दसैंपछि राजनीतिक चहलपहल सुरु
काठमाडौं : ‘दसैंको टीकाका दिन मात्र हो फुर्सद’, कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘नत्र त दिनका दिन बैठक।’ पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्यसमेत रहेका नेता लेखकले आफ्नो व्यस्तता सुनाए। पार्टी विधान संशोधनको चटारोमा छ कांग्रेस यतिबेला। मंसिर पहिलो साता पार्टीको महासमिति बैठक तय भइसकेकाले विधान संशोधनको मस्यौदा तयार गर्न लेखक सदस्य रहेको समिति निरन्तर आन्तरिक छलफलमा व्यस्त छ।
विजया दशमीको टीका सकिएलगत्तै प्रमुख दलहरूका राजनीतिक गतिविधि सुरु भएको छ। दसैंका बेला सुनसानप्रायः दलका पार्टी कार्यालय र स्थगित कामकारवाही शनिबार सुरु भए। यससँगै प्रमुख दलका आन्तरिक बैठक र नेताहरूको व्यस्तता पनि बढेको छ। वर्षभरि व्यस्त हुने सबै राजनीतिक दलका अधिकांश नेता ठूला पर्वका बेला बल्ल केही फुर्सद पाउँछन्। पर्वका बेला सामान्यतया राजनीतिक कार्यक्रम न्यून मात्र हुने र पार्टीका गतिविधि पनि बिरलै हुने हुँदा उनीहरूलाई वर्षदिनको दौडधुपबाट केही दिन भए पनि विश्राम गर्ने उपयुक्त अवसर बन्छ।
यसपटक पनि दसैंको टीकाको अघिल्लो दिनसम्म राजनीतिक चहलपहल करिब करिब शून्यप्रायः थियो। एकादशीबाट फेरि दलहरूको सक्रियता बढेको छ। कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठक टीकाको दोस्रो दिन शनिबार नै बसेको थियो। ‘हामी सकेसम्म चाँडो प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिने गरी छलफलमा छौं’, नेता लेखकले भने। आइतबार पनि उपसमिति (कोर समिति)को बैठक बसेको थियो। कात्तिक १२ गतेसम्म विधान टुंगो लगाउने गरी समितिले काम गरिरहेको छ।
कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठक टीकाको दोस्रो दिन शनिबार बसेको थियो। सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आइतबार बसेको छ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आइतबार बसेको छ। पटक-पटक स्थगित हुँदै आएको नेकपाको सचिवालय बैठक आइतबार बिहान स्थगित भएर दिउँसो मात्र बसेको हो। ‘टीकाटालो चलिरहन्छ, पार्टीको काम अवरुद्ध भएको छैन’, नेकपाका पार्टी कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘सचिवालय बैठक नियमित बैठक हो। दसैंले कुनै समस्या छैन।’
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि सचिवालय बैठकमा प्रदेशको इन्चार्ज र अध्यक्ष चयन प्रक्रियाप्रति लिखित असहमति जनाएका थिए। ‘बैठकमा सबै नेताले आ-आफ्ना कुरा खुलस्त राखेका छन्। वरिष्ठ नेता नेपालले पनि आफ्नो असहमतिपत्रबारे कुरा राख्नुभयो’, सचिवालय बैठकका सहभागी एक नेताले बताए।
अर्काे सत्तारुढ दल संघीय फोरमका बैठक भने लामो समयदेखि बसेका छैनन्। पार्टी सरकारमा सहभागी भएपछि केन्द्रीय समिति र पदाधिकारीको कुनै बैठक बसेको छैन। पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव सोमबार विदेश भ्रमणमा जाँदैछन्। ‘उहाँको १० दिन जतिको कार्यक्रम हो विदेशको’, अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले भने, ‘उहाँ फर्किएपछि पार्टीका बैठक बस्छन्।’
राजपाका नेताहरू पनि आन्तरिक छलफलमा व्यस्त छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने पार्टीभित्र एकमत नभएपछि उनीहरू आन्तरिक छलफलमा बसेका हुन्। संविधान संशोधन गर्ने सहमतिसहित सरकारलाई समर्थन दिए पनि अहिलेसम्म यसतर्फ सरकारले चासो दिएको नदिएको भन्दै राजपाभित्र समर्थन फिर्ता लिन नेताहरूमाथि चर्को दबाब परिरहेको छ।