सप्तरीमा बस दुर्घटना, सहचालकको मृत्यु, सात घाइते
राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु भएको छ भने सात घाइते भएका छन्। शम्भुनाथ नगरपालिका- ७ देवधारस्थित पूर्व-पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकभन्दा ५÷६ मिटर तल खसी पल्टिएको बा.४ ख ४४७० नम्बरको बसका सहचालक काभ्रे निवासी ४५ वर्षीय दिपक राईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
घाइते राईको उपचारको क्रममा सप्तऋषी अस्पताल लाहानमा मृत्यु भएको एसपी राजेन्द्र विष्टले बताए। दसैं पर्व मनाएर सुनसरीको चतराबाट काठमाडौं हिँडेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
दुर्घटनामा सुनसरीको वराह क्षेत्र नगरपालिका ३ का ३१ वर्षीय सन्तोष लिम्बू, २७ वर्षीया बिनिता श्रेष्ठ, बराह क्षेत्र नगरपालिका ६ का ३५ वर्षीया गोपाल दाहाल, निजको श्रीमती ३० वर्षीया लिला दाहाल, उनकी छोरी पाँच वर्षीया सिजु दाहाल र वडा नम्बर ७ की ५४ वर्षीया जानुका वास्तोला घाइते भएका छन्।
यसैगरी खोटाङ्ग सतनेत गाउँपालिका १ की ३४ वर्षीया सिता राउत र भोजपुर फतुवा गढी गाउँपालिका २ बस्ने २४ वर्षीया तारा कार्की समेत घाइते भएका छन्। घाइतेको स्थानीय अस्पताल कल्याणपुरको खरचुईया तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरी चौकी कठौनाका सई वीरबहादुर कार्कीले बताए। सई कार्कीका अनुसार बसमा करिब ३५ जना यात्रु सवार थिए।