भूपाल रार्इको कविता : प्रदर्शनीमा श्रीपेच
बहुत भाग्यमानी छन् गणतन्त्रका जनताहरू
जसले देख्न पाउनेछन्
बिलकुल आमुखमा
भूतपूर्व राजाको श्रीपेच
कथा, किंवदन्ती
वा तस्बिरहरूमा
अथवा महाराजहरूको राज्यरोहणमा
देखिने एक दुर्लभ दृश्य
देखिनेछ प्रदर्शनीमा
अन्तिम राजाको निधारको डाम
र अझै बासी नभइसकेको
राजसी गन्धसँगै
गणतन्त्र घोषणाको दसौं वर्षपछि
सार्वजनिक गरिएको छ श्रीपेच
व्यस्त छन् लगत टिप्न
पुरातत्व बिभाग
र, सुन चाँदी व्यवसायी संघ
जसमा छन् क्रमशः
सात सय ५० थान हीराका टुक्रा
२००७ टुक्रा मोती दाना
२७ थान पन्ना
१६ टुक्रा मणिमाणिक्य
साथमा नवरत्न, सुन
र ‘बर्ड अफ प्याराडाइज्’को पुच्छर
प्रदर्शनीमा छ निकै ठूलो हलचल
युगौंपछि
प्रत्यक्ष संवादमा छन्
एक अनौठो तिलश्मसँग
जनताका नाङ्गा आँखा
कतिलाई थाहा होला?
कुनै युगमा हराएका थिए
पुर्खाका हीराजस्ता आँखा
जो उनिएछन्
हीराकै हार भएर श्रीपेचमा
आफ्नै दुःखको फटिकबाट
पग्लिने असंख्य आमाका आँसु
कतिखेर ढालिएछन्
मोतीका नीला नीला दानामा !
त्यत्तिकै उत्तेजक छैन
श्रीपेचको कल्की
निभाएर अनाम चेलीहरूको
कुमारी बत्ती
बालिरहेछ शरीरभरि पन्ना, मणि माणिक्य
त्यत्तिकै गायब भएका होइनन्
इतिहासबाट देशका रत्नहरू
उत्तर हाजिर छ
तर मौन छ श्रीपेचको नवरत्न
बिना रगतको खपत
त्यत्तिकै पोतिएको होइन
श्रीपेचमा लाल लाल सुनको जलप
अबोध बालकहरूको
सपनाको प्वाँख नकाटी
कहाँ सम्भव थियो र
त्यति सुन्दर कल्की?
कतिलाई थाहा होला?
ऐनाको बुलेट प्रुफ बाकसभित्र
किस्ता किस्ता समयको सिसा गालेर
कसले बनायो
त्यो एक ढिका शक्तिको मुकुट?
प्रदर्शनीमा
निःसन्देह कुनै राजाहरू जोडिने छैनन् अब
तर, बिना श्रीपेचका केही राजाहरू भने
अवश्य पुग्नेछन् त्यहाँ
र नाप्नेछन् अदृश्य फित्ताले
श्रीपेच र आफैंबीचको घट्दो दूरी
गणतन्त्र घोषणाको दसौं वर्षपछि
प्रदर्शनीमा छ श्रीपेच
जहाँ एक से एक भाग्यमानी जनताहरू
हेरिरहेछन्
अभागी पुर्खाको खण्डित कथा।।