‘नेपाली साहित्यमा उम्दा कथा आउनै बाँकी छन्’
आख्यानकार, समीक्षक, पत्रकार राजेन्द्र पराजुलीको नयाँ कथासंग्रह ‘अघोरी’ भर्खरै प्रकाशित छ। यसअघि उनका ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’, ‘सपनामा माक्र्स’, ‘शुक्रराज शास्त्रीको चश्मा’ कथासंग्रह, ‘अनायिका’ उपन्यास प्रकाशित छन्। वर्तमान नेपाली कथा र समीक्षाका विषयमा केन्द्रित भएर पराजुलीले ‘सम्पूर्ण’ संवाद गरेका छन्। प्रस्तुत छ कुराकानी:
तपाईंका कथाका पाठक को हुन् ? नबुझ्ने कथा लेख्ने कथाकारलाई के भन्नुहुन्छ ?
मेरा टार्गेटेड पाठक छैनन्। सबै उमेर, वर्ग, समुदाय, लिंग, क्षेत्रका पाठकले पढून् भन्ने चाहन्छु। म कथामार्फत कुनै विचार नै पस्किरहेको हुन्छु, चाहे त्यो कुनै सत्य घटना नै किन नहोस्। त्यो विचारलाई कला र कल्पनाशीलताको मद्दतले रुचिकर कथा बनाउने प्रयास भने सधैँ गरिरहेको हुन्छु। नबुझिने कथा वा अन्य साहित्यको कुनै अर्थ हुन्छ भन्ने मलाई लाग्दैन।
लेखन र पत्रकारिता सँगसँगै गर्नुभयो। त्यो पनि साहित्यिक र आर्थिक पत्रकारिता! पत्रकारिता र आख्यानमा के त्यस्तो दूरी हुन्छ ? कि पत्रिकामा लेख्न नसकिएको कुरा लेख्न कथाकै सहारा लिनुपर्छ ? पत्रकार र लेखकमा को बढी जिम्मेवार हुन्छ ?
लेखन र पत्रकारिता दुवै मेरा प्रिय कर्म हुन्, दुवै मैले आफैँ रोजेका बाटा। लेखनले मेरो मस्तिष्कलाई आनन्द दिन्छ, पत्रकारिताबाट आफू र आफ्नो परिवारको गुजारा गरिरहेको छु। आफूलाई लागेका कुरा कथा र साहित्यका अन्य विधामार्फत निर्धक्क भन्न पाउँछु। पत्रकारितामा साहित्यमा जस्तो स्वतन्त्रता अलि हुँदैन। पत्रकारिताका निश्चित मापदण्ड छन्, विधिविधान छन्, धर्म छ र व्यावसायिकता पनि। र, जिम्मेवारीबाट त जसरी एउटा पत्रकार भाग्न सक्दैन–मिल्दैन, साहित्यकारले पनि कहाँ मिल्छ र जिम्मेवारीबाट पर बस्न ! साहित्य लेख्ने मैले आर्थिक पत्रकारिता गरेको देख्दा कतिपय शुभेच्छुकले अचम्म मानेका छन्। पत्रकारिताको एउटा महत्वपूर्ण बिट हो, आर्थिक पत्रकारिता। आर्थिक पत्रकारिता गर्न थालेपछि मैले मुलुकका गरिब नागरिक, साहूमहाजनका शोषण, देशको आर्थिक असफलताबारे जानेँ। धनको असमान वितरणले दुनियाँमा कस्ता–कस्ता विद्रोह भएका छन् ? अध्ययन गर्ने मौका पाएँ। त्यसले मलाई कथा लेखनमा पनि मद्दत पुगेको छ।
समकालीन कथाकार कस्तो लेखिरहेका छन् ? उनीहरूले नेपाली कथाको स्तरवृद्धिमा कुनै योगदान गरेका छन् कि परम्परामा लेखिएका कथाभन्दा अगाडि पुगेकै छैनन् ?
नेपालमा समर्पित कथाकार निकै कम छन्। पछिल्लो समय उपन्यासमा अधिकांश कथाकार आकर्षित भएका छन्। मेरा समकालीन कथाकारमा नयनराज पाण्डे, महेशविक्रम शाहले राम्रा कथा लेखिरहेका छन्। यद्यपि, नेपाली कथाको जुन ढंगमा स्तरवृद्धि हुनुपर्ने हो, त्यो चाहिँ हुन सकिरहेको छैन। मेरा समकालीन कथाकारले परम्परागत कथालेखनबाट मुक्तिको बाटो खोजिरहेका छन्। यति चाहिँ भन्न सक्छु– समर्पित कथाकारको अभावका कारण नेपाली साहित्यमा उम्दा कथा आउनै बाँकी छन्।
अघिल्लो कथा–किताब ‘शुक्रराज शास्त्रीको चश्मा’ चर्चामा आयो। ‘अघोरी’का कथा अघिल्ला कथाभन्दा के मानेमा फरक छन् ?
अघिल्लो कथासंग्रह ‘शुक्रराज शास्त्रीको चश्मा’ मा अधिकांश कथा राजनीतिक थिए। ‘अघोरी’ मा विषय विविध हुनुका साथै शैलीगत, विषयगत, प्रस्तुतिमा पनि केही फरकपन ल्याउने प्रयास गरेको छु। अघिल्लो पुस्तकभन्दा यो कुनै पनि अर्थमा फरक हुनुपर्छ र राम्रो हुनुपर्छ भन्ने मेरो चाहना हो। हरेक नयाँ पुस्तक अघिल्लोभन्दा स्तरीय भएन भने त्यसलाई प्रकाशन गर्नु नै किन ? ‘अघोरी’मा मैले मेहनत अलि बढी नै गरेको छु।
समकालीन आख्यानकारमा कसले सबैभन्दा महत्वपूर्ण र ‘स्ट्यान्डर्ड’ आख्यान लेखिरहेका छन् ?
समकालीन आख्यानको आयतन निकै फैलँदै गएको छ। पछिल्लो पुस्ताले आशा देखाएको पनि छ। कुनै पनि पुस्तकलाई स्ट्यान्डर्ड भनी टाँचा लगाउन तुलना गर्नुपर्ने हुन्छ। तुलना अरू लेखकसँग र उसकै अघिल्लो पुस्तकसँग पनि गर्न सकिन्छ। यसरी हेर्दा म अहिले नै यही आख्यान स्ट्यान्डर्ड वा यही लेखक स्ट्यान्डर्ड भन्ने पक्षमा छैन। यति चाहिँ पक्का हो, नेपाली लेखकले प्रशस्त मेहनत, अध्ययन, अनुसन्धान गरेर लेख्न अझै बाँकी छ। तर, आशाका झिल्का भने देखिन थालेका छन्।
तपाईं कथामा राजनीति लेख्नुहुन्छ। राजनीतिका कुरूप पक्ष र विसंगत समाजका कुरा लेख्नुहुन्छ। हामीकहाँ राजनीतिक र सामाजिक रूपमा सचेत भएर अहिले कथा कत्तिको लेखिएका छन् ?
मैले सबैभन्दा बढी राजनीतिक विषयमै कथा लेखेँ। राजनीति सबै नीतिको माउ–नीति हो। यो धमिलिँदा अरू सबै धमिलिन्छन्। समकालीन राजनीति यति धमिलो हुँदै गएको छ कि, छिट्टै यो सङ्लने छाँट छैन। अर्कोतिर हाम्रा सामाजिक मान्यता स्थिर खालका छन्, तिनमा परिवर्तन ल्याउन पनि राजनीति अग्रगामी हुनुपर्छ। तर, दुर्भाग्य, राजनीति यथास्थितिमा रमाइरहेको छ। त्यो राजनीतिमा हमला नगरी एउटा सचेत लेखक कसरी बस्न सक्ला ! राजनीतिक विषयमै पनि अलि स्तरीय कथा लेख्न सकिन्छ, पाकिस्तानका सआदत हसन मन्टो उदाहरणका निम्ति काफी छन्।
किनारीकृत र आवाजहीन मानिसका पक्षमा कथा लेख्नुहुन्छ तपाईं। मानिसहरू त्यो ठेक्का कम्निस्ट लेखकहरूको मात्रै हो जसरी पन्छिन्छन्। फेरि ती मानिसमाथि लेख्दा राजनीतिक नाराजस्ता लाग्ने लेखन नै बढी भएको देखिन्छ। यसमा तपाईंको भन्नु के छ?
आफूलाई जिम्मेवार ठान्ने लेखकले किनारीकृत, आवाजविहीन, विभेदको शिकार बनाइएका मान्छेका बारेमा कथा लेख्नैपर्छ। यस्ता विषयमा कथा लेख्ने ठेक्का वाम लेखकको मात्रै होइन। सबै जिम्मेवार लेखकले लेख्नुपर्छ। दबिएका, थिचिएका मान्छेको आवाज दुनियाँलाई सुनाउन पनि यी विषयमा कथा लेख्नुपर्छ। राज्यले विभिन्न बहानामा किनारमा फालेको वर्ग आफै आफ्नो आवाज उठाउन सक्दैन। त्यसैले लेखकले स्वर दिनुपर्छ। जब यो वर्ग आफ्नो आवाज आफैँ निकाल्नसक्छ, त्यसपछि मजस्ता लेखकले कुनै अरू नै विषयको खोजी गर्नुपर्नेछ। तर, एउटा साहित्यकारले नारा होइन, कथामा कलात्मकताबारे त सोच्नैपर्छ।
तपाईंका पूर्ववर्ती वा समकालीन कथाकारले कुनै एउटा महान् कथा लेखेका छन् ? छ भने उनीहरूका नाम पनि खुलाइदिनुस न !
मैले आफ्नो देशभित्र ‘महान्’ कथाकार आजका मितिसम्म पाएको छैन। तर, राम्रा कथाकार चाहिँ पाएको छु। बीपी कोइराला, पारिजात, रमेश विकल, गुरुप्रसाद मैनाली, मनु ब्राजाकीलगायत कथाकारका केही कथा उच्चस्तरका छन्।
‘विकृत सेक्स’ र ‘दमित वासना’लाई लेखकहरूले कथाको विषय बनाइरहेकै छन्। तपाईं यसबाट कति टाढा हुनुहुन्छ?
सेक्स मानवजीवनको एउटा अभिन्न पाटो हो। त्यस विषयमा कथा लेख्नु अन्यथा होइन। तर, सेक्स लेख्दा राजनीतिक कथामा भन्दा पनि बढी कलात्मकतामा ध्यान दिनुपर्छ। राजनीतिक कथामा कला कमजोर भयो भने त्यो नारा बन्ला, तर सेक्स कथामा कला भएन भने त्यो के बन्ला ? त्यसले समाजमा कस्तो असर गर्ला ? मलाई सेक्स, बजारु प्रेम, वासनाजस्ता विषयले खासै आकर्षण गरेनन्। साहित्य वा कथामा उठाउनुपर्ने विषय अरू नै प्रशस्त छन्। सेक्स वा किशोर–किशोरीबीचको हल्काफुल्का प्रेमले मेरो दिमागलाई प्रभाव पार्न सकेको छैन। त्यसैले यसबाट अलि टाढै छु।
तपाईं समीक्षक पनि हुनुहुन्छ। लेखनमा झुर, बेजोड वा महान् भन्ने मापन कुन आधारमा कसरी गरिन्छ?
मैले केही समीक्षा लेख्ने प्रयास विगतमा गरेको हुँ। एउटा फ्रेमभित्र सबै खाले लेखकलाई कोचेर गरिने परम्परागत समीक्षाको कुनै अर्थ छैन। समीक्षा पनि एउटा रचना हो भन्ने मान्यताबाट प्रेरित भएर मैले त्यो विधामा हात हालेको हुँ। मैले जेजति समीक्षा लेखेँ, कसैलाई महान् चाहिँ भनिनँ, तर झुर भनेँ कारणसहित। झुर भनेर लेख्नका निम्ति हरेक पुस्तकलाई विभिन्न कोणबाट दुईचार पटक पढेँ। समीक्षाको आधार योभन्दा अर्को के नै होला र ?
नेपाली समीक्षाको वर्तमान दृश्य कस्तो छ?
वर्तमान समीक्षाको दृश्य धमिलो छ। समीक्षाले विश्वास गुमाउँदै गएको छ। साँझको बसउठ, खामबन्दी, सिन्डिकेट, गुटउपगुट, राजनीतिक विचार, नातागोताजस्ता विकृतिले समीक्षालाई अविश्वसनीय बनाएको हो।
पत्रपत्रिकामा अचेल तपाईंका किताब– समीक्षा नियमित आउँदैनन्। समीक्षा गर्ने आँट हराएको हो?
केही वर्ष राष्ट्रिय स्तरका म्यागजिन, ठूला आकारका दैनिकमा नियमितजसो पुस्तक समीक्षा लेखेको हुँ। तर, त्यसले मलाई दुइटा हानि ग¥यो। एउटा आफ्नो सिर्जनात्मक लेखन ओझेल पर्न थालेको महसुस हुन थाल्यो भने अर्को लेखकहरूसँग दुश्मनी बढ्न थाल्यो। समीक्षा लेखेकै कारण भौतिक आक्रमणसम्मको धम्की बेहोर्नुपर्यो। कोही–कोही लेखक त मैले तिनको कृतिलाई झुर भनी समीक्षा लेखेका कारण लामो समयदेखि मसँग बदलाको भाव साँचेर बसिरहेका छन्। खामबन्दी, साँझको उठबसजस्ता प्रस्ताव नमान्दा नातासम्बन्ध तोडिन पुग्यो। केही नजिकका साथी पनि मसँग रिसाए। मेरो पुस्तकमाथि पनि झुर भनेर समीक्षा लेखिएका छन्, केही त आग्रहपूर्वक पनि, तर मलाई कहिल्यै रिस उठेन। न त बदलाको भाव नै मभित्र जन्मियो। एकप्रकारले आग्रहरहित र स्तरीय समीक्षा लेखन दुस्साहस रहेछ। त्यसैले बिस्तारै मेरो आँट हराउँदै गएको साँचो हो। समीक्षा लेख्नका निम्ति गर्नुपर्ने मेहनत र बेहोर्नुपर्ने चुनौतीलाई परै छाडेर आफ्नो सिर्जनात्मक लेखनमा ध्यान दिनु बुद्धिमानी लागेकाले समीक्षा लेख्न स्थगित गरेको हुँ।