वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी
काठमाडौँ : सांस्कृतिक पर्यटनको आकर्षण मानिने वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिनमा झण्डै १३ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ । हनुमानढोका दरबार संरक्षण कार्यालयले पर्यटकबाट एकै दिन झण्डै १३ लाख रकम उठाएको हो ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए । पर्यटकको संख्या बढ्न थालेपछि केही दिनयता हरेक दिन रु १० लाख आम्दानी हुने गरेको पनि पसखलले बताए ।
यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य रहेको कार्यक्रम प्रमुख पसखलले बताएका छन् ।
भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् ।
यस क्षेत्रमा मात्रै झण्डै तीन दर्जन सम्पदा छन् । जसमा भूकम्पका कारण दश सम्पदा पूर्ण रुपमा क्षति भए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पपछि पर्यटक नेपाल आउने क्रम कम भइरहँदा पछिल्लो समय वसन्तपुर क्षेत्रमा भने संख्या बढेको हो ।