दसैंमा लगाइएन नगरा
बेसीसहर : दसैं सुरु हुनासाथ गाउँघरमा डुम डुम आवाज सुनिन्थ्यो । दसैं आयो भन्दै केटाकेटी रमाउँथे । दसैंको घटस्थापनाको दिनदेखि पूर्णिमासम्म घर–घर डुलेर दमाहा बजाउँदै ‘नगरा’ लगाउने चलन थियो । दसैंको बेला परियार (दमै) जातिले लगाउने नगरा यस वर्ष गाउँघरमा सुन्न पाइएन ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ का गौरीकान्त गौतमले यस वर्ष दसैंमा नगरा लगाएको देख्न नपाएको बताए । बेसीसहर नगरपालिका ६ चण्डीस्थान सेराका लालबहादुर परियारले आफ्नो पुस्ताले नगरा लगाउन छोडेपछि छोरानातिले यो पेशा नसम्हालेको बताए । दसैंका बेला गाउँघरमा नगरा लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी चाडपर्वका बेला गाउँघरमा परियार जातिले नगरा लगाउने गर्दथे । तर यस वर्ष लमजुङको अधिकांश स्थानमा परियार जातिले नगरा नलगाएपछि संस्कृति लोप हुने अवस्थामा पुगेको हो ।
घटस्थापनाको दिनदेखि घर–घरमा एकाबिहानैदेखि डुमडुम डुमडुम बजाउने र नगरा लगाउने चलन भएकाले यसले दसैं बोलाएको भान हुन्थ्यो । यस वर्ष भने डुमडुम आवाज सुन्न नपाएपछि दसैंको रौनक नै नआएको जस्तो भएको चन्द्रेश्वरका अर्जुन अधिकारीले बताए । घटस्थापनादेखि दशमीसम्म प्रत्येक घरमा गएर नगरा बजाउने चलन तुलनात्मक रूपमा कमहुँदै गएको उनको भनाइ छ । परियार जातिमा युवाले नगरा लगाउने पेशा अंगाल्न छाडेपछि संस्कृति नै लोप हुन लागेको हो । नगरा लगाउनेलाई समाजमा हेयको दृष्टिकोणले हेरिने भएकाले पनि यो पेशा लोप हुने अवस्थामा पुगेको रेशम परियारले बताए ।
नगरा बजाउने परम्परा लोप हुन लागेकोमा स्वयं परियार जाति पनि चिन्तित बनेका छन् । नगरा बजाउनेमात्र होइन, विवाह, व्रतबन्ध तथा विभिन्न उत्सव महोत्सवमा बजाइने पञ्चेबाजा समेत लोप हुन लागेपछि जिल्लाका विभिन्न स्थानमा पञ्चेबाजा संरक्षण समिति गठन गरी युवालाई सिकाउन थालिएको छ ।
पूर्खाको पालादेखि नै चलेको चलन र संस्कृतिलाई निरन्तरता दिन समितिले गतिविधि गर्दै आएको पञ्चेबाजा संरक्षण समिति गाउँसहरका अध्यक्ष काजीराम परियारले बताए । गाउँसहरका रामबहादुर परियारले आफ्नो संस्कृति जोगाउन संरक्षण र सहयोगका कार्यक्रम सुरु गर्नुपर्ने बताए ।
दसैंभर नगरा लगाएपछि त्यसवापत प्रत्येक घरबाट केही चामल, पैसा र मासु दिने चलन थियो । पहिले पहिले परियारहरूको आर्थिक अवस्था कमजोर भएकाले यसरी नगरा लगाउने गरेको भए पनि अब आर्थिक स्तर माथि उठेकाले परम्परागत पेशा छोड्ने धेरै छन् । नगरा बजाउन जान्ने परियार जाति र त्यसमा प्रयोग हुने बाजाको संरक्षणमा जोड दिने हो भने परम्परादेखिको यो चलन लोप हुनबाट जोगाउन सकिने सरोकारवाला बताउँछन् ।