जनजातिले यसरी मनाउन थाले दसैं
काठमाडौं : पृथ्वीनारायण शाहले १८२५ सालमा उपत्यका जितेपछि मात्रै आदिवासी जनजातीले दसैं मनाउन थाले । १८३० देखि नेपालका सबै जातजातिले दसैं मान्नुपर्ने उर्दी जारी गरिएको थियो । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि दसैं मान्न थालिएको प्रसंग १९१० मा जंगबहादुर राणाले ल्याएको नेपालको पहिला मुलुकी ऐनमा उल्लेख छ,’ लिल फङ्ग (घले समाज) का अध्यक्ष दिनेश घलेले भने ।
तत्कालीन समयमा रैतीले दसैं मनाए कि मनाएनन् प्रमाणीत गर्न मार हानेपछि रगतमा हात डुबाएर घरका भित्तामा हातको पञ्जाको छाप लगाउनुपथ्र्यो ।
रजौटेका घरका भित्तामा रगतको छाप भए/नभएको यकिन गर्न राजाका नजिकका मान्छेलाई खरदार, मुखिया, सुब्बा, जमिनदारलाई खटाइन्थ्यो । उनीहरुले सम्बन्धित सीडियो, प्रहरीलाई सुचना दिने र उनीहरुमार्फत राजासम्म जानकारी गराउँथे । ‘सबैका घरका भित्तामा रगत लागेको/नलागेको विषयमा रेकर्ड नामावली हुन्थ्यो,’ घलेले भने ।
त्यसपछि मात्रै घले, गुरुङ, राई, लिम्बु, शेर्पा, थारुलागयत सबैले दसैं मान्न थालेका हुन् । राजाको आदेश अनुसार जनजातिले दसैं मान्न थालेपनि जनजातिले दसैं मनाउने परम्परा नरहेको उनको भनाइ छ ।
तर घलेले दसैं मनाए पनि रातो टीका लगाउँदैनन् । दही–अक्षताको सेतो टीका लगाउने प्रचलन रहेको घले बताउँछन् । उनका अनुसार रातोमा रगत मिसिएको हुन्छ भन्ने मान्यता छ । पुर्खाले हरेक शुभकाम माघ १ गते गर्ने गरेको र त्यसदिनलाई राष्ट्रिय चाडको मनाउन थालिएको घलेले जानकारी दिए । दसै मान्ने वा नमान्ने विषयमा भने स्वतन्त्रता रहेको उनले बताए ।