अनेक अब्बल चित्र
उपन्यासकार नारीप्रति उच्च सम्मान राख्छन् तर उनको लेखनले पितृसत्ताको अन्धोपनलाई फाल्न सकेको छैन।
‘तैंले दाम कमाउँछु भन्दा डर लाग्छ बिग्रन्छस् कि भनेर, नाम कमाउँछु भन्दा पनि पीर लाग्छ दुक्ख पाउँछस् कि भनेर। तर मैले भनेको मान्नु, सके सपार्नु नसके नबिगार्नू ! दामले कहिल्यै पुग्दैन बाबु, राम्रो काम अरेर नाम कमाएस्।’ (पृ. १४)
आमाका यिनै आशीर्वचनले प्रेरित गरेको थियो, कबललाई समाज परिवर्तनको बाटोमा लाग्न। सन्तानले सधैं राम्रो गरून् र नाम कमाऊन् भन्ने हरेक आमाका सपनाजस्तै आमाको यो सपना कबलले पूरा त गरेको छ तर ती सुदिन हेर्न आमा नै उसको साथामा छैनन्। जीवन भोगाइ यस्तै अनेक विपर्युक्तिको लामो यात्रा हो सायद ! ‘नाम’ उपन्यास पढिरहँदा पाठकका मनमा आउने सघन अन्तरविरोधी अनुभूतिले उपन्यासको अन्त्यसम्म स्थायी ठाउँ पाइरहन्छ। जीवन ऊहापोहको अकल्पनीय यात्राको अनन्त यात्री बनेको म पात्र कबलको आत्मकथ्यका रूपमा लेखिएको नामले राजनीति र प्रेमका दुई मूल दुई कथ्यलाई निकै कुतूहलतापूर्वक अघि बढाएको छ।
प्रभाव र पुष्परामले युद्धबाट प्राप्त उपलब्धिलाई फुटाई दुईवटा पार्टीको नेतृत्व गर्दै गर्दा कबल र नेत्रजस्ता कार्यकर्ताहरू कसरी शोषित हुन पुगेका छन् र दामोदर जस्ता दलालले नेतृत्वलाई कसरी भ्रष्ट बनाएका छन् भन्ने कथाले सबै राष्ट्रप्रेमी नेपालीको मुटु खान्छ। कथानकको अन्त्य अर्थात् कबल अर्थमन्त्री बनेको सन्दर्भबाट सुरु भएको म पात्रको जीवनकथाले पहिलो भागकै चारपाँच पेजपछि नै रैखिक क्रम समात्न थाल्छ।
कथानक अनुसार कास्कीको दुर्गम गाउँको एउटा चञ्चले ठिटो कबल उच्च अध्ययन गर्न थाल्दा नथाल्दै आन्दोलनमा लाग्छ। आमाबुवाको दुःख बुझ्दै उनीहरूसँग क्याम्पस पढ्दैछु भनी झुट बोल्छ। समाज परिवर्तनका लागि युद्धमा लागेर थुप्रै सहयोद्धालाई गुमाउँछ। युद्धमैदान, क्यानटनमेन्ट र जेलमा यातना सहन्छ। आफू लागेको पार्टी सरकारमा पुगेपछि पनि बेरोजगार हुन्छ। नेताको विश्वासमा पाएको काम पनि दामोदरजस्ता फटाहाका कारणबाट निकालिन्छ। दुर्घटनामा परेका बुवाको उपचार गर्न सक्तैन। अन्ततः जीवनभर साथ दिने कसम खाएकी प्रेमिकालाई समेत नसोधी कतार उड्छ। वैदेशिक रोजगारीमा काम गर्दागर्दै बिरामी पर्छ। यता आमा विक्षिप्त भई आत्महत्या गर्दा बुवाको विदेश पलायन हुन्छ। परिवारसँगको वियोगको पीडामा विक्षिप्त बनेर पाएको जागिर खोसाएको रिसमा पुष्परामको स्वकीय सचिव दामोदरलाई मारेर जेल पर्छ। भूकम्पले तहसनहस भएको अवसर छोपी जेलबाटै भागेर चेन्नई पुग्दा बुवा फेला पार्छ। जन्मगाउँ फर्किएर समाजसेवामा लाग्दै चुनाव जितेर अर्थमन्त्री बन्छ।
मूल घटनालाई क्रमबद्ध गर्दाका यिनै घटनाको सेरोफेरोमा नाम उपन्यासले साढे तीन सय पृष्ठको कथानकको आयतन बनाएको छ। अन्तिम परिच्छेदमा कबलले अर्थमन्त्रीका तर्फबाट देश विकासका लागि ३३ दिने कार्यक्रमका लागि राखेका ३३ सूत्रीय घोषणा वास्तवमै नेपालको विकासका सही मार्ग पनि लाग्छन्।
जम्मा आठ परिच्छेदमा संयोजन गरिएको उपन्यासको मोटो कलेवरले पाठकलाई जति तर्साउँछ, भाषा र औपन्यासिक संगठनको चातुर्यले उति नै नजिक पुर्याइदिन्छ। सरल र छोटा वाक्य गठनमा गहन चिन्तनको चहक बनाउन पत्रकारिताको लामो अभ्यास गरेको नवराजको जोशिलो युवा कलम सशक्त लाग्छ।
‘नाम’को नाम सरल लाग्छ तर साह्रै अभाव र गरिबीमा हुर्किएको कबल पात्र कम्युनिस्ट राजनीतिमा लागेर गरेको संघर्ष र उसले नाम कमाउन गरेको कथा उत्तिकै गहन र रोचक छ। नाम राख्नु भनेको समाजका लागि केही गर्नु हो। जतिसुकै विपन्नताले गाँजे पनि सही चिन्तन भएका आमाबाबुले दिएको असल संस्कार बोकेर छोराछोरी कसरी जीवनलाई उज्यालो बनाउन लाग्छन् भन्ने कुरा नाम उपन्यासले सिकाएको छ। परिवार, प्रेम, राजनीति र राष्ट्रका लागि कस्तो निष्ठा आवश्यक छ त भन्ने कुराको उदाहरण बोकेको नाम उपन्यासले मूलतः नेपाली राजनीतिको पछिल्लो एक दशक र केही वर्षको समयलाई समेटेको छ। यस समयमा नेपाली समाजले भोगेको जनयुद्ध र २०६२÷६३ को आन्दोलनपछि आएको परिवर्तनको लहर तथा माओवादी पार्टीको विघाटनले कार्यकर्ताको सपनामा पारेको चोटलाई चरम उचाइमा पुगेर देखाएको छ। यस दृष्टिले हेर्दा यो उपन्यास पछिल्लो समयको नेपाली राजनीतिको एउटा दस्तावेज पनि बनेको छ।
नाम उपन्यासले राजनीतिमा युवाहरूको उपस्थितिलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने रणनीति पनि लिएको छ। समाज परिवर्तनको वास्तविक बाटो के हो र युवाहरू कसरी यसमा अघि सर्न सक्छन् भन्ने कुरा कथाले बोकेको छ। सिद्धान्त र भाषण भट्याउने होइन कर्मशील भएर योजनाबद्ध रूपमा समाजको कर्मभूमिमा भिड्ने हो भन्ने उदाहरण कबलको कामले देखाएको छ।
नेपाली गाउँको गरिबी, वर्ग विभेदको घिनलाग्दो रूप, सीमान्तीकृतहरूको दशा तथा नारीको दुर्दशालाई पनि उपन्यासले उठाएको छ। मानिसभित्र खिइँदै गएको मानवताको दुब्लो स्वरूप, गरिबी र विवशताले गिजोलेको समाजको अवस्था, पितृसत्ताले खियाएको नारीको जीवन, वैदेशिक रोजगारीले उजाडिएको नेपाली गाउँ, कुनै राजनीतिक परिवर्तनले पनि फेर्न नसकेको गाउँको मुहार, सत्ताको लोलुपमा गरिने चुनावी माहोलमा हुने भ्रष्टताको रूप आदि आदिका अनेक चित्र उपन्यासले खिचेको छ।
आख्यानको मूल सौन्दर्य घटनाको सशक्ततासँग चरित्रचित्रणको जीवन्ततामा रहन्छ। नाम दुवै पाटोमा अब्बल छ। चरित्रलाई पाठकले कहिल्यै नबिर्सिने गरी उभ्याउने कलामा नवराजको कलम सफल छ। उपन्यास पढिसक्दा बा, आमा, कल्पना, कजना, स्यान्दिदी, दामोदर, पुष्पराम, डाँडाघरे साइँला... सबै पात्रका मूर्त विम्ब सजिलै कोरिन्छन्।
‘बाले दिएको पैसामै चुरोट र गोबरको गन्ध आउँथ्यो।’ यस्ता पंक्तिले चरित्रलाई मात्रै चिनाएका छैनन्, ग्रामीण संस्कृतिको मौलिक विम्ब उतारेका छन्। उपन्यासकार राष्ट्रिय जीवन, चरित्र र अवस्थालाई पनि छोटै अनुच्छेदमा यसरी चिनाइदिन्छन्, ‘हाम्रो मुलुकमा त पानी पनि गफ लाउँदै पर्छ र चोरबाटो खोज्दै बग्छ। हावा पनि पैसाकै लागि चलिरहन्छ। घामसमेत सल्लाह दिँदै उदाउँछ र कुरा काट्तै अस्ताउँछु।’ (पृ. ७६)।
उपन्यासकार नारीप्रति उच्च सम्मान राख्छन् तर उनको लेखनले पितृसत्ताको अन्धोपनलाई फाल्न सकेको छैन। छोरोमान्छे रुन नहुने, साँघुरो सोचको सन्दर्भ संवादमा आए पनि लेखकले त्यसलाई फरक तरिकाले प्रस्तुत गर्न सक्थे। कबल कल्पनाको शरीरलाई इच्छाअनुसार चलाउने चाहना राख्छ। हुर्केका केटाकेटीको यौन चाहना स्वाभाविक हो। कल्पना र कबलको आकर्षण पनि स्वाभाविक लाग्छ तर उनीहरूबीच भएको शारीरिक सम्बन्धको वर्णनले नेपाली समाजमा दिनदिनै हुने गरेको बलात्कारको घटनालाई सम्झाउँछ।
उपन्यासले प्रेम र रोमान्सका रोचक प्रसंगमा पर्याप्त स्थान ओगटेको छ। यी प्रसंग अभिव्यक्तिका तहमा उच्च स्थानका रहे पनि प्रेमप्रसंगका कतिपय सन्दर्भमा केटीलाई वस्तुकै झल्कोमा उभ्याउनु लेखकीय असचेतता भन्न सकिन्छ। कतिपय ठाउँमा नारीप्रतिको दृष्टिकोण साँघुरो घेरामा राखिनु र उनीहरूका यौनिकताको पाटोलाई बेवास्ता गरी पुरुषकै केन्द्रीयतामा लेखिनुले लैंगिक समानतामा असचेत हुन पुगेको झैं लागिरहन्छ।
स्थानीय भाषाको जीवन्त रूप औपन्यासिक यथार्थसँगै भाषिक सौन्दर्य र सांस्कृतिक विम्बको मूल आधार बनेको छ। जीवन्त संवाद, उखान टुक्काको प्रयोग, सटिक वर्णन कौशल र चिन्तनको विश्लेषणात्मक प्रस्तुतिले उपन्यासलाई उच्च तहमा पुर्याएको छ।