यात्रु बसमा हतियार सहित प्रहरी, कुकुरबाट चेकजाँच
हेटौंडा : मकवानपुर प्रहरीले दसैं लगायत चाडपर्वमा अवैध हतियार र लागूऔषध भित्रन सक्ने भन्दै सुरक्षा चेकजाँच कडा बनाएको छ। पूर्व पश्चिम राजमार्गमा तालिम प्राप्त कुकुर प्रयोग गरी प्रहरीले चेकजाँच बढाएको हो।
मकवानपुर प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाईमा दैनिक दुईवटा तालिम प्राप्त कुकुर प्रयोग गरी सवारीसाधन र यात्रुहरुको चेकजाँच गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले बताए। ‘चाडपर्वको समयमा भित्रन सक्ने अवैध हतियार, लागूऔषधको चेकजाँचसँगै यात्रुहरूको सुरक्षाको लागि तालिम प्राप्त कुकुर सहित प्रत्येक दिन चेकजाँच गरिरहेका छौं’, उनले भने।
प्रहरीले यात्रुबससँगै हल्का सवारीसाधन र मालबहाक सवारी साधनहरूको पनि चेकजाँच गरिरहेको छ। ‘प्रहरीले दैनिक चेकजाँच बढाएपछि हामीलाई चाडपर्वको समयमा हिँड्दा सुरक्षित महशुस भएको छ’, वीरगंजबाट पोखरा जाँदै गरेकी सर्मिला गुरुङले भनिन्, ‘प्रहरीको सक्रियता अरु समयमा पनि यस्तै हुनुपर्यो।’
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सवारी चेकजाँचसँगै रातिको समयमा भने हतियार सहितको प्रहरीले यात्रुबसलाई स्कटिङ गर्दै आएको छ। जिल्लाभित्र रहेका प्रहरी युनिटले आआफ्नो क्षेत्रभित्र हतियार सहितको प्रहरी यात्रु बसमा राखेर सुरक्षा दिइरहेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए।
‘रातिको समयमा हुनसक्ने लुटपाट लगाएतका अप्रिय घटना हुन नदिन हामीले यात्रु बसमा हतियार सहितको प्रहरी परिचालन गरेका हौं’, उनले भने। साथै चाडपर्वमा हुनसक्ने अप्रिय घटनाहरुप्रति उच्च सतर्क हुँदै थप जनशक्ति परिचालन गरिएको समेत गुरुङले बताए।