दसैंमा नि:शुल्क घर पाउँदा भक्कानिए श्रेष्ठ दम्पती
विराटनगर : विराटनगर-१ परोपकारघाटकी ६३ वर्षीय सुशीला श्रेष्ठका आँखाबाट आँसु थामिएका थिएनन्। छेउमा रहेका पति लालबहादुर उनलाई संझाउने प्रयास गरिरहेका थिए। पत्नीको रुवाईसँगै उनी पनि गम्भीर देखिन्थे।
श्रेष्ठ दम्पत्तीकै लागि भनेर बनेको एक तले सेतो र आकाशे निलो रङको कर्कटपाताले छाएको घरको अगाडि बसेकी सुशीलाले आँसु थाम्न नसकिरहँदा त्यहाँको माहोल नै भिन्न बनेको थियो।
१३ महिना लगाएर बनाइएको घर विपन्न श्रेष्ठ दम्पत्तीलाई दसैंमा निःशुल्क रुपमा हस्तान्तरण गरिएको हो। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आइतबार घर हस्तान्तरण गरेका हुन्।
गत वर्ष साउनमा आएको बाढीले घर बगाएपछि श्रेष्ठ दम्पत्ती कष्टकर जीवन विताउन बाध्य थिए। खुल्ला आकाश मुनी समय बिताउँदै आएका उनीहरु ओत लाग्ने घर पाउँदा खुसी देखिन्थे। घरबारबिहीन भएको बेला दसैंमा घर उपहार पाउँदा सुशीलाले भने आँशु थामिन सकिनन्। 'बाढीले घर बगाएपछि खुल्ला आकाशमुनी बस्नु परिरहेको थियो,' उनले भनिन्, 'गत वर्षको दसैं आयो की आएन थाहा भएन। यस वर्ष भने उपहार पाएको घरमै जसोतसो गरी मनाउँछौं।'
घर प्रवेशका क्रममा सुशीलाले विगतका दुःख र कष्ट सम्झिदा भक्कानो छुटेको बताइन्। कुर्सीमा बसेर उनी एकोहोरो मुख छोपेर रोइरहिन्। दुई वर्ष अघि बिरामी परेकी सुशीलाको शरीरका आधा भाग चल्दैनन्।
'बाढीले घर बगाएपछि हामी घरबिहीन बनेका थियौं,' लालबहादुरले भने, 'दसैंका मुखमा घर पाएपछि सुखी लाग्यो।' घरमा खानेकुराको अभाव भए पनि दसैं भने जसोतसो टार्ने उनले सुनाए।
रिवन काटेर श्रेष्ठ दम्पत्तीलाई घर हस्तान्तरण गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली ।
श्रेष्ठ दम्पत्तीका छोरा दीपक फुटबल खेल्थे। उनी सम्राट स्पोर्टिङ क्लबका गोलरक्षक थिए। खेल जीवन अघि बढाउने क्रममा २६ वर्षकै उमेरमा २०५६ सालमा दीपकको निधन भएपछि श्रेष्ठ परिवार विक्षिप्त बन्यो। 'बुहारी नातिनी लिएर माइत गएपछि हामीलाई झन तनाव भयो,' लालबहादुरले भने, 'भएको जीवनको एउटा सहारा गुमेको त्यही पीडा अहिलेसम्म पनि जीवितै छ।'
२०५१ सालमा परोपकारघाट सुकुम्बासी टोलमा बस्दै आएको श्रेष्ठ परिवारको आयश्रोत छैन। खानपानका लागि उनीहरु दुवै नजिकका घरछिमेकीको भर पर्छन्। केही समय अघिसम्म मिस्त्री गर्दै आएका लालबहादुरले पनि मुटुमा समस्या देखिएपछि काम छाडे।
बाढीले घर बगाएपछि सहारा खोज्दै हिंडिरहेका श्रेष्ठ दम्पत्तीलाई अखिल नेपाल फुटबल संघका रेफ्री विक्रम कार्कीले भेटे। छोरा दीपकको फुटबलसँगको साइनोले पनि श्रेष्ठ दम्पत्तीलाई रेफ्री कार्कीसँग नजिक्यायो। कार्कीले त्यतिबेलै उनीहरुलाई घर निर्माण गरेर हस्तान्तरण गर्ने बचन दिएका थिए। त्यही योजनाअनुरुप कार्कीकै सक्रियतामा विभिन्न ठाउँबाट सहयोग जुटाएर घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।
घर निर्माणमा दुई लाख ५१ हजार रुपैयाँ खर्च भएको उनले बताए। रेफ्री कार्कीका अनुसार घर निर्माणका लागि राउत कन्सट्रक्सन, विराटनगर महानगरपालिका, सेन्ट म्यारिज स्कुल , वडा कार्यालय समेतले सहयोग गरे।
घर निर्माण र बाढीका समयमा श्रेष्ठ दम्पत्तीलाई खानपानमा सहयोग गरेका कार्कीले अझैं पनि बजारबाट घर निर्माणका लागि ल्याएको सामानको ४५ हजार रुपैयाँ तिर्न बाँकी रहेको बताए। 'पैसा तिर्न बाँकी रहे पनि बाढीका कारण समस्यामा परेका एउटा परिवारलाई घर निर्माण गरेर पुनस्थापना गराउन सकियो,' सामाजिक काममा सक्रिय रहेका कार्कीले भने, 'यसरी पीडामा परेकालाई सहयोग गर्नु समाजसेवा हो भन्ने लाग्छ।'
श्रेष्ठ दम्पतीका लागि निर्माण गरिएको घर।