अझै बनेन अस्पताल जाने बाटो
प्यूठान : जिल्ला अस्पताल बिजुवार जाने बाटो अप्ठ्यारो हुँदा बिरामीलाई सास्ती भएको छ । दिनहुँ एम्बुलेन्स ओहोरदोहोर गर्ने मूख्य बाटो नै बिग्रिएपछि बिरामीले समस्या ब्यहोर्नु परेको हो ।
बाटो बिग्रेको वर्षौँ बितिसक्दा समेत सम्बन्धित निकायले बेवास्था गरिदिएपछि त स्थानीयको गुनासो बढ्दो छ । बिजुवार बजार चोकहुँदै अस्पताल छिर्ने उक्त सडकको ग्रावेल उप्किएपछि गाडी ओहोर दोहोरमा नै कठिनाइ भएको हो । ‘सुत्केरी महिलालाई लैजान झनै गाह्रो पर्छ’, एम्बुलेन्स चालक सुशील केसीले भने, ‘बाटो मर्मत गर्न कसैले ध्यान दिएका छैनन् ।’
अस्पताल जस्तो संवेदनशील क्षेत्रको बाटो दुई वर्षभन्दा अघिदेखि बिग्रिएको हो । बाटा बिग्रिएर एम्बुलेन्स तथा अन्य सवारी चल्न नसक्दा मोटरसाइकलमै बिरामी बोक्नुपर्ने स्थानीय बताउँछन् ।
दसैंअघि सामान्य मर्मत गर्ने योजना भए पनि काम हुन सकेन । ६ मिटरको सडक स्तरोन्नतीका लागि गत वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन भयो तर उक्त रकम अन्यत्रको बाटो निर्माण भयो ।