एचाईभी संक्रमित : रोगसँगै पारिवारिक बोझ
अछाम : चौरपाटी गाउँपालिका–१ की विष्णा साउद दिनभरि साँफेबगरनजिकै छिपेखोलामा गिट्टी कुट्छिन्। साँझ–बिहानको छाक टार्न र स्थानीय जनकल्याण मावि कक्षा ३ मा पढिरहेकी छोरीलाई खर्च जुटाउन उनले गिट्टी कुट्न थालेकी हुन् । विष्णा २० वर्षकी हुँदा भारतको पञ्जावमा काम गर्ने उनका श्रीमान्को ८ वर्षअघि एचआईभीका कारण मृत्यु भएको हो।
छोराको ज्यान एचआईभीले जानुको दोष लगाउँदै उनलाई श्रीमान्को मृत्युपछि सासू–ससुराले घरबाट निकालिदिएपछि उनको सहारा छिपेखोलाको गिट्टी बनेको हो। छोरी भूमिका दुई वर्षको हुँदादेखि नै गिट्टी कुटेर गुजारा गर्न थालेकी हुन् । ‘२० वर्षको कलिलै उमेरमा श्रीमान् गुमाउनुको पीडा त छँदै छ, झन् सासू–ससुराले घरबाट निकालेको पीडा बिर्सिनसक्नु छ’, उनले भनिन्, ‘एकातर्फ रोग छ, अर्कोतर्फ छोरी हुर्काउने र पढाउने बोझ ।’ उनले बिरामी हुँदा उपचारका लागि खर्च जुटाउन नसकेको र धेरै दिन भोकै बसेको बताइन्। ‘आफू बिरामी भए गिट्टी हुन्थेन, गिट्टी भएन भने भोकै बस्नुपथ्र्यो’, उनले भनिन् ।
एचाईभी संक्रमितको प्रतिरक्षा शक्ति कम हुने भएकाले सामान्य झाडापखाला, रुघाखोकीजस्ता रोगले पनि उनीहरूलाई च्याप्ने गर्छ। ‘काम गर्न सकिँदैन, सहयोग कहीँ–कतैबाट छैन, दुःख पर्दा परिवार त आफ्नो भएन, अरूबाट के आस गर्नु ? ’ उनले भनिन् ।
विष्णा मात्र होइन, अछामकै साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी एचआईभी संक्रमित झुप्री कोलीको समस्या पनि उस्तै छ। उनका ५ सन्तानमध्ये २ छोरीले बिहे गरिसके भने तीन जनाको पारिवारिक बोझ उनकै टाउकोमा छ। ‘छोराछोरीलाई पढाउन गाह्रो छ, सरकारी स्कुलमा कहिले परीक्षा शुल्क त कहिले सांस्कृतिक कार्यक्रम गर्ने भनेर पैसा माग्छन्, कमाउने कोही छैन’, उनले गुनासो गरिन् ।
झुप्रीले घरको समस्या टार्न नसकेकाले कक्षा १० मा अध्ययनरत १७ वर्षका छोरालाई काम गर्न भारत पठाएकी छन्। ‘हाम्रो रोग भारतबाटै आयो, फेरि भारत जानुको विकल्प छैन, नुन तेलको खर्चकै लागि पनि छोरालाई भारत पठाउन बाध्य भएँ’, उनले भनिन् ।
बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेवीकी संक्रमित सुन्तला भुल ३५ वर्षकी भइन्। उनले २९ वर्षको उमेरमा श्रीमान् गुमाइन्। सुन्तलाका एक छोरा र एक छोरी छन्। छोरी १० र छोरा कक्षा ६ मा पढ्छन्। ‘आयआर्जनको कुनै बाटो छैन, दुःख बुझिदिने कोही छैन’, उनले भनिन् ।
गाउँघरमा एचआईभी संक्रमितका लागि केही सहज वातावरण भए पनि पूरै सकारात्मक परिवर्तन हुन नसकेको अन्तरपार्टी महिला सञ्जाल बान्नीगढी जयगढ गाउँपालिकाकी अध्यक्ष निर्मला साउदले बताइन्। ‘स्थानीय तहले एचआईभी संक्रमित महिलालाई आर्थिक रूपमा सवल हुने खालका कार्यक्रम ल्याउन जरुरी छ’, उनले भनिन् ।
रोजगारीका लागि भरत जानेको यकिन तथ्यांक सरकारी निकायसँग नभए पनि सुदूरपश्चिम प्रदेशबाट करिब नौ लाख मानिस भारतमा रहेको गैरसरकारी संस्था डब्लु एसी (वाक) नेपालको दाबी छ। भारतमा रोजगारी गर्न जाने पुरुषबाटै नेपालमा एचआईभी संक्रमण बढिरहेको तथ्यांक छ। अछाममा मात्रै एचआईभी संक्रमित महिलाको संख्या ५ सय ७८ छ भने त्यसमध्ये ३ सय ८६ जना एकल महिला छन् ।