पाइन छाडे लिंगे पिङ
जाजरकोट : केही वर्ष अघिसम्म पनि जाजरकोटका विभिन्न गाउँबस्तीमा दशैको अवसरमा जताततै लिंगे पिङ हालिन्थ्यो । केटाकेटी, युवायुवतीदेखी उमेर ढल्केका पनि पिङमै रमाउँथे । तर अचेल गाउँबस्तीमा दसैंको अवसरमा हालिन पिङ देखिन छोडेका छन् ।
सदरमुकामका बजार र बस्तीसंगै दुर्गम गाउँका विकट वस्तीमा पनि दसैं तिहारका बेला लिङ्गे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो । दसैंको घटस्थापनासंगै गाउँगाउँमा लिङ्गे पिङ बनाउन प्रतिस्पर्धा हुने गथ्र्यो ।
युवतीले (तरुनीले) जंगलबाट खर काटेर ल्याउने गर्दथे भने युवा (तन्नेरी) बाँसका लिङ्गा ल्याएर पिङ बनाउने काम गर्थे । पिङले मनोरञ्जनका साथै भाइचारा र संस्कृतिको विकासमा पनि टेवा पुर्याउने काम गर्ने भएपनि उक्त परम्परा हराउँदै गएकोमा भेरी नगरपालिका ३ का ८१ वर्षीय तेजविक्रम शाह चिन्ता व्यक्त गर्छन्।
‘आज भोलि कतै पनि दसैंका बेला लिंगे पिङ बनाएको र गाउँमा रमाइलो गर्दै रंगीविरंगी चंगा उडाएको देखिदैन’, उनले भने, ‘सबै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रुपमा रहेका सबै चलन विस्तारै हराउदै गएको छ । युवा पुस्ताले समयमा संरक्षणमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा र संस्कृति लोप भएर जानेछन् ।’
गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगीत र बाजाको आवाज घन्किएको र लिंगे पिङ मच्चिएको देखिन छोडेपछि दसैं तिहार लगायतका पर्वको रौनक घट्दै गएको स्थानीय बुढापाकाको भनाइ छ ।
अघिल्लो पुस्ताका मानिसका चलन र परम्परालाई नयाँ पुस्ताका युवाले निरन्तरता नदिँदा मौलिक चलन ओझेल पर्ने मात्र नभइ हराउने खतरा रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाइ छ । उनले स्थानीय सरकार, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण हाम्रा चाड पर्व निरस बन्न पुगेको बताए ।
मुलुकमा संघीयता कार्यन्वयनमा आएपछि झन् स्थानीय सरकार, समुदाय र युवा पुस्ताले आफनो कला, संस्कृति, परम्परा र चलनको संरक्षण गरी आउने पुस्तामा हस्तान्तरणको तयारी गर्नुपर्नेमा आफैंले भुल्दै गएको वुढापाकाको गुनासो छ । छेडागाड नगरपालिका ७ का शेरबहादुर अधिकारीले पहिले आफूलाई आफनो कला, परम्परा र चलन जोगाउने ठूलो चिन्ता भएको तर अहिलका पुस्तामा त्यो नभएको बताए ।
संस्कृति जोगाउँदै नेपाली सेना
जिल्लाका गाउँबस्तीमा लिङ्गे पिङ हराउन थालिसकेका छन् तर नेपाली सेनाले भने संस्कृतिको जगेर्न गर्ने भन्दै दसैंमा लिङ्ग पिङ हाल्ने परम्परालाई निरन्तरता दिएको छ ।
सदरमुका खलंगा स्थित ज्वालादल गणले दशैको अवसर पारेर पिङ हालेको छ । सदरमुकाम आसपास र अन्य गाउँमा पिङ हाल्न छोडेपछि स्थानीय नेपाली सेनाको ब्यारेक भित्र हालिएको पिङ्ग खेल्न जाने गरेका छन् ।
सेनाले हरेक वर्ष ब्यारेक भित्र पिङ हाल्ने गरेको सेनाली निरञ्जन कार्कीले बताए । स्थानीय स्रोत साधन प्रयोग गरेर पिङ हालिएको उनले बताए । दसैं मान्न घर जान नपाएका सेनाका जवान तथा अधिकृतको मनोरञ्जनका साथै संस्कृति जोगाउन पनि पिङ हाल्ने, पूजाआजा गर्ने र ब्यारेक भित्रै टिकाटालो गर्ने गरिएको सेनानी कार्कीको भनाइ छ । उनले कतिपय सर्वसाधारण ब्यारेक भित्र पिङ खेल्न आउने गरेको बताए ।