एसिडपीडित बन्दै दीपिका
मुम्बई: पद्मावतपछि दीपिकाको मूल्य निकै बढेको छ। उनी थोरै फिल्म छानेर काम गर्न थालेकी छन्। ‘राजी’ फिल्मका निर्देशक मेघना गुलजारको नयाँ फिल्ममा दीपिकाले साइन गरेको खबर सार्वजनिक भएको छ।
मेघनाको पछिल्लो फिल्म ‘राजी’ आएको थियो जसमा आलिया भट्टले लिड रोल निर्वाह गरेकी थिइन्। यो महिला प्रधान फिल्म थियो। दीपिकाले अभिनय गर्ने नयाँ फिल्म एसिडपीडित लक्ष्मी अग्रवालको कथामा आधारित हुने बताइएको छ। मेघना अहिले यो फिल्मको तयारी गरिरहेकी छन्। यस पटक पनि उनी महिला प्रधान फिल्म नै बनाइरहेकी छन्। यसको कथा निकै फरक रहेको बताइएको छ।
यो फिल्ममा दीपिकाले अभिनयको साथमा प्रोडक्सनको काम पनि सम्हाल्ने भएकी छन्। दीपिका फिल्मकी निर्माता पनि हुन्। फिल्मको शीर्षक अहिलेसम्म तय भएको छैन। लक्ष्मीलाई १५ वर्षको उमेरमा एक ३२ वर्षीय युवाले एसिड प्रहार गरेका थिए।
यो घटनापछि लक्ष्मीले हिम्मत गरेर एसिड प्रहार गर्ने युवालाई सजाय दिलाइन्। उनले कयौं आफूजस्तै एसिडपीडित युवतीका लागि अभियान नै सञ्चालन गरिन्। उनको यो साहसलाई पर्दामा देखाउन दीपिका निकै उत्साहित छिन्। दीपिकाले भनिन्, ‘जब मैले यो कथा सुनेँ, मलाई निकै दुःख लाग्यो। यो केवल हिंसा मात्रै होइन तागत र साहस, आशा र जितको कथा पनि हो। यसले मलाई निकै प्रताडित गर्यो र यसमा फिल्म बनाउने थालेको हुँँ।’
मेघनाका अनुसार दीपिका फिल्ममा लक्ष्मीको भूमिकामा उपयुक्त छिन्। फिल्मको काम चाँडै सुरु हुँदैछ।