झुपडीमा पुगेन दसैं
ताप्लेजुङ : दुई पाटा ढुंगाको गारो र दुई पाटा बाँसका भाटाले बारेको टहरो । खिया लागेको जस्तापातालाई बाँस र ढुङ्गाले थिचेर अड्याइएको छानो । झट्ट हेर्दा मान्छे बस्न मिल्नेजस्तो देखिँदैन । तर यही झुपडीमा फुङलिङ नगरपालिका–१० का एत लिम्बुको ७ जनाको परिवारले दुःख लुकाउने कोशिस गरिरहेको छ । झुपडीले न घाम छेल्न सक्छ न पानी । छिमेकीहरु दसैंको उमंगमा दंग रहँदा उनको परिवारमा यस वर्ष पनि यो पर्वले कुनै खुसी ल्याउन सकेन । ‘झुप्रोमा बस्नेलाई केको दसैं ? ’ एत भन्छन्, ‘दसैं त हुने खानेलाई आयो होला, हामीलाई आएन ।’
एत, श्रीमती वीरमती, ३ छोरा र दुई छोरी बस्ने यो झुपडीमा यसपालिको दसैं प्रवेशै नगरी विदा भएको छ । लगातार दुई वर्ष भयो यो परिवार दसैंमा रम्न नपाएको । फक्ताङलुङ गाउँपालिका–४ इखाबुबाट बसाईं सरेर आएका उनले ज्याला मजदूरी गरेर २०७२ सालमा एक तले घर बनाएका थिए, त्यो पनि ससुरालीको जग्गामा । तर, सो घरमा एतको परिवारलाई प्राकृतिक विपत्तिले बस्न दिएन । ‘खाइ नखाइ गरेर घर बनाएँ, जस्ताको छाना हालेँ,’ उनी भन्छन्, ‘२०७३ मंसिरमा भएको आगलागीले घर खरानी बनाइदियोे ।’
अहिले उनको परिवार त्यही ठाउँमा एउटा छाप्रो बनाएर बसिरहेको छ । एत दम्पत्तिलाई छोराछोरीले ढुक्कसँग पढ्न र विद्यालय जान नपाएको चिन्ताले सताएको छ । ‘बर्खामा त यहाँ पनि बस्न सकिँदैन । पानी प¥यो कि घरभित्रसम्मै हिलाम्मे हुन्छ । सुत्न मिल्दैन ।’ वीरमतीले भनिन्, ‘नानीहरुले बसेर गृहकार्य गर्ने ठाउँसम्म भए हुन्थ्यो ।’ आधारभूत तहको विद्यालय नजिकै भएकोले पाँचै जना बच्चा विद्यालय भने जाने गरेका छन् । दसैंमा छोराछोरीलाई नयाँ कपडा किनिदिन नसक्दा दुवै जनाको मन अमिल्एिको छ ।
घर आगलागी भएलगत्तै रेडक्रस र प्रशासन कार्यालयले पाँच–पाँच हजार नगद राहत दिएका थिए । रेडक्रसले दिएको भाँडाकुँडा र लत्ताकपडाले अहिलेसम्म धानिरहेको वीरमती बताउँछिन् । त्यसयता उनीहरुले कसैबाट केही सहयोग पाएका छैनन् ।
श्रीमान्– श्रीमती दिनभर ज्याला–मजदूरी गर्छन् । ‘मजदूरी पनि सँधै पाइँदैन,’ वीरमती भन्छिन्, ‘माइतीले नै दिएको अलिकति बारी छ, काम नभएको बेला त्यही बारीमा कमाइ लगाउछौं ।’ जनताको समस्या नजिकबाट बुझ्न र सेवा प्रवाह गर्न स्थानीय सरकार क्रियाशील रहे पनि लिम्बु दम्पत्तिले त्यसको महसुस गर्न सकेका छैनन् ।