शिक्षकले नै ३ हजार घुस दिएर स्कुल तोडफोड गराएपछि...
कालिकोट : कालिकोटको नरहरीनाथ गाउँपालिका–४ स्थित रामचन्द्र आधारभुत विद्यालय यहीँका एक शिक्षकको अादेशमा स्थानीयले तोडफोड गरेको खुलासा भएको छ ।
तोडफोड गर्ने स्थानीय पदमबहादुर सहकारी भने पक्राउ परेका छन् । गत बिहीबार राती विद्यालय तोडफोड भएपछि विद्यालयका प्रधानाध्यापक धनबहादुर सहकारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले अनुसन्धानका आधारमा विद्यालय तोडफोडमा संलग्न पदमबहादुरलाई पक्राउ गरेको बताएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सोही विद्यालयका शिक्षक जयबहादुर सहकारीको आदेशमा स्थानीय पदमबहादुरले विद्यालय तोडफोड गरेका हुन् ।
प्रहरीले उनीहरु दुबैलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । बुधबार भने स्थानीय पदमबहादुर पक्राउ परेको प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
स्थानीय सरकार गठन भइसकेपछि गाउँपालिकाले प्रधानाध्यापक पदबाट धनबहादुर सहकारीलाई हटाएर जयबहादुर सहकारीलाई प्रधानाध्यापक बनाएपछि उनले उच्च अदालत जुम्लामा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतबाट मुद्दा जितेर प्रधानाध्यापक पदमा धनबहादुर सहकारी नै वहाल भएपछि प्रअबाट हट्नुपरेको झोँकमा शिक्षक जयबहादुर सहकारीले पदमबहादुुर सहकारीलाई विद्यालय तोडफोड गर्न लगाएको खुलेको हो ।
यस क्रममा विद्यार्थी भर्ना फाइल, हाजिरी रजिस्टर, शिक्षक व्यक्तिगत फाइल, विद्यार्थी निरन्तर मुल्यांकन फाइल, दर्ता चलानी रजिस्टर, निरिक्षण पुस्तिका, विद्यार्थी लब्धांकपत्र लगायत अन्य बील भरपाई हराएको बताइएको छ ।
यस्तै विद्यालयको कार्यालयमा रहेका काठका दराज २ थान, स्टील दराज एक थान तोडफोड गरिएको छ । पदमबहादुर सहकारीले आफूलाई जयबहादुरले विद्यालय तोडफोड गर्नका लागि तीन हजार रुपैयाँ समेत दिएपछि विद्यालय तोडफोड गरेको स्वीकार गरेका छन् ।