शुभ-विजया

शुभ-विजया

शरदीय किरण पारिलो भइसकेको छ। धानका बाला नुहेर नमस्कार गरिरहेछन्। राजधानी सहर रित्तिँदै छ। वर्षभरि उदास बसेका गाउँका चौपारी र आँगन भरिला बन्दै छन्। केटाकेटीको हाहाहुहु र हल्लाखल्लाले गाउँ कुरेर बस्ने हजुरबा–हजुरमाहरूको ओठमा मुस्कान छरिएको छ। ऋतु माल श्री गाइरहेछ। देवीथानमा अर्चना चलिरहेछ। दसैं घर पुगिसकेको छ। दसैं बोकेर घर पुग्नेहरू र घर फर्किन नपाउनेहरू सबैलाई दसैंको शुभकामना। दसैंले जीवनका नमीठा क्षण बिर्सिएर चुनौतीलाई सहस्र स्विकार्दै आउँदा दिन सुखद बनाउने अठोट मनमा जगाइदेओस्।

जीवनदायिनी हरेक स्रोतको पूजा पूर्वीय परम्परा हो। किरण छर्ने घाम, शीतल छर्ने जून, प्यास मेट्ने जल, जीवनस्रोत अग्नि, अस्तित्व बीजारोपण गर्ने माटो सबै हाम्रा ईश्वर हुन्। त्यही परम्पराको विस्तारित रूप हो धान र जौको पूजा। मानवजातिको महत्वपूर्ण आविष्कार थियो धान। ईसापूर्व ६५०० बाट एसियाली धान (ओरिजा स्याटिभा)को खेती सुरु भएको थियो भारतीय उपमहाद्वीपमा। जौको खेती पनि त्यतिबेलादेखि सुरु भएको थियो। शरीर सञ्चालनमा ऊर्जाको मुख्य स्रोत कार्बोहाइड्रेट प्रचुर मात्रामा हुने यी अन्नको पूजा दसैंको आदिम स्वरूप हो। सम्मान गर्नेलाई मस्तकमा लगाउने प्रचलनले टीकाको आविष्कार गर्‍यो। त्यही अन्नको मुजुरा (जमरा) लाई शिरमा सिउरेर सौन्दर्यको बुट्टा भरियो। नयाँ बाली भित्र्याएको खुसी, शरदीय पारिलो घामको आनन्द, मध्यम गतिको बतास, पर्यावरण र कृषिकर्मको संयोगले चंगा जन्मायो, पिङ चढायो। सामाजिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले यसैगरी पुष्टि गर्छन्, दसैं केवल देवी पूजकहरूको पर्व होइन, थिएन। धान खेतीको विशेषता नै थियो कुलोपानीको आवश्यकता र सामूहिकताको विकास। सम्भवतः त्यसैले हो सात हजार वर्षदेखि यो नेपाल मण्डलको सभ्यता अनवरत छ। चट्टानी भीर काटेर गह्रागह्रा बनाएका पुर्खाका परि श्रम हाम्रा लागि थप मिहिनेतको प्रेरणास्रोत हो। यो दसैंले देशलाई समृद्ध बनाउने, एउटा नयाँ युगमा देशलाई पुर्‍याउने जाँगर र मिहिनेतको प्रेरणा हामी सबैमा छरोस्।

जनता राजनीति र राज्यका जीवनदायिनी शक्ति हुन्। सार्वभौम जनताको सम्मतिले नै राज्य सञ्चालन हुने हो। संघीय प्रणालीलाई सुनिश्चित गर्नेगरी तीनै तहको निर्वाचनपछि राज्य सञ्चालनमा जनताका आवाज प्रतिविम्बित हुनेछन् भन्ने अपेक्षा सर्वत्र थियो। तर, यो एक वर्षमा राज्यसत्ताले जनताको आवाज आत्मसात् गरेको अनुभव हुन सकेन। स्थानीय र प्रदेश सरकार करका नयाँ–नयाँ शीर्षक बोकेर आए। संघीय सरकार जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने देखियो। परिणाम, संघीय प्रणालीप्रति नै जनताको आस्था कमजोर हुने स्थिति आउन सक्ने देखियो। जीवनदायिनी जनताको सम्मानबाट मात्र राज्य दिगो र बलियो बन्छ भन्ने बोध जीवनदायिनी शक्ति पूजा गर्ने दसैंले राज्य सञ्चालकहरूलाई गराओस्।

शक्तिपूजा दसैंको अर्को विशेषता हो। दसैंकी देवी शक्तिस्वरुपा हुन्। यद्यपि, असुरको वध गरिरहेकी देवीका आँखा सुदूर दृष्टिपात गरिरहेका हुन्छन्, ओठमा ममताको मुस्कान हुन्छ। देवी प्रतीकले शक्ति सधैं धृतराष्ट्र हुँदैन, हुनुहँदैन बरु सुदूरसम्म देख्नसक्ने र सबैलाई ममताभाव राख्न सक्ने हुनुपर्छ भन्ने सन्देश दिन्छ। दसैंको देवी महात्म्यमै शक्ति स्वरुपाका विशेषता वर्णन गरिएका हुन्छन्। तर, दसैं पुज्ने देशमै राज्यशक्तिको धृतराष्ट्र प्रवृत्ति खड्किने विषय हो। दुईतिहाइ बहुमतसहितको सर्वशक्तिशाली सरकार धृतराष्ट्र होइन देवी स्वरुपको बन्न सकोस्। दूरदृष्टि र ममताभाव शक्तिको स्वभाव हुनुपर्छ भन्ने चेतना दसैंकी देवीले सत्ता–शक्तिलाई प्रदान गरुन्।

देवीको पूजा मातृप्रधान समाजको स्तुत्य पनि हो। तर, देवी पूजा हुने समाजमा बलात्कार, हत्याजस्ता महिला हिंसा बढ्नु विडम्बना हो। पछिल्ला दिनमा यस्ता घटनाका कर्तालाई राज्यले आवश्यक कारबाही गर्नसम्म नसकेको देखियो। दुईतिहाइ बहुमतको सरकार शान्ति, सुरक्षा कायम गर्दै देशलाई समृद्धि र विकासतिर लैजानका लागि हो। समृद्धि र विकासको एकोहोरो रटानले मात्र नभई जनताको एकता र समर्पणले मात्र देश समृद्ध हुने हो भन्ने बोध दसैंले गराओस्। यहाँहरू सबैलाई दसैंको शुभकामना !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.