मासु थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन
काठमाडौं : दसैंको बेला मासुका परिकार खाइरहनुभएको छ ? तर ख्याल गर्नुस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ ।
मासु पौष्टिक आहार मानिन्छ । यसमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ । दिनमा प्रतिव्यक्ति एक पाउभन्दा थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा. विधाननिधि पौडेल बताउँछन् । ‘सयदेखि डेढ सय ग्राम मासु खाए हुन्छ । एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा पुग्छ । धेरै खाँदा हानि गर्छ,’ डा. पौडेलले भने । मासुलगायतका खानपानमा हेलचेक्र्याई गर्दा दसैंमा झाडापखाला (डायरिया) र खाद्य विषाक्तता (फुड प्वाइजन)का साथै उच्च रक्तचाप हुने, कोलेस्ट्रोल बढ्ने उनको भनाइ छ ।
पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ । मनपरी ढंगले मासु र मदिरा खाने, तास खेल्नेलगायत दिनचर्याले अस्वस्थ बनाउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । ‘पौष्टिक आहार भएकाले मासु खानुपर्छ । धेरै चिल्लो, तारेको, पोलेको (सेकुवा) खाँदा उच्च रक्तचाप बढाउँछ । हृदयाघात एवं मस्तिष्कघाततर्फ डोर्याउँछ’, उनले भने ।
जनघनत्व धेरै भएका काठमाडौं, पोखरालगायत क्षेत्रमा मासुका लागि दिनहुँ पशुपन्छी किनबेच भइरहेको छ । ती रोगाएका त छैनन् ? यसतर्फ पनि सचेत हुनुपर्ने चिकित्सकको भनाइ छ । मसलेदार, चिल्लो एवं गुलियोका साथै मदिरा सेवन गर्दा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहले पिरोल्ने सम्भावना रहेकोले खानपिनमा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।
दसैंमा खसीबोका, राँगाभैंसी, च्यांग्रा, बंगुर, कुखुरा, अस्ट्रिचको मासु बढी खपत हुने गरेको वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले बताए । खसीबोका, राँगा, भेडाको मासुलाई रातो मासुका रूपमा लिइन्छ । यसलाई रोगको भण्डार मानिने चिकित्सकको भनाइ छ । रातोभन्दा सेतो मासु स्वस्थकर मानिन्छ । कुखुराको मासु र माछा सेवन गर्दा फाइदाजनक हुने चिकित्सकको सुझाव छ ।