१८ वर्षपछि भ्रष्टाचार अभियुक्त पक्राउ
काठमाडौं : अदालतबाट भ्रष्टाचार ठहर भएको १८ वर्षपछि एक करोड २३ लाख रुपैयाँ भ्रष्टाचारका अभियुक्तलाई प्रहरीले समातेको छ। १० करोड रुपैयाँबराबर ‘एलसी घोटाला’ प्रकरणमा ठूला घराना व्यापारीसँग मुछिएका ललितपुर धापाखेलका रामकुमार खड्कालाई अपराध अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्रिएको हो।
विशेष सूचनाका आधारमा खड्कालाई धापाखेलबाटै समातिएको सीआईबी प्रवक्ता उत्तमराज सुवेदीले बताए। ‘२०५७ सालमा भ्रष्टाचार ठहर भएको रहेछ। मुद्दा चलेदेखि नै फरार रहेका उनलाई पक्राउ गरी थुनामा पठाउने प्रयोजनका लागि लगत कस्न काठमाडौं जिल्ला अदालतको जिम्मा लगाएका हौं’, उनले भने।
काठमाडौं महानगरपालिका– १ गणबहाल निवासी उद्योगी रामकुमार अग्रवाल (भद्रपुरिया) समूहबाट २०५६ सालमा भएको ‘एलसी घोटाला’ प्रकरणमा खड्कासमेत मुछिएका थिए। अग्रवाल समूहले १० करोड रुपैयाँ घोटाला गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन अदालत पाटनमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार मुद्दा हेर्न विशेष अदालत गठन नहुँदै २०५९ सालअघि पुनरावेदनमा दर्ता हुने गरेको थियो। ‘एलसी काण्ड’मा मुख्य नाइके रहेका अग्रवाललाई १० करोड रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय तोकिएको छ। अग्रवाल पनि फैसलालगत्तै फरार छन्। सोही प्रकरणमा मुछिएका खड्कालाई एक करोड २३ लाख ५३ हजार आठ सय ८० रुपैयाँ जरिवाना र एक वर्ष कैदको फैसला भएको थियो।
बैंकमा एलसी खोल्ने प्रयोजनका लागि खड्काको नाममा संस्था दर्ता भएको जनाइएको छ। ‘भ्रष्टाचार ठहर भएदेखि नै फरार रहेको अवस्थामा पक्राउ गरी प्रहरीले बुझाएको थियो। तहसिलबाट सबै लगत राखेर कारागार चलान गरेको छ’, काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी विकास श्रेष्ठले भने।