नयाँ पुस्ता बिर्सिंदै लोकबाजा
भोजपुर: हिजोआज गाउँघरको बिहेमा नेपाली लोकबाजाको साटो रेडियो, उफर, साउन्डबक्स, एम्लिफायरको प्रयोग बढेको छ। आधुनिक परिवेश र विदेशी कलाप्रतिको रुचिले पहिलेजस्तो गाउँघरमा नेपाली लोकबाजा हराउने क्रममा छन्।
परिमार्जित आधुनिकताको प्रत्यक्ष असर पारेसँगै पछिल्ला पिँढीले वास्ता नगर्दा गाउँघरमा बजाइने नेपाली लोक पञ्चैबाजाको मौलिकता हराउन लागेको हो। आधुनिक गीतसंगीत र नयाँ प्रविधिका वाद्यवादनको लोकप्रियताले गाउँघरमा बजाइने पञ्चैबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिंगा र सहनाई) लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको भोजपुर नगरपालिका सिद्धेश्वर कात्तिकेका ४६ वर्षीय ध्यानबहादुर परियारले गुनासो सुनाए। भने,‘खै कस्तो जमाना आयोआयो, आजभोलि गाउँघरमा बिहेभोज र अन्य कार्यमा ठूल्ठूला क्यासेट, रेडियो बजाउँछन्। हामीले बजाउने बाजाको मूल्यांकन नै हुन्न।’
वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोक पञ्चैबाजा जगेर्नाको सट्टा नयाँ युवा पिँढीको नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धराशायी बन्दै गएको गुप्तेश्वर आहालेका ७० वर्षीय टेकबहादुर मोतेले गुनासो गरे। ‘गाउँघरमा आजभोलि एक दुई वटा मात्र पञ्चैबाजा बजाउने समूह भेटिन्छन्। पछिल्लाले बजाउँदैनन्’, उनले भने, ‘गाउँघरमा आजभोलि पञ्चैबाजा बजाउन छोडिएकाले भएका बाजाका सामान बिग्रिँदा बनाउने मानिससमेत पाइँदैनन्।’
विगतमा जस्तो गाउँघरमा आजभोलि पञ्चैबाजा बजाउन जान्ने मान्छेको कमीले लोकबाजाको रौनक हराउँदै गएको छ। पछिल्ला युवा पुस्ताले मौलिकता भुलेकाले पनि संस्कृति बिर्सिंदै गएको बाजा संरक्षकको गुनासो छ। युवा पिँढी आफ्नो रीतिरिवाजभन्दा पनि विदेशी संस्कारतिर धकेलिएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएको उनीहरू बताउँछन्। संस्कृति जगेर्नामा सरोकारवाला निकायको ध्यान नजानाले बाजाको मौलिकता हराउँदै गएको छ।
धार्मिक आस्थासँगै परम्परागत संस्कृति जोडिएका लोकबाजा आजभोलिका पिँढीले रुचाउन छाडेको भोजपुर नगरपालिका बोखिमका ६६ वर्षीय पर्शुराम मोते सुनाउँछन्।
पहिले दसैंतिहार चाडबाडको बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकारहरू अहिले कहीँ कतै मात्र भेटिन्छन्। पुख्र्यौली पुस्तादेखिको लोकबाजा बजाउने रीतिको जगेर्नामा लाग्दै आएका पर्शुराम मोते भन्छन्, ‘दसैंतिहारका बेला घरघरमा पुगेर सहनाई (लोकबाजा) बजाउँदा घरपरिवारको रोग, भूतप्रेत दूर हुने पौराणिक धार्मिक विश्वास छ। उहीले बाबुबाजेको पालादेखि नै चलिआएकोले हाम्रा जातिले मात्र यो लोकबाजा बजाउँछौं। तर आजकलका केटाकेटीहरू बजाउन चाहँदैनन्। हामीपछि यो बाजा कस्ले बजाउला र?’
बिहे लगन, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवम् सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएको भोजपुर नगरपालिका सिद्धेश्वर कोटडाँडाका ३७ वर्षीय रामकुमार सिवाको भनाइ छ। उनले पुस्तौंदेखि बजाउँदै आएको पञ्चैबाजाको मौलिकता र महŒव पछिल्लो पुस्ताले बिर्सिंदै गएको दुःखेसो गरे।