उद्घाटन खेलमा आयोजक विजयी
सिन्धुली : ‘मोहनविक्रम थापा स्मृति कप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण बिहीबारदेखि सिन्धुलीमा सुरु भएको छ। यो सिन्धुली जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता भएको जानकारी आयोजक भिमान युवा क्लबका अध्यक्ष रवीन्द्र माझीले दिए। कमलामाई नगरपालिका वडा नम्बर ९ स्थित जनजागृति मावि भिमानको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भिमान युवा क्लबको ‘ए’ टोलीले सफलता हात पारेको छ।
भिमान युवा क्लबको ‘ए’ टोलीले प्रतिस्पर्धात्मक खेलमा जनसंगम युवा क्लब चन्दनपुरलाई ३–२ गोलले हरायो। शुक्रबारको खेल न्यु स्टार युवा क्लब मन्थली रामेछाप र चाँदनी युवा क्लबको ‘ए’ टोलीबीच हुने जानकारी आयोजक क्लबका सचिव दिनेश न्यौपाने दिए। प्रतियोगितामा १४ वटा टोलीको सहभागिता रहेको छ। यसअघि जनजागृति माविको खेलमैदानमा प्रतियोगिताको भव्य उद्घाटन गरिएको थियो।
स्व. मोहनविक्रम थापाका छोरा तथा समाजसेवी उज्ज्वलविक्रम थापाले प्रतियोगिताको उद्घाटन गरे। समाजसेवी एवं राजनीतिज्ञ स्व. मोहनविक्रम थापाको स्मृतिमा उनका छोराले गत वर्षबाट जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएका छन्। प्रतियोगिताको विजेतालाई एक लाख ५० हजार र दोस्रो हुने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार उज्ज्वलविक्रम थापाले नै उपलब्ध गराएका हुन्।
उद्घाटन कार्यक्रममा समाजसेवी थापाले आगामी प्रतियोगिताबाट मोहनविक्रम थापा स्मृति फुटबल प्रतियोगिताको नाम परिवर्तन गरी गोल्डकप प्रतियोगिताको रूपमा आयोजना गरिने जानकारी दिए। प्रतियोगिताको समापन समारोहमा जिल्लाबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सफलता हात पार्ने खेलाडी र संगितको माध्ययमबाट जिल्लालाई चिनाउन सफल लोकगायक स्व.कृष्णविक्रम थापालाई मरणोपरान्त सम्मान गरिने समेत थापाले बताए। प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ। प्रतियोगितामा सिन्धुली ट्रस, जिल्ला खेलकुद विकास समिति, स्थानीय संघसंस्था, कमलामाई नगरपालिकालगायतको सहयोग रहेको छ।