएर जान थालिन्। अनि, माया लागिहाल्थ्यो। फेरि हाँस्ने–रुने गरिन्थ्यो।’
त्यसो त दीपा कहिलेकाहीं उनीसँग झगडा गर्थिन्, कहिले घुर्की लगाएर माइत पुग्थिन्। तर, दुई दिनमै फर्किहाल्थिन्। उनको बिहे गराइदिने, नयाँ घरबार बसाइदिने सोच पहिलेदेखि नै अञ्जुको। तर, परिस्थिति र लगनले यतिका वर्षपछि जुरेको उनको भनाइ छ। ‘बुहारीको सिउँदोमा सिन्दुर हाल्ने बेला शरीर नै सिरिंग भयो’, उनले भनिन्, ‘बाहिर बस्नै सकिनँ।’
उनका अनुसार दीपाका पति श्रीमतीले छाडेका रहेछन्। दुई छोरा र घरसँगै ट्राभल एजेन्ट पनि सम्हाल्दै आएका। अब घरव्यवहार सम्हाल्न सके दीपाले सुख पाउने र छोरा पढाउन सक्ने अञ्जुको विश्वास छ।
बिहेका लागि आएका पाहुना शनिबार हिँडे। अञ्जुका हातखुट्टा काममा लागेनन्। त्यति बेलै दीपाको फोन आयो, ‘आमा के गर्दै हुनुहुन्छ ? खाना बेलामा खाना खाएर मन्दिर जानु नि।’ ‘मैले भनें, तिमी खुसी छौ ? ’, उनले भनिन्, ‘खुसी हुनुपर्छ आमा भन्दै भक्कानिएको आवाजमा फोन छोरोलाई दिइन्।’ नातिसँग पनि बोलिन् उनी। आइतबार मैतालु फर्काउन आउँछन् भन्दै उनले काँधबाट सल झिकेर आँसु पुछ्न थालिन्।