हात भाँचिएपछि मेसी तीन साता मैदान बाहिर
स्पेनिस ला लिगा फुटबलको आइतबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले सजिलो जित हात पारे पनि आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई भने केही समयका लागि गुमाउनु परेको छ। बार्सिलोनाले घरेलु मैदानमा सेभिललाई ४—२ गोलले हराएको उक्त खेलमा अर्जेन्टिनी खेलाडी मेसीको हात भाँचिएको थियो।
मेसीको दायाँ पाखुराको हड्डी भाँचिएको बार्सिलोनाले जनाएको छ। बार्सिलोनाका अनुसार मेसी करिब तीन साता मैदान बाहिर रहनेछन्। सोही कारणले ला लिगाको महŒवपूर्ण खेल ‘एल क्लासिको’ मा पनि मेसी अनुपस्थित रहनेछन्। बार्सिलोनाले आगामी आइतबार चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग खेल्ने कार्यक्रम छ। मेसीलाई सेभिलका आक्रामक मिडफिल्डर फ्रान्को भाजक्वेजले लडाएका थिए। फ्रान्को पनि अर्जेन्टिनाकै खेलाडी हुन्। मेसीले २६औं मिनेटमा खेल छाडेका थिए।
घाइते भएर मैदान छाड्नुअघि मेसीले खेलको १२औं मिनेटमा गोल पनि गरेका थिए। बार्सिलोनाका लागि पहिलो गोल भने खेल सुरु भएको दोस्रो मिनेटमै फिलिप कोउटिन्होले गरेका थिए। कोउटिन्होले पनि मेसीकै पासमा गोल गरेका थिए। ३१ वर्षीय मेसी च्याम्पियन्स लिगको इन्टर मिलानविरुद्घको खेलमा पनि अनुपस्थित रहनेछन्। ६३औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३—० को अग्रता दिलाएका थिए।
यसैगरी ७९औं मिनेटमा पाब्लो साराबियाले जवाफी गोल गर्दै सेभिललाई ३—१ को स्थितिमा ल्याए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इभान राकिटिचले बार्सिलोनाका लागि चौथो गोल गरे। खेलको अन्तिम समयमा सेभिलका लागि लुइस मुरियलले दोस्रो गोल गरेका थिए। नौ खेल खेलेको बार्सिलोना १८ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ।
समान खेलबाट १७ अंक जोडेको आल्भेस दोस्रो र समान खेलबाट १६ अंक हात पारेको सेभिल तेस्रो स्थानमा छन्। १६ अंकसहित एट्लेटिको म्याड्रिड चौथो र १४ अंकसहित रियल म्याड्रिड पाँचौं स्थानमा छन्। शनिबार राति खेलिएको खेलमा एट्लेटिको म्याड्रिडलाई भिल्ला रियलले आफ्नै मैदानमा १—१ गोलको बराबरीमा रोकेको थियो। खेलको ५१औं मिनेटमा एट्लेटिको म्याड्रिडका लागि फिलिप लुइजले पहिलो गोल गरेका थिए। ६५औं मिनेटमा भिल्ला रियलका मारियो गास्परले जवाफी गोल फर्काएका थिए।
रियल म्याड्रिड भने घरेलु मैदानमै लेभान्तेसँग २—१ गोलले पराजित भयो। भ्यालेन्सियालाई उसैको मैदानमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लेगानेसले १—१ गोलको बराबरीमा रोक्यो भने डेपोर्टिभो आल्भेसले सेल्टा भिगोलाई उसैको मैदानमा १—० गोलले पाखा लगायो।