जहाँ अश्वेतको किनबेच चल्थ्यो

जहाँ अश्वेतको किनबेच चल्थ्यो

इतिहासको कुनै कालखण्डमा ह्वाइट हाउसको अगाडिको चौर अश्वेतहरूलाई किनबेच गर्ने थलो रहेछ।


संसारको राजनीतिक—आर्थिक शक्ति केन्द्र अमेरिका भन्नेबित्तिकै मेरो मनमा सधैं इतिहासमा भएको चरम रंगभेदको सम्झना आउँथ्यो। समृद्धिको उत्कर्षमा पुगेको अहिलेको अमेरिकी समाजमा रंगभेदको अवस्था कस्तो होला भन्ने प्रश्न कौतुहलको विषय थियो। नेपाली समाजमा जातीय विभेदको चरम अवस्थालाई प्रत्यक्ष देखे भोगेका कारण पनि ऐतिहासिक रूपमा दासतापूर्ण जीवन भोगेका अश्वेतको अवस्थाबारे चासो थियो।

हजारौंको संख्यामा अश्वेतहरूको किनबेच हुने र दास बनाउने अमेरिकी अर्थ राजनीतिक व्यवस्थाको परिवर्तनका लागि निकै ठूला संघर्षहरू भए। दासताविरुद्ध १९औं शताब्दीमा अब्राहम लिंकनले गरेको संघर्ष, १९५० पछि मार्टिन लुथर किंगले गरेको नागरिक अधिकार आन्दोलनदेखि अहिले सञ्चालनमा रहेको ‘बल्याक लाइभ्स म्याटर’ जस्ता आन्दोलनको ऐतिहासिक महत्व छ। यिनै आन्दोलनबारे जान्ने उत्सुकतासहित ४ अगस्ट २०१८ मा मैले अमेरिकाको यात्रा सुरु गरेको थिएँ।

नेपालस्थित अमेरिकी दूतावासको पहलमा आइभीएलपी कार्यक्रम अन्तर्गत अमेरिकी विदेश मन्त्रालयको बहुक्षेत्रीय कार्यक्रम ‘सिमान्तकृत समुदायका लागि मानव र नागरिक अधिकार’ मा सहभागी भएर एसिया, अफ्रिका, दक्षिण र उत्तर अमेरिका, युरोप र मध्यपूर्वका २१ देशका अधिकारकर्मी, वकिल, इतिहासकार, संवैधानिक आयोगका आयुक्त, पत्रकार, अनुसन्धानकर्ता र विश्वविद्यालयका प्राध्यापक आदिसँगै करिब तीन हप्ता भ्रमण, अन्तर्क्रिया गर्ने अवसरले स्वाभाविक रूपमा उत्साहित बनाएको थियो।

वासिंगटनस्थित होटेल जान चढेको ट्याक्सी चालक अफगान मूलका रहेछन्। मैले केही वर्ष पहिले अफगान राष्ट्रपति असरफ घानीलाई नेपालमा भेटेको सम्झिएँ र उनलाई सुनाएँ। राजनीतिप्रति निकै चासो राख्ने उनले अचम्म मान्दै देश छोड्ने मन नहुँदा नहुँदै पनि युद्धमा आफ्नो परिवार र आफन्त मारिएपछि २२ वर्षअगाडि अमेरिका आएको कथा सुनाए। अफगानिस्तान अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको प्रयोग थलोझैं बन्न पुगेकोमा उनलाई निकै दुःख लागेको रहेछ। आप्रवासीहरूलाई अमेरिकामा पनि असहज हुँदै गएको बताउँदा उनले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवास विरोधी नीतिका कारण अमेरिकामा मानिसको आउजाउ तुलनात्मक रूपमा कम भएको छ। त्यसैले मैले विमानस्थलबाट यात्रु ओसारपसार गर्ने काम छाडेर भोलिदेखि उबर चलाउने निर्णय गरेको छु।’

आफूजस्तै धेरैको जीविकामा प्रभाव पारेको बताउँदै ट्रम्प नीतिले अमेरिकमा बस्ने सिमान्तकृत समुदायलाई चाहिँ एक ढिक्का बनाउन सहयोग पुर्‍याएको प्रतिक्रिया ट्याक्सी चालकले दिए। उनले थपे, ‘आप्रवासीहरूका बीच अब कसरी अगाडि बढ्ने भन्ने विषयमा व्यापक छलफल सुरु भएको छ, त्यसले हामीलाई निकै खुसी बनाएको छ।’ राष्ट्रपति ट्रम्पको सबैतिर आलोचना भइरहेको बेला उनको कदमका कारण आप्रवासी एकजुट हुनुले अमेरिकी राजनीतिमा निकै अर्थ राख्ने कुरा यात्राका क्रममा पनि उठे।

ह्वाइट हाउस अगाडि विरोध

ह्वाइट हाउसलाई अन्तर्राष्ट्रिय शक्तिको प्रशासकीय केन्द्रका रूपमा व्याख्या गरिन्छ। तर, त्यहाँ पुगेपछि थाहा भयो, इतिहासको कुनै कालखण्डमा ह्वाइट हाउसको अगाडिको चौर अश्वेतहरूलाई किनबेच गर्ने थलो रहेछ। त्यही ह्वाइट हाउसबाट अश्वेत राष्ट्रपति बाराक ओबामाले दुई कार्यकालसम्म शासन गरे। अहिले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसकै अगाडि विरोध जारी छ। हामी ह्वाइट हाउस पुग्दा कतै एक्लाएक्लै त कतै समूहमा ब्यानर लिएर ट्रम्प सरकारको विरोध गर्दै थिए। लोकतन्त्रमा विरोध गर्न पाउने अधिकारलाई सम्मान गरेर नै होला, उनीहरूलाई प्रशासनले विरोध गर्न रोकेकोे थिएन। मेरो मनमा प्रश्न उठ्यो, जतिसुकै शक्तिशाली भए पनि सरकारको विरोध गर्न पाउनु नागरिक अधिकार हो। हामीलाई भ्रमणमा लैजाने गाइडले मेरो जिज्ञासालाई सम्बोधन गर्दै भने, नागरिकले नै निर्वाचित गरेका प्रतिनिधिले आफ्नो सरोकार सम्बोधन गरेन भने विरोध गर्न पाउनुपर्छ। अमेरिकाको नागरिक अधिकार आन्दोलनले स्थापित गरेको मान्यता हो यो। नेपालमा हामीले संघर्ष गरेर निरंकुश राजतन्त्र फालेर गणतन्त्र ल्यायौं। तर, जनताप्रति उत्तरदायी हुनुपर्ने तिनै अहिले शासनसत्तामा छन् र सरकारलाई जवाफदेही बनाउन विरोध गर्ने ठाउँहरूमा प्रतिबन्ध लगाइएको छ।

अश्वेतमाथि निरन्तर दमन

अमेरिकामा सन् १८६१ मा सुरु भएको गृहयुद्ध १९६५ मा अन्त्य भयो। त्यसपछि अमेरिकी संविधानको १३औ र १५औ संशोधनले दासप्रथा र नश्लका आधारमा मताधिकारमा गरिने विभेदलाई अन्त्य गरिदियो। त्यसपछि बल्ल अमेरिकाका अश्वेतहरूले मतदान गर्न पाए। १९६४ को जुनमा मिस्सिसिपीको फिलाडेल्फिया सहरमा अश्वेतहरूको मतदाता नामावली संकलन गरिरहेका तीन जनालाई दक्षिणपन्थी उग्रवादी जत्थाले अपहरण गरेर निर्ममतापूर्वक हत्या गर्‍यो। राज्य सरकार सो घटनालाई छानबिन गर्न अनिच्छुक भएपछि संघीय सरकारले घटनामा संलग्नलाई गिरफ्तार गरी कारबाही अगाडि बढायो। यसरी मारिने तीनजनामध्ये दुईजना गोरा थिए। तीनजना मारिएको ठाउँको अवलोकन गरिरहँदा त्यहाँका मेयर जेम्स योंग हामीसँगै थिए। २००९ मा त्यो सहरको पहिलो अफ्रिकन—अमेरिकन मेयरमा निर्वाचित उनलाई अश्वेतमाथि विगतमा भएको विभेदलाई कसरी विश्लेषण गर्नुहुन्छ भन्ने विषयमा जिज्ञासा राख्दा उनले भने, ‘हेर्नुस्, अन्यायको सबालमा हामी मौन बस्नु हुँदैन। किनकि त्यसले विभेद गर्न सहमति प्रदान गर्छ। बदलाको भावनाले कसैको हित गर्दैन। त्यसैले मेयरको रूपमा मेरो प्रयास सबै समुदायबीच भ्रातृत्व र सौहार्दता कायम गर्नेतिर नै केन्द्रित छ।’ न्याय र आत्मसम्मान पाउने मूल्यमा मात्रै त्यस्तो भ्रातृत्व विकास हुन सक्छ। हाम्रो सामाजिक विभेदको अन्त्यका लागि पनि प्रगतिशील समूहसँग हातेमालो गर्नैपर्छ। तर, विभेदकारीसँग त संघर्ष नै गर्नुपर्ने हुन्छ।

एउटा संयोगझैं भयो, मिस्सिसिपी स्टेट युनिभर्सिटीकी अवकाश प्राप्त डिन प्राडा याली म्याकसँगको भेट। उनले अमेरिकी नागरिक अधिकारको आन्दोलनका नेता मार्टिन लुथर किंग र उनका साथीहरूलाई वैचारिक रूपमा दिशानिर्देशसमेत गरेकी रहिछन्। उनले हाम्रो सम्मानमा आफ्नो घरमा रात्रिभोजको आयोजना गरेकी थिइन्, जहाँ सन् ५० र ६० को दशकको नागरिक अधिकार आन्दोलनमा प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरू पनि आमन्त्रित थिए। तीमध्ये एक थिए, जेम्स मेरेडिथ। अश्वेतहरूलाई विश्वविद्यालय बर्जितजस्तै रहेको अवस्थामा उनले सन् १९६२ मा मिस्सिसिपी स्टेट युनिभर्सिटीमा भर्ना हुन निकै ठूलो संघर्ष गर्नु परेको रहेछ। उनले भर्नाका लागि आवेदन दिँदा विश्वविद्यालयमा आन्दोलन नै भएछ र दंगामा दुईजनाको मृत्युसमेत भएको रहेछ। ‘तिमीलाई कानुनसँग असहमत हुने अधिकार छ तर उल्लंघन गर्ने अधिकार छैन’ भन्दै तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले उनले विश्वविद्यालयमा भर्ना पाउनुपर्ने भन्दै ६ हजार सुरक्षाफौज परिचालन गरेका रहेछन्। उनी राज्यमा यसरी विश्वविद्यालयस्तरको शिक्षा हासिल गर्ने पहिलो अश्वेत विद्यार्थी रहेछन्। त्यसपछि मात्र अश्वेतले विश्वविद्यालयमा प्रवेश पाएका रहेछन्।

त्यसैगरी सन् १९५४ मा अमेरिकाको उच्च अदालतले गोरा र अश्वेत विद्यार्थीका लागि छुट्टाछुट्टै विद्यालय सञ्चालन गर्नु असंवैधानिक करार गरेपछि अश्वेतका लागि विद्यालय शिक्षा केही सहज भएको रहेछ। भ्रमणकै क्रममा लुजियाना राज्यको न्यु ओरलियन्स सहरमा अवस्थित विलियम फ्रैंट्ज स्कुल अवलोकन गर्ने मौका मिल्यो। अदालतको घोषणाबाट हौसिएर ६ वर्षे रुवि ब्रिजलाई उनका बा—आमाले त्यो विद्यालयमा भर्ना गरिदिएका रहेछन्। त्यो विद्यालमा उनी पहिलो अश्वेत विद्यार्थी थिइन्। तर, उनी भर्ना भएपछि निकै ठूलो विरोध भयो। रुवि विद्यालय गएको पहिलो दिन केही गोराहरूले आफ्नो छोराछोरीलाई विद्यालयबाट निकाले, उनलाई विद्यालय प्रवेश निषेध गर्न माग गरे। त्यति मात्रै होइन, रुविलाई थुक्ने, धम्क्याउने, सँगै बसेर खान नदिने र बहिष्कार गर्ने काम भयो। रुविको सुरक्षाको लागि संघीय सरकारले चारजना मार्सल नै राख्नुपर्‍यो। उनका बुबाको जागिर खोसियो, किराना पसलमा सामान किन्नसमेत दिइएन। रुविलाई एकजना श्वेत शिक्षिकाले भने पढाइन्। दोस्रो वर्षदेखि केही सहज भयो। सात वर्षपहिले २०११ मा रुविले ह्वाइट हाउसको भ्रमण गरिन् र तत्कालीन राष्ट्रपति ओबामाले रुबिलाई भनेछन्, ‘तिमीहरूको शिक्षाको अधिकारका लागि त्यो संघर्ष नभएको भए आज म यो स्थानमा हुने थिएन।’ यी घटनाले नेपालमा विद्यालयबाटै बञ्चित गराइएका लाखौं दलितहरूको इतिहासलाई पनि सँगसँगै सम्झायो। जुन इतिहास नेपालमा लेखिएकै छैन भन्दा पनि हुन्छ। दलितहरूकै बलिदानीमा टेकेर सत्तामा पुगेकाहरूले दलितका लागि के गरे त ? उत्तर सहज भेटिँदैन।

अश्वेतहरूले अधिकारका लागि निरन्तर संघर्ष गरे। जसमा प्रगतिशील रंगभेद विरोधी अमेरिकीको पनि सहयोग रह्यो भने त्यहाँको संघीय सरकारले सबै किसिमका विभेद अन्त्य गर्ने कानुनको निर्माण गर्‍यो भने कानुन कार्यान्वयनलाई पनि महत्व दियो। धेरै हदसम्म अश्वेत अमेरिकीहरूले आधारभूत नागरिक अधिकारको उपभोग गर्न पाइरहेका छन्, यद्यपि रंगभेद पूर्ण रूपमा अन्त्य भने अझैं भइसकेको छैन, संघर्ष जारी छ।

अश्वेत अमेरिकी र दक्षिण एसियाली दलित

अध्ययन भ्रमणको सिलसिलामा मैले अमेरिकामा अश्वेत र दक्षिण एसियाका दलितमाथिको चरम विभेद र बहिष्करणको प्रकृति बारेमा जान्ने प्रयास गरेँ। नश्ल र जात दुई फरक अवधारणा हुन्। अमेरिकी समाज अहिले पनि ‘कलर’ बाट ‘क्लास’ मा रूपान्तरण भइसकेको छैन। दोस्रो विश्वयुद्धमा सहभागी अश्वेत भेट्रानहरू घर फर्केपछि अमेरिकी समाजले उनीहरूलाई विजेताको रूपमा स्विकारेन। उनीहरू नागरिक अधिकारको आन्दोलनमा सक्रिय सहभागी भए र नश्लीय विभेदको कानुन ‘जिम क्रो’ को बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जनचेतना जगाए। त्यसैगरी उनीहरूले शिक्षामा जोड दिए र निकै सचेततापूर्वक नागरिक अधिकार आन्दोलनको नेतृत्व गरे। आन्दोलनबाटै मार्टिन लुथर किंग जुनियर र थोरुड मार्सलजस्ता नेताहरूको उदय भयो, जसले त्यहाँको नागरिक अधिकार आन्दोलनलाई एउटा निश्चित दिशा दिए। विभेदमा पारिएका अमेरिकी अश्वेत नागरिकहरू बिस्तारै एउटै आन्दोलनमा समाहित भए, युरोपमा श्रमिक र मजदुरहरू एकीकृत भएर सत्तालाई चुनौती दिएजस्तै। फलस्वरूप त्यहाँको नागरिक–राजनीतिक आन्दोलन एक हदसम्म सफल भयो। तर, दक्षिण एसियामा वर्ण व्यवस्थामा आधारित भेदभाव यतिसम्म कडा बनाइयो कि श्रमिक दलित र मजदुरलाई एकीकृत शक्ति बन्नै दिइएन। आन्तरिक विभाजनलाई ठीक ढंगले हल गर्ने र सत्तासँग सशक्त प्रतिरोधको नेतृत्व गर्ने नेतृत्व निर्माण हुन निकै कठिन रह्यो। भारतमा जात व्यवस्थाको गहन अध्ययन गरेका अम्बेडकर कुशल नेतृत्वका रूपमा भारतीय राजनीतिमा देखा परे। जसले भारतीय समाजलाई दलितको दृष्टिकोणबाट व्याख्या गरे, दलित अधिकारका लागि गान्धी र नेहरूसँग लडे। यद्यपि, भारतमा दलित समुदायको अवस्था अहिले पनि कहालीलाग्दो छ।

नेपालमा राजनीतिक विद्रोहमा दलित समुदायले निकै ठूलो योगदान गर्‍यो। दलित मुद्दा राजनीतिक रूपमा स्थापित भयो। तथापि, विभाजित दलित समाजलाई संगठित गर्ने र आन्दोलनकोे नेतृत्व गर्ने नेतृत्व स्थापित गर्न अझै मेहनत भइरहेको छ। अपमानपूर्ण दलित जीवनबाट मुक्ति पाउन दलित समुदायले गैरदलित र अन्य प्रगतिशील हिस्सालाई समेट्दै राज्यलाई दलित मुद्दामा जवाफदेही बनाउने काममा अझै सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ।

संग्रहालयमा इतिहास

अमेरिका भ्रमणका क्रममा विभिन्न राज्यका संग्रहालयहरूको अवलोकन गर्ने असर पाइयो। संग्रहालयले इतिहासको संरक्षण कसरी गर्छ भन्ने अनुभव ती संग्रहालयबाट पाइन्छ। डीसीमा रहेको ‘युनाइटेड स्टेट्स होलोकास्ट मेमोरियल म्युजियम’ मा सन् १९३३ मा जर्मनीका सत्ताधारी नाजीले यहुदीमाथि कसरी बर्बरतापूर्ण दमन गरिएको थियो भन्ने देखाउँछ। ‘अफ्रिकी अमेरिकी संस्कृति र इतिहासको राष्ट्रिय संग्रहालय’मा अफ्रिकन अमेरिकनहरूको आँखाबाट अमेरिकाको इतिहासलाई भन्न खोजिएको छ। दुवै संग्रहालयमा स्वतन्त्रता र न्यायका लागि क्रमशः यहुदी र अफ्रिकनले गरेको संघर्षलाई रोचक र जीवन्त बनाउँछ। धेरै अभिभावकले छोराछोरीलाई संग्रहालयमा घुमाएको र उनीहरूले पनि रुचिपूर्वक छलफल गरी इतिहासलाई बुझ्ने कोसिस गरिरहेको दृश्य निकै सम्झनलायक थियो। विद्यालयका पाठ्यक्रममा पढाइने इतिहासभन्दा संग्रहालयमार्फत भनिने इतिहास धेरै गुना शक्तिशाली हुन्छ जस्तो लाग्यो।

नेपालमा समाज, संस्कृति र इतिहासबारे बुझ्न खासै संग्राहलय छैनन्। शासकका बाहेक इतिहास पनि लेखिएका छैनन्। नेपालको श्रम र कृषि युगलाई नै धान्ने दलितहरूको योगदान कतै संकलित छैन भने उनीहरूमाथि भएका अमानवीय बर्बरताको इतिहास समेत देखिएको छैन। संग्रहालयको त कल्पनासमेत गरिएको देखिँदैन। अमेरिकी लेखिका तथा नागरिक अधिकार अभियन्ता माया एन्जेलोले भनेझैं मान्छेलाई आफ्नो इतिहासबारे जति जानकारी छ, उसले आफूलाई त्यति नै मुक्त भएको महसुस गर्छ। यस्तो जीवन्त दलित संग्रहालयको स्थापना सम्भव छ, यदि राज्य जिम्मेवार बन्छ भने।

ठोस काम र परिणामको आश

विगत ७० वर्षदेखि दलित समुदायले नेपालमा आन्दोलन गर्दै आइरहेका छन्। राजनीतिक आन्दोलन होस् वा सामाजिक आन्दोलन, दलित सधैं संघर्षको मैदानमै छन्। यिनै आन्दोलनले दलित मुद्दालाई राजनीतिक रूपमा स्थापित गर्‍यो। केही हदसम्म संवैधानिक र कानुनी अधिकार पनि प्राप्त भएको छ। तर, व्यवहारमा दलितले अहिले पनि अपमानपूर्ण जीवन बाँच्न विवश छन्। यतिबेला दलित आन्दोलन कताकता अल्मलिए जस्तो अवस्थामा छ। दलितले नागरिकका हैसियतमा जीवन बाँच्न पाउने राजनीतिक—सामाजिक व्यवस्था निर्माणमा दलित, सचेत र प्रगतिशील गैरदलितको सक्रियता जरुरी छ। अर्कोतिर, राजनीतिक दल र राज्यलाई आवश्यक कानुन, नीति, नियम निर्माण गर्दै मानवताविरुद्धको अपराधका रूपमा रहेको छुवाछूत, भेदभाव र बहिष्करणको अन्त्यका लागि सशक्त प्रतिरोध गर्न जरुरी छ। सबैले समान हैसियतसहितको नागरिक हुँदा मात्रै देश समृद्ध हुन्छ।


(लेखक डिग्निटी इनिसियटिभसँग आबद्ध छन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.