गाउँघरमा बज्नै छाडे सहनाई
स्याङ्जा : नवदुर्गा सुरु भएपछि गाउँघरमा बजाइने सहनाई बाजा हिजोआज बज्न छाडेका छन्। पुराना पुस्ताले सहनाई बाजाको राग बिर्सदै गएका छन् भने नयाँ पुस्ताले नवदुर्गामा बज्ने सहनाई बाजाको महत्व र राग बुझ्नै पाएका छैनन्।
विभिन्न शुभ कार्य होस् वा धार्मिक कार्य। नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ। पंञ्चैबाजाअन्र्तगत पर्ने सहनाई, दमाहा, झ्याली, ट्याम्को र ढोलकी नेपाली धार्मिक तथा सांस्कृतिक बाजाको रुपमा लिइन्छ।
चाडवाड, विवाह, ब्रतबन्ध, जात्रा, रोपाई, पूजा तथा सामाजिक उत्सवका बेलामा पनि यी बाजाहरु बजाइने गरिन्छ। एक दशकयता स्याङ्जा सदरमुकाममा सहनाई बज्न छाडेको जानकारहरु बताउँछन्। पुतलीबजार नगरपालिका- १ कालाखोला निवासी छवे दमाइको निधनपछि सहनाई बज्न छाडेको पुतलीबजार नगरपालिका १४ का शिव नेपाली बताउँछन्।
'बाबु मरेर गए, छोराले सहनाई बजाएनन् उनले भने, 'सहनाई बज्न छोडेपछि गाउँघरमा दसैं आएजस्तो लाग्दैन। रागले मन आनन्दित बनाउँछ। वर्षभरिका दुख, पीडा र पीरलाई पनि बाजाको राग (धुन) ले बिर्साउने गर्थो।'
सहनाई बजेपछि गाँउघरको वातावरण आनन्दीत र रमणीय बन्छ । यस्ता बाजाका रागहरु धेरै किसिमका हुने र अत्यन्त मर्मस्पर्सी हुने पनि नेपालीको भनाई छ। ' गाउँघरमा सहनाई नबज्दा दसैंको रौनक नभरिएको जस्तो लाग्ने गरेको छ, पुतलीबजार निवासी भोला लम्सालले भने,' नवदुर्गा सुरुभएसँगै मन्दिरमा घण्ट र सहनाई बज्थे। सहनाईको बाजाले गाउँघरमा रमाइलो थपिन्थ्यो। तर, हिजोआज त्यो कल्पनाजस्तो लाग्न थालेको छ।'
नवदुर्गाको स्थापनापछि आ-आफनो तोकिएका क्षेत्रका घर पुगेर सइनाई बादकले सहनाई (सेवा) राग बजाउने गर्छन्। दुर्गा विर्सजनपछि तीनै घरमुलीको सहनाई बादकलाई दान दक्षिणा, मासु, र खाद्यान्न दिएर बिदा गर्ने प्रचलन रहिआएको छ।