लोकतान्त्रिक समाजवाद : हिजो, आज, भोलि

लोकतान्त्रिक समाजवाद : हिजो, आज, भोलि

लोकतान्त्रिक समाजवाद एक विश्वव्यापी आन्दोलन हो। अन्य अनेकन् कुरासरह यसको सुरुआत भने युरोपबाट भएको हो। अझ त्यसमाथि पनि जर्मनीमा जन्मिएका कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले यस सिद्धान्तलाई मजबुत आधार प्रदान गरे। पछि जर्मनीमा नै एउटा मजबुत समाजवादी पार्टीको विकास भयो। तर, माक्र्स र एंगेल्सले कल्पना गरेको क्रान्ति भने जर्मनीमा कहिल्यै पनि भएन। उल्टो रुसमा हुन पुग्यो। तर, जर्मनी र रुसको समाजवादमा पुग्ने बाटो बेग्लाबेग्लै छुट्टियो। जर्मनीका समाजवादी विद्वान्हरूले संसदीय बाटोबाट समाजवादमा पुग्नुपर्ने र पुग्न सकिने जिकिर गरे। रुसका समाजवादीहरूले हिंस्रक क्रान्तिका माध्यमबाट मात्र समाजवादी राज्यको स्थापना गर्न सकिने घोषणा गरे।

उपर्युक्त दुई बाटोको विवाद आज पनि कायम छ। नेपालमा पनि यो विवाद अझै अनुभव र अध्ययनको विषय रहेको छ।

थोमस मेयेर जर्मनीका सुपरिचित समाजवादी चिन्तक हुनुहुन्छ। उहाँले लोकतान्त्रिक समाजवादका विषयमा अनेक पुस्तक लेख्नुभएको छ। थोमसको ‘लोकतान्त्रिक समाजवाद’ भन्ने शीर्षक रहेको प्रस्तुत पुस्तकले विश्व समाजवादी आन्दोलनको हिजो, आज र भोलिको तस्बिरको आकलन गरेको छ। यो पुस्तक सर्वथा पठनीय छ। पदमबहादुर थापाले यस पुस्तकलाई प्रस्तुत गरेर नेपालका राजनीतिक कार्यकर्तालाई ठूलो गुण लगाउनुभएको छ। थापा नेपाली कांग्रेससँग आबद्ध संघर्षशील बुद्धिजीवी हुनुहुन्छ। पार्टी प्रतिबन्धमा रहँदा निर्वासन र कारावास भोग्न उहाँ अग्रपंक्तिमा रहनुभयो। मैले उहाँको त्याग र साहसिकताको प्रत्यक्ष परिचय अनेकौंपटक प्राप्त गरेको छु। तर त्यो सब कुरो बेग्लै विषय हो। यहाँ लेख्ने प्रसंग भएन। एउटा कुरा भने भन्नैपर्छ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला विद्यार्थी कालदेखि नै समाजवादको सिद्धान्तका प्रति आकृष्ट हुनुहुन्थ्यो। पछि २००७ सालको क्रान्तिका अग्रगण्य नेता हुनुभयो। उहाँकै प्रेरणाले नेपाली कांग्रेसको वीरगन्ज महाधिवेशनमा पार्टीले समाजवादको लक्ष्य स्वीकार गर्‍यो। २०१२ सालको त्यस महाधिवेशनदेखि अहिलेसम्म बाग्मतीमा थुप्रै पानी बगिसक्यो। तर, नेपाली कांग्रेसका कार्यकर्ताका माझमा समाजवादको कुनै स्पष्ट तस्बिर अझै पनि देखिँदैन। यस अस्पष्टताका निम्ति पार्टीका नेताहरूलाई दोष दिन सजिलो छ। तर, कुरा त्यति सजिलो छैन।

लोकतान्त्रिक समाजवादको निरूपण, व्याख्या र विकासक्रम परिस्थितिको चपेटमा दिनानुदिन जटिल भएर गएको छ। तेस्रो विश्वको परिवेशमा लोकतान्त्रिक समाजवादका सिद्धान्तकार हत्प्रभ भएका छन्। युरोपको औद्योगिकीकरणको वातावरणमा प्रचलित समाजवादको जन्म भयो। तर, तेस्रो विश्वमा भने औद्योगिकीकरण अझै पनि आकाशको फल भएको छ। उता समाजवादको नारा भने अत्यन्त लोकप्रिय भएको छ। समाजवादको नाराले आमजनतामा आशाको सञ्चार गरिरहन्छ। तर, त्यो आशा साकार हुन चाहिने परिस्थिति हामीसँग छैन भन्ने कुरा नेता र कार्यकर्ताले बुझ्न र बुझाउन सकेको देखिँदैन। आशा कस्तो छ भने कोही नेता नेपाललाई सिंगापुर बनाउन चाहन्छन्। अर्को नेता स्विट्जरल्यान्ड बनाउने सपना देख्छन्। अर्का नेता नेपालमा छिटै नै वायुपंखी रेल र जहाज ल्याउने कुरा गर्दैछन्। यो सब कुरो समाजवादका नाममा हुँदैछ। नेपाली कांग्रेसले यो सबको विकल्पमा सही र स्वस्थ बाटो भने अर्कै छ है, भनेर भन्न सकिरहेको छैन। यस्तो भन्नका लागि नेपाली कांग्रेसले अन्त जानु पर्दैन। बीपी कोइरालाका आखिरी वर्षहरूका अभिव्यक्तिका उपर मनन–चिन्तन गरे पुग्छ। तर कांग्रेस अहिले त्यसका लागि तत्पर देखिँदैन।

बीपी कोइरालाले आफ्नो राजनीतिको प्रारम्भिक दशकहरूमा युरोपको अनुकरण नै उचित हो जस्तो कुरा गर्नुभएको थियो। कांग्रेसका योजनाकारहरू प्रारम्भिक बीपी कोइरालालाई अँठ्याएर बसेका छन्। आधुनिकीकरणका सपना बाँडिरहेका छन्। यस प्रवृत्तिका बारेमा पार्टीमा गम्भीर छलफल आवश्यक छ। पक्ष–विपक्षका दुवै तर्क पार्टीका अगाडि राख्नु परेको छ। प्रस्तुत पुस्तकको अध्ययनले यस दिशामा एउटा ठोस योगदान दिनेछ भन्ने मैले आशा राखेको छु।

सोभियत रुसको पतन किन भयो ?  भन्ने विषयमा प्रस्तुत पुस्तकले प्रकाश पारेको छ। सोभियत युनियन आफ्नो साधन र स्रोतभन्दा अघि बढेर धनी राष्ट्र बन्न चाहन्थ्यो। धनी बनेपछि आफ्नै सुरक्षाका निम्ति शक्तिशाली पनि बन्न चाहन्थ्यो। धनी र शक्तिशाली बन्ने होडमा सोभियत रुसको अर्थतन्त्र चकनाचुर भयो। आजको नेपालले त्यो बाटोमा हिँड्नु हुँदैन। नेपालले प्रत्येक नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मेदारी आफ्ना हातमा लिनुपर्छ। सँगसँगै दुई छाक पौष्टिक खाना खाने चाँजो मिलाउनुपर्छ। आर्थिक नीतिका हिसाबले नेपालले समृद्धि दरका पछि लाग्नु हुँदैन। नेपालले रोजगारीप्रधान अर्थनीति बनाउनुपर्छ। हाम्रा लाखन दाजुभाइ तथा दिदीबहिनीसमेत विदेशमा गएर आफ्नो श्रम बेचेर पेट पालेर बसेका छन्। त्यो श्रमशक्ति आफ्नो मुलुकमा फर्काउनु आज प्रत्येक नेपालीको कार्यसूचीको प्राथमिकता बन्नुपर्छ।

विसं २०४७ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भयो। त्यति बेला साथी पदमबहादुर थापा बाजुराको एक स्कुलमा पढाउने काम गर्दै हुनुहुन्थ्यो। अध्यापनसँगसँगै थापाजीले नेपाली कांग्रेसको सिद्धान्तको प्रचारप्रसार गर्न पनि उत्तिकै जाँगर देखाउनुभयो। बाजुरा जिल्लाका यस समयका प्रतिष्ठित कांग्रेसी नेताका निम्ति पदमबहादुर थापाको योगदान लुकेको छैन। बहुदल आएपछि भने उहाँलाई पनि सत्ताको व्यामोहले छोयो। अब टिकट पाइन्छ। टिकट नपाए राजनीतिक नियुक्ति पाइएला भनेर उहाँ काठमाडौं आउनुभयो। नेता त उहाँ आफैं हुनुहुन्थ्यो तर उहाँसँग पद थिएन। त्यसैले पद भएका नेताहरूको भेटघाटमा उहाँको दिनचर्या बित्न थाल्यो। यस्तै दिनचर्यामा २० वर्ष व्यतीत भए। यता केही वर्षदेखि भने त्यो सबबाट विरक्त भएर थापाजी पुस्तक लेख्ने, अनुवाद गर्ने र प्रकाशक खोज्ने काममा संलग्न हुनुहुन्छ। उहाँका झन्डै १० थान पुस्तक–पुस्तिका प्रकाशित भएका छन्। थापाजीले नेपाली समाजलाई दिएको यो एक उल्लेखनीय योगदान हो।

क्रान्तिको आह्वानमा जवानी र जीवन गुमाउनुभएका थापाजीले कतैबाट केही पाउनुभएन। तर, यस्ता नपाउने अरू पनि थुपै्र छन्। कांग्रेसमा लागेका हुनेखानेका छोराहरूले टिकट पाए, पद पाए। स्वाभिमानी तर आर्थिक स्थिति कमजोर भएका कार्यकर्ताहरू यथा पदमबहादुर थापा, रेवतीरमण सुवेदी, अर्जुन खड्का र शिवप्रसाद कंगालजस्ता अरू हजारौं प्रतिबद्ध कार्यकताहरू पाखा परे। तर, समाजले उनीहरूको योगदान बिर्सिएको छैन। बिर्सनु हुँदैन। अझै यी साथीहरूमध्ये थापाजीले जीवनको उत्तरार्धमा एउटा सार्थक काममा आपूmलाई होम्नुभएको छ। कार्ल माक्र्सले लेखेका किताब आज विश्वव्यापी भएका छन्। तर, तिनै कार्ल माक्र्सलाई आफ्नो जीवनकालमा दुई छाक खान धौधौ थियो। कार्ल माक्र्सको मलामीमा मुस्किलले एक दर्जन मानिस पुगेका थिए। कार्ल माक्र्सका तुलनामा थापाजीका इष्टमित्रको ठूलो जमात छ। खानपिउन भने थापाजीलाई पनि धौधौ नै छ।

झन्डै ७० वर्ष पुग्नुभएका थापाजीको स्वास्थ्य केही तलमाथि भइरहन्छ। तर यस्तो प्रतिकूल स्वास्थ्य र परिस्थितिमा पनि किताब अनुवाद गर्ने जाँगर देखाउनुभएकोमा उहाँको प्रशंसा पनि गर्न चाहन्छु।

यो पुस्तक कांग्रेसको सैद्धान्तिक निरूपणमा एक महत्वपूर्ण योगदान हो। नेपाली कांग्रेसको प्रशिक्षण विभागले यस पुस्तकलाई ध्यानमा राखोस् भन्ने मेरो अनुरोध छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.