लोकतन्त्रका लागि तरुण दल
२०१० साल कात्तिक १० गते नेपाल तरुण दलको स्थापना गर्दा बीपी कोइरालाको एउटा सपना थियो– प्रजातान्त्रिक समाजवादी विचारलाई युवाका माध्यमबाट जनतामा स्थापित गराउने। देशैभरबाट जम्मा भएका तरुणलाई सम्बोधन गर्दै बीपीले भनेका थिए, ‘अहिले विश्वमा शक्तिको नग्न होड चलिरहेको छ र तानाशाही व्यवस्थालाई ग्राह्य बनाउने हेतुले समाजवादको संज्ञा दिने प्रयत्न भइरहेको छ।
समाजवाद स्थापनाका लागि आर्थिक विकास अपरिहार्य छ। समाजवाद सिर्जनाका लागि उत्पादनका साधनको पूर्ण विकास र औद्योगिक उन्नति आवश्यक हुन्छ।’ तर केवल आर्थिक विकासलाई मात्र समाजवाद भन्न नसकिने बरु व्यक्ति नै समाजवादको जीवित तत्व भएको बीपीको निष्कर्ष थियो। उनी समाजवाद र प्रजातन्त्रलाई अभिन्न मान्थे। ‘जुन समाजमा नागरिक स्वतन्त्रता अपहरण हुन्छ वा उनीहरूले संगठनको स्वतन्त्रता पाउँदैनन्, जहाँ न्यायालय स्वतन्त्र छैन, जहाँका नागरिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा स्वच्छन्दतापूर्वक बहस गर्न पाउँदैनन्, त्यहाँ समाजवाद पनि रहन सक्दैन।’
नेपाली कांग्रेसको स्थापनापछि नेपाल तरुण दल स्थापनाका लागि जोड दिनुमा मुलुक परिवर्तनमा युवाको भूमिकाबारे बीपीले प्रस्ट सपना देखेको बुझ्न कठिन छैन। त्यसबेलै बीपीले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए। खासगरी आँट र साहसका धनी युवा, विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी विचारलाई जनतामा स्थापित गराउने योजना उनको थियो।
तत्कालीन राजा महेन्द्रका सेनाले राजाको आदेशमा तरुण सभालाई सम्बोधन गर्दै गर्दा बीपीलाई मञ्चबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नुअघि बीपी विश्वमा समाजवादको अन्तिम विजय हुनेमा आफ्नो विश्वास प्रकट गरिरहेका थिए। उनले राजनीतिलाई सत्ता संघर्षका रूपमा कहिल्यै लिएनन् बरु युवालाई संगठित गर्दै समाज परिवर्तन गर्ने उनको सपना थियो।
राजा महेन्द्रकालीन अँध्यारो कालखण्डमा समेत बीपी कोइरालाले राजनीतिमा थकान र शान्तिपूर्वक बस्ने सुविधा नहुने भन्दै जनताको मुक्तिका निम्ति लामो संघर्षमा आफूलाई होमे। उनमा मूलतः युवाबाट नै आशा थियो। ०१७ सालमा राजा महेन्द्रको शाही कूका विरुद्ध सडकमा टाउकोमा कफन बाँधेर उत्रने शैलजा आचार्य, मार्शलजुलुम शाक्यजस्ता युवा नै थिए।
आन्दोलनको मैदानबाटै जन्मेर नेपाली जनताको मुक्तिका निम्ति अनवरत संघर्षरत नेपाली कांग्रेसको पहिलो संगठन हो तरुण दल। तर नेपालका कतिपय राजनीतिक दलको भन्दा लामो इतिहास बोकेको संगठन तरुण दल भने मातृपार्टीका कारण मरणासन्न अवस्थामा छ।
नेपालमा वामपन्थी वर्चस्व बढ्दै जानुमा वामहरूको असल कामभन्दा कांग्रेसको असफल नीति मुख्यतः जिम्मेवार छ ।
२०५४ सालमा युवा संगठनको आवश्यकता महसुस गरी कांग्रेस महासमिति बैठकले तरुण दलको पुनस्र्थापना गर्यो। बालकृष्ण खाँडको नेतृत्वमा पुनर्स्थापित तरुण दलले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गर्न प्रारम्भिक दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। तर आज तरुण दल पार्टीको अन्य निकायमा भूमिका नपाएका केही थान युवालाई थन्क्याउने मञ्च बन्न पुगेको छ।
पार्टी नै बेथितिग्रस्ता बन्दा आमनिर्वाचनजस्तो राजनीतिक उत्सवमा पनि आशालाग्दा युवालाई तरुण दलका माध्यमबाट परिचालन गर्न सकेन। मुलुकमा भ्रष्टाचार व्याप्त छ, महँगीले आकाश छोएको छ, मानवअधिकार हननका दर्जनौं घटना भइरहेका छन्। तर यी विषयलाई उठाएर राज्यलाई सही बाटोमा हिँडाउन भूमिका खेल्नुपर्ने कांग्रेस र शान्तिपूर्ण रूपमा सडकमा निस्किनुपर्ने तरुण दल बेखबर छ।
माउ पार्टी कांग्रेस स्वयं दिशाविहीन अवस्थामा छ। यसको मूल कारण विचार–विमर्शको अनुपस्थिति नै हो। राजनीतिको लक्ष्य र कार्यपद्धतिलाई पार्टी नेतृत्वले आम कार्यकर्तासम्म पुर्याउन सक्नुपर्थ्यो, तर त्यसो हुन सकेको छैन।
कांग्रेसलाई वास्तवमै जनताको पार्टी बनाउने हो भने युवा, विद्यार्थी र तरुणले कष्ट भोग्नैपर्छ, संघर्ष गर्नैपर्छ। तरुण दल सक्षम, विश्वसनीय र प्रतिभावान् युवाहरूको मञ्च बन्न नसकेको आरोप लगाइन्छ। यस्तो दोष दिएर मात्र हुँदैन। लामो समयसम्म चार सदस्यीय तरुण दल बनाएर जगै हँसाउने काम पार्टीबाटै भएको छ।
वास्तवमा तरुण दलको स्थापना प्रजातान्त्रिक समाजवादप्रति आस्था जगाउने, समाजवादी तरुणबीच एकता बलियो बनाउँदै अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग सम्बन्ध स्थापित गर्ने, युवा विद्यार्थी र तरुणलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्तअन्तर्गत बौद्धिक, सांस्कृतिक, शैक्षिक तथा राष्ट्र निर्माण कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले भएको थियो। तर तरुण दल मात्र नभएर कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संगठनहरू पनि प्रभावकारी बन्न सकेका छैनन्। आज युवा विद्यार्थी र तरुणले मुलुकको उन्नतिभन्दा आफ्नै उन्नतिलाई प्रधान ठान्न थालेका छन्।
२०१६ जेठमा बीपीले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको शपथ लिएलगत्तै तरुण दललाई विकास र जनचेतनाको अभिभारा सुम्पेका थिए। कांग्रेसको सरकारले अघि सारेका प्रत्येक प्रगतिशील कार्यहरूको कार्यान्वयनमा प्रतिगामीहरूको प्रहार परास्त गर्ने पहिलो शक्ति भएर युवाहरूकै संगठन अगाडि आयो। सोही समयदेखि यस संगठनमाथि हरेक तवरबाट प्रहार गर्न थालियो।
बीपीले सबैभन्दा बढी भरोसा गरेको संगठन तरुण दल आज वैधानिक अस्तित्वमा मात्र छ। आसन्न पार्टीको महासमिति बैठकमा देशैभरका जिम्मेवार सदस्यले भ्रातृ एवं शुभेच्छुक संगठनको संरचना परिवर्तन तथा परिचालनका बारेमा विहंगम बहस गर्न आवश्यक छ। नेपालमा वामपन्थी वर्चस्व बढ्दै जानुमा वामहरूको असल कामभन्दा कांग्रेसको असफल नीति मुख्यतः जिम्मेवार छ। समयमै कांग्रेसले युवाहरूलाई वैचारिक फाँटमा सशक्त नबनाउने हो भने पार्टीकोे भविष्यप्रति संशय त पैदा हुन्छ नै, लोकतन्त्रको स्थायित्वमा समेत प्रश्न खडा हुनेछ।
-आचार्य तरुण दलका पूर्वप्रवक्ता हुन्।