राष्ट्रिय नोभिस बक्सिङ मंसिरमा
काठमाडौं : प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ। आयोजक नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले सोमबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका हुन्।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावान खेलाडीको उदय हुने अध्यक्ष अवालेले विश्वास व्यक्त गरे। नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन्।
प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समूहमा विभाजन गरिएको छ। यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ समान पाँच तौल समूह रहेका छन्। महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी र ६० केजी तौल समूह समावेश गरिएको छ।
यस्तै पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ केजी तौल समूह रहेका छन्। यू–२२ वर्षमुनिको महिलातर्फ ६ र पुरुषमा आठ वटा तौल समूह रहेका छन्। महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह समावेश गरिएको छ। यू–२२ वर्षमुनिको पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समावेश गरिएको नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालले जानकारी दिए।
नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले देशभरबाट लगभग एक सय ८० खेलाडीको सहभागिता रहने जानकारी गराए। महिला र पुरुष यू–१९ तथा महिला र पुरुष यू–२२ गरी चार वटै उमेर समूहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक केसीले जानकारी दिए। प्रतियोगिताको लागि अनुमानित बजेट २२ लाख ११ हजार रहेको केसीले बताए।