सुदूरपश्चिममा दसैंका लागि बोका- राँगा ओसारिँदै

सुदूरपश्चिममा दसैंका लागि बोका- राँगा ओसारिँदै

डोटी : सुदूरपश्चिम प्रदेशमा दसैंको रौनक सुरु भएको छ। सुदूरपश्चिममा नौ बहिनी भगवतीका मन्दिर रहेकाले हरेक मन्दिरमा बली चढाइने गरिन्छ। अहिले सुदूरपश्चिम बलीमय भएको छ। अष्टमीका दिन दिइने बलीका लागि सुदूरपश्चिमका विभिन्न गाउँगाउँबाट राँगा बोका ओसार्ने क्रम सुरु भएको छ। 

बैतडी दार्चुला, डोटीलगायतका स्थानमा पशुबली बढी हुने गरेको छ। डोटीमा पनि अष्ठमीको दिन बोकाको बली हाल्ने र दसैंको दिन आफूभन्दा मान्यजनबाट टिका थाप्ने र जात्रा तथा रांगाहरु काट्ने चलन छ। अष्ठमीको दिन कालिकाको मन्दिरमा बोका चढाइ बली हाल्ने चलन विशेषगरी सबै समुदायमा रहेको छ।

जोरायल गाउँपालिका- ६ निरौलीमा दसैंको दिन ठूलो मेला लाग्ने गर्छ। सरकारबाट नै सो मेलामा रांगा काट्ने भन्दै रकम समेत दिइने गरिन्छ। 'बिहान आफूभन्दा ठूलाबाट टिका थापेर दिउँसो मेला भर्ने गरिन्छ,' निरौलीका नरेन्द्र साउदले भने। 

'हजारौंको संख्यामा मेलामा दर्शनार्थीको घुईंचो हुने गर्दछ। मेलामा धामी नाच्नुका साथै रांगा समेत काट्ने गरिन्छ,' साउदले भने, ' रांगा गाउँ घुमाएर ल्याउने र मेलामा काट्ने गरिन्छ।' रांगा खरिद गर्न र काट्नका लागि सरकारी निकायबाटै रकम आउने गरेको छ।

डोटीको बड्डीकेदार गाउँपालिकामा भने अझै फरक तरिकाले दसैं मनाउने गरिन्छ। अष्ठमीमा बोकाको बली हाल्नु, दसैंमा मान्यजनबाट टिका थाप्नु सबै समुदायमा उस्त-उस्तै भएपनि बड्डीकेदार गाउँपालिका- ४ मान्नाकापडीमा भने दसैंको टिका पश्चात लाग्ने मेला प्रसिद्ध मेलाको रुपमा लिने गरिन्छ।

सो क्षेत्रमा दसैंको टिकापश्चात् लाग्ने मेला चतुर्दशीसम्म लाग्ने गर्दछ। मेलामा रातदिन देउडा समेत खेलेर रमाइलो गरिन्छ। महिला तथा पुरुषको छुट्टा छुट्टै खेल्ने देउडा खेलमा मुख्य गायक जिल्लाभन्दा बाहिरबाट समेत आउने गर्छन्। 'घटस्थापना देखि टिकासम्म खासै समाइलो नभए पनि टिकाबाट रमाइलो हुने गर्दछ, स्थानीय राम बहादुर सार्कीले भने, 'पाँच दिनसम्म लाग्ने मेलाले गर्दा दसैंको महत्व नै बढाएको छ।'

दसैं र मेलाको सम्बन्ध एक अर्काको रहेकाले मेला  व्यवस्थित गर्न वडा कार्यालयबाट समेत सहयोग हुने गरेको बड्डीकेदार गाउँपालिका-४ का वडा अध्यक्ष बीरेन्द्र कोट्केनीले बताए।

त्यसैगरी शिखर नगरपालिका- ५ तिजालीमा भने केही फरक ढंगबाट दसैंको टिका लगाइने गरिन्छ।  सो क्षेत्रमा सबैभन्दा पहिले गाउँमा रहेको भगवतीको मन्दिरमा सबै जम्मा भई गाउँका सबैभन्दा जेष्ठ व्यक्तिबाट टिका तथा जमरा लगाइने गरिन्छ। 

आ-आफ्नो घरबाट ल्याएको जमरा तथा टिका एकै ठाउँमा राखी सबैभन्दा जेष्ठ व्यक्तिबाट पालै पालो टिका जमरा लगाइने गरिन्छ। सो मन्दिरमा टिका जमरा लागएपश्चात फेरि घरमा आइ आ-आफ्नो घर परिवारबाट टिका जमरा लगाइने गरिन्छ। 'गाउँमा रहेका सबैले आफ्ना सबै मान्यजनबाट टिका जमरा लगाउनुपर्छ, स्थानीय जितेन्द्र सिंहले भने, 'टिकाको लागि गाउँभरी घुम्नुपर्ने र सबैसँग भेटघाट हुने भएकाले एक अर्काको सम्बन्ध समेत प्रगाढ हुने गर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.