यायावरको यात्रा अनुभव
काठमाडौं : जीवा लामिछाने सफल व्यावसायी हुन्। उनले अहिलेसम्म एक सय ३० देशको यात्रा गरिसकेका छन्। आफूलाई सिभिल इन्जिजियरको रूपमा चिनाउने लामिछाने गैरआवासीय नेपाली संघका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष हुन्। व्यावसायको शिलशिलामा होस् या मनोरञ्जनका लागि गरिने यात्रा होस् उनी निरन्तर एकठाउँबाट अर्को ठाउँ पुगिरहन्छन्।
बिदाको समयमा परिवारका सदस्यसँग नयाँ नयाँ ठाउँमा पुग्नु उनको रहर हो। घुम्नु उनको रुचि हो। उनी यात्रा गर्दा ऊर्जा पाउने बताउँछन्। भन्छन्, ‘म त एक स्वतन्त्र यायावर हुँ।’
किताब पढेर वा सुनेर जे जति बुझिन्छ, त्यसको कयौं गुणा ज्ञान आफैंले देखेर, घुमेर ग्रहण गर्न सकिने उनको अनुभव छ। कहिले काहीं कामको अत्याधिक प्रेसर भयो, व्यस्तताले लामो समय लियो भने फ्रेस हुन उनी घुम्न जान्छन्। एउटा काम सकाएर अर्को कामको सुरुवात गर्नुअघि उनी कही न कहीं पुगिरहेकै हुन्छन्।
भन्छन्, ‘पृथ्वीमा यति धेरै कुरा जान्न र बुभ्नुपर्ने छ कि मानिसले सय जुनी पाए पनि सबै बुझ्न सक्दैन। घुमेका ठाउँको चाल चलन, भूगोल, प्राकृतिक सुन्दरता, राजनीति, सत्ताको अवस्था र विकासको गति के कस्तो छ उनी जान्न चाहन्छन्।
केही समयअघि मात्र उनी क्रोएसिया पुगेका थिए। त्यहाँ रोमन इम्पायरको पालामा बनेको निकै सुन्दर सहरको भ्रमण गरेका थिए। उनी सम्झन्छन्, ‘सागरको बीचमा रहेका एम्पिट, जाबेरजस्ता सहर हेर्दै चकित पर्ने खालका छन्। त्यहाँ मानव विकास क्रमका अनेक किस्सा हेर्न पाइन्छ।’
अफ्रिकाको मसाइमारा भन्ने ठाउँको जंगल सफारीमा उनी हप्तौं बसेका छन्। जंगलको घाँसे मैदानमा एकैपटक अनेकौं सिंहसँग जम्काभेट गरेका छन् उनले। मान्छे र जंगली जनावर एकै ठाउँमा बस्न मिल्ने निकै कम दूरीमा उनीहरूलाई प्रत्यक्ष हेर्न पाइने अवसर त्यहाँ छ। भन्छन्, ‘त्यहाँ त जनावरको साम्राज्य नै छ।’
दसैं भन्नासाथ उनको मनमा बाल्यकालको दसैंको याद आउँछ। ‘स्कुल लामो समय बिदा हुन्थ्यो, पिङ खेल्न कुदेको र नयाँ लुगा लगाउँदै फुर्कंदै हिँडेको पल अहिले पनि ताजै छ’, उनी सम्झन्छन्। बिदामा होमवर्क पनि टन्नै हुन्थ्यो। त्यो सकाउन हम्मेहम्मे पथ्र्यो। घरमा मिठो मिठो खानेकुराका परिकार पाक्ने हुँदा बच्चा बेलाको रौनक नै बेग्लै हुन्थ्यो। टीका लगाएर पाइने दक्षिणाको विशेष महत्व हुन्थ्यो त्यो बेला।
दसैंमा गरिने पूजापाठ, टीका लगाएर ठूलाले सानालाई दिने आर्शीवाद, टीका लगाउँदै आफन्तको घरमा हिँडेको पल उनको मनमा अझै पनि ताजै छ। उनी अन्य समयमा विदेशमा हुने भए पनि दसैंमा भने प्रायः स्वदेशमै हुन्छन्। आफ्ना आमाबुवाको नाममा स्थापना गरिएको पद्म श्री पुरस्कार पनि दसैंमा प्रदान गरिने हुँदा उनी यो समय स्वदेशमै रहन्छन्।
घुमफिरकै सन्र्दभमा उनले धेरै समुदायको संस्कृति नियाल्ने अवसर पाएका छन्। दसैंमा घर आउन नपाएको बेला भने उनलाई अत्यन्तै दुःख लाग्छ। विदेशमा भए पनि उनले परिवारमा उही समयमा टीका जमरा लगाउने गर्छन्। तर, यहाँको जस्तो रमाइलो महसुस नहुने उनको अनुभव छ। दसैंमा सबै व्यक्तिमा हुने फेस्टिभ मुड उनलाई अत्यन्तै मनपर्छ।
वैदेशिक रोजगारका शिलशिलामा विदेश गएका धेरै नेपालीलाई दसैंमा अत्यन्त नरमाइलो लाग्ने गरेको उनले देखेका छन्। कतिपयले त घरमा फोन गरेर आर्शिवाद माग्दै आँसु झार्दै काममा जान्छन्। नेपालबाहिर बस्ने करिब ५० लाख नेपालीमध्ये ७० प्रतिशत नेपालीको अवस्था हो यो।
उनीसँग युनिभर्सिटीमा अध्ययन गर्दा ६ वर्षसम्म लगातार नेपाल आउन नपाएको अनुभव पनि छ। त्यसपछि पनि केही दसैंमा उनी बाहिरै रहे। यो बेला परिवारको अत्यन्तै सम्झना आउने उनी बताउँछन्।
विश्वका आधाभन्दा बढी देशमा उनी पुगेका छन्। गएका देशमध्ये, सिंगापुर उनलाई अत्यन्तै मनपर्ने शहर हो। चिटिक्क परेको बगैंचा जस्तो लाग्छ उनलाई यो सहर। अफ्रिकाको जंगल पनि उनलाई विशेष लाग्छ। न्युयोर्क सहरको आधुनिकताले उनलाई खुव प्रभाव पारेको छ। त्यहाँका शहरभर छरिएर रहेका गगनचुम्बी घरको बीचमा पुग्दा छुट्टै संसार हो कि जस्तो लाग्छ। हेर्दा जापानको टोकियो हाइराइज विल्डिङको स्वरूप, दुबईको आधुनिकता पनि सम्झनयोग्य छन्। स्वीटजरल्यान्डको सुन्दरतासँगै उत्तर अमेरिका र दक्षिण अमेरिकी टापुहरूले भरिएको क्याराभियन पनि उनलाई मनपर्ने ठाउँ हो।
हिन्द महासागरको बीचको टापुमा रहेको सेसल आइल्यान्डको बनोटमा उनले निकै विविधता देख्छन्। ग्रीसको एथेन्स, पेरिस, भेनिस, लण्डन र इटलीको रोममा पुगेपछि उनलाई पुरानो विश्वको याद आउँछ। यी सहरमा कला र संस्कृतिका अनेक आयाम देख्न सकिन्छ। जहाँ पुगेर दिन बितेको पत्तै पाउदैनन् उनी।
उनी हरेक ठाउँमा आफूलाई घुलमिल बनाउन सक्ने क्षमता राख्छन्। कहिले कहीं यात्रामा कठिनाइ र दुःख नभोगेका पनि होइनन्। पोल्याण्डमा उनको पर्स चोरी भएर उनी बेखर्ची बनेका थिए। काजिकिस्तानमा पुग्दा उनलाई त्यहाँका मान्छेले अफगानी सम्झेर कुटेका थिए। गल्ती नै नगरी कुटाइ खाँदा उनको अनुहारमा चोट लागेको थियो। उनी सम्झन्छन्, ‘बाटोमा हिँड्दा हिँड्दै अनुहारमा एक्कासी मुक्का बर्साउन थाले।’
उनलाई अन्टार्कटिका पुग्ने रहर छ। विविध कारणले गर्दा चाहेर पनि त्यहाँसम्म पुग्न सकका छैनन् उनी। ल्याटिन अमेरिकाका चिली, ब्राजिलजस्ता देश पनि उनको रोजाइमा पर्छन्। उनी विदेशका धेरै ठाउँ पुगे पनि नेपालकै कतिपय ठाउँमा पुग्न सकेका छैनन। सोलुखुम्बु, नाम्चेबजार, खप्तड, रारा, मानसरोवर जस्ता ठाउँमा जाने उनको योजना छ।
विदेशका विकसित सहर घुमेर आनन्द लिँदै गर्दा उनलाई नेपाल पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने सोच आउँछ। भन्छन्, ‘नेपालमा विदेशीले लगानी गर्ने वातावरण अझै बनेको छैन। आफू एक्लैले चाहेर मात्र नहुने रहेछ। सबैजनाले यहाँका प्राकृतिक सम्पदा संरक्षण गर्नु जरुरी छ।’ यहाँको प्राकृतिक सुन्दरताले गर्दा पनि पर्यटनको राम्रो सम्भावना छ।’ यही क्षेत्रबाट नेपालको विकासले गति लिन सक्ने उनी बताउँछन्।