महत्वाकांक्षी कार्यक्रम ल्याउँदै राखेप

महत्वाकांक्षी कार्यक्रम ल्याउँदै राखेप

काठमाडौं : खेल प्रतिभाको खोजी गर्ने र उनीहरूलाई नियमित रूपमा प्रशिक्षणमा राखेर दक्ष खेलाडी तयार पार्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निकट भविष्यमै बृहत् रूपमा ‘मिसन स्कुल टु नेसनल गेम’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। राखेपले दसैंलगत्तै यो कार्यक्रम सुरु गर्न लागेको हो।

 अघिल्लो वर्ष यो कार्यक्रम सञ्चालन भए पनि विकेन्द्रित भएका कारण अपेक्षित प्रतिफल नआएपछि यस वर्षदेखि केन्द्रीकृत रूपमा सञ्चालन गर्न लागिएको जानकारी राखेप सदस्यसचिव केशवकुमार विष्टले दिए।

‘मिसन स्कुल टु नेसनल गेम’ कार्यक्रम अघिल्लो वर्ष नै सुरु भएको थियो। विकेन्द्रित रूपमा गरिएको कार्यक्रमबाट अपेक्षित नतिजा नआएपछि यो वर्षदेखि बृहत् र केन्द्रीकृत रूपमा आयोजना गर्दैछौं’, अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा सदस्यसचिव विष्टले भने, ‘मुख्य त राष्ट्रपति रनिङ सिल्डमा उदाएका प्रतिभालाई राष्ट्रिय खेलकुदसम्म कसरी पुर्‍याउने भन्ने यो कार्यक्रमको मुख्य उद्देश्य हो। यसका लागि दसैंलगत्तै बृहत् प्रशिक्षण सुरु हुँदैछ।’

राष्ट्रपति रनिङ सिल्डमा विगत तीन संस्करणका पदक विजेता खेलाडीलाई काठमाडौंमा राखेर दक्ष प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण दिइने जानकारी सदस्यसचिव विष्टले दिए। ‘राष्ट्रपति रनिङ सिल्डमा पदक विजेता खेलाडीलाई काठमाडौंमा विशेष प्रशिक्षण दिएर राष्ट्रिय खेलाडी तयार पार्ने अभियान सुरु गर्दैछौं’, विष्टले भने, ‘त्यसपछि आठौं राष्ट्रिय खेलकुदमार्फत पनि जिल्ला जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्नेछौं।’

यसैगरी इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औं एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लक्षित गरी ‘सार्क टु ओलम्पिक’ कार्यक्रम पनि चाँडै नै सुरु गरिने सदस्यसचिव विष्टले बताए। ‘एसियन गेममा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरी उनीहरूका लागि दसैंलगत्तै विशेष प्रशिक्षण सुरु हुनेछ’, उनले भने, ‘अहिलेसम्म नेपालमा हुन नसकेको विशेष प्रशिक्षण सार्क टु ओलम्पिक कार्यक्रममा हुँदैछ।’

सदस्यसचिव विष्टले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र ओलम्पिकलाई ध्यानमा राखेर यो विशेष कार्यक्रम सुरु गर्न लागिएको बताए। ‘सागदेखि ओलम्पिकसम्म लैजान खेलाडी तयार पार्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’, विष्टले भने, ‘यो कार्यक्रममा खेलाडीलाई विशेष सुविधा दिएर प्रशिक्षण सुरु गर्ने तयारीमा छौं।’

उनले उत्कृष्ट प्रशिक्षकको कडा निगरानीमा सन्तुलित डाइट दिएर वैज्ञानिक रूपमा ‘सार्क टु ओलम्पिक’ कार्यक्रममा सञ्चालन हुने बताए। ‘पुरानो र परम्परागत प्रशिक्षण विधिलाई हटाएर नयाँ र वैज्ञानिक विधिअनुसार प्रशिक्षण थालिनेछ’, उनले भने, ‘यसका लागि कस्तो ट्रेनिङ आवश्यक छ, त्यसको सुक्ष्म तरिकाबाट अनुसन्धान गरिने छ।’

विष्टले यो कार्यक्रमका लागि प्रशिक्षक दक्ष प्रशिक्षकलाई प्राथमिकता दिइने बताए। ‘यसमा सिनियर, जुनियर तथा स्थायी र अस्थायी प्रशिक्षकको कुरा हुँदैन। जो सक्षम छ, उसलाई प्राथमिकता दिइन्छ’ सदस्यसचिव विष्टले भने। विष्टले पोषणविद्को सल्लाह सुझावअनुसार नियमित डाइट दिने र खेलाडीलाई घरमा नभई क्लोज क्याम्पमै राखिने बताए।

राखेप सदस्यसचिवले खेलाडीको पढाइको व्यवस्था पनि परिषद्ले नै गर्ने बताए। ‘सानो संख्यामा उत्कृष्ट ट्रेनिङ हुने भएकाले खेलाडीको सुविधा पनि बढाउँछौं र उनीहरूको प्रशिक्षण समय पनि बढाउँछौं’, विष्टले भने, ‘अब खेलाडीका साथै प्रशिक्षकको पनि हरेक महिना मूल्यांकन गर्नेछौं।’ उनले विशेष प्रशिक्षणमा खेलको मात्र प्रशिक्षण नगरी खेलाडीमा देशभक्तिको भावना जगाउने किसिमका प्रशिक्षण पनि सुरु गरिने जानकारी दिए। ‘खेलाडीलाई खेल्न मात्र सिकाएर मात्र हुँदैन। उनीहरूमा देशभक्तिको भावना पनि विकास गर्नुपर्छ’ विष्ट भन्छन्, ‘देशका निम्ति कसरी त्याग गर्ने भन्ने कुरा खेलाडीलाई सिकाउनु आवश्यक छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.