डेढलाख बराबरको पटाका सहित एक पक्राउ
राजविराज : राजविराज नगरपालिका–६ स्थित एक लाख रुपैयाँ भन्दा बढी रकम बराबरका पटाका भण्डार गरिराखेको भन्दै एक युवा पक्राउ परेका छन् ।
सप्तरी जिल्ला प्रहरीले राजविराज शान्तिनगर–६ बस्ने ३३ वर्षीय दिपेन्द्रलाल दासलाई एक लाख ५० हजार रुपैयाँ बराबरको अवैध पटाकासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दासले विभिन्न ब्रान्डका पटाका घरमै अवैध रुपमा भण्डार गरिराखेका थिए । उनले कुर्ता सुरुवाल, स्विटर लगायत कपडाले छोपेर लुकाइ राखेको प्रहरीले बताएको छ ।
यसबाहेक भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक हजार चार सय २५ प्याकेट पटाका बरामद गरेको छ । बलान बिहुल गाउँपालिका–४ मौवास्थित नहरको बाटोमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको सात सय प्याकेट नागिन पटाका, सात सय प्याकेट कोब्रा पटाका र २५ प्याकेट मसिनो पटाका बरामद गरेको छ ।
पक्राउ परेकाविरुद्ध विष्फोटक पदार्थको कारोबारसम्बन्धी मुद्दा दायर गरिने जनाउँदै तिहार र छठसम्म विष्फोटक पदार्थ पटाकाको निर्यातमा कडाई गरिने प्रहरीले बताएको छ ।
पटाका पडकाउने बहानामा अन्य आपराधिक घटना समेत हुन सक्ने र पटाकाजन्य वस्तु विष्फोटबाट सर्वसाधारणको अंगभंग समेत हुन सक्ने भन्दै पटाका पड्काउन र किनबेच गर्न प्रहरीले रोक लगाएको छ ।