ठूलो पार्टीमा अन्तरविरोध सामान्य हो : योगेश भट्टराई
ताप्लेजुङ : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले ठूला पार्टीमा अन्तरविरोध हुनु स्वभाविक भएको दावी गरेका छन् ।
नेकपाभित्रको खिचातानीलाई लक्षित गर्दै उनले यस्तो ठूलो पार्टीमा अन्तरविरोध हुनु सामान्य अवस्थाको रुपमा ब्याख्या गरे । दसैं मनाउन गृह जिल्ला ताप्लेजुङ आइपुगेका नेता भट्टराईले यस्तो बताएका हुन् । तर त्यस्ता अन्तरविरोधलाई सम्बोधन गर्ने क्षमता नेतृत्वमा हुनुपर्ने बताए ।
नेकपालाई उनले प्रधानमन्त्री बनिसकेका चार नेता रहेको एतिहासिक ठूलो दल भनी प्रसंसा गरे । यसबाहेक कांग्रेसको अन्तरविरोध पनि सतहमै आएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
साथै नेता भट्टराईले दसैं तिहार जस्ता चाडले पार्टीभित्रको विवाद मिलाओस् भन्दै शुभकामना दिएका छन् । प्रेस संगठनद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।