सरकारले दण्डहीनतालाई प्रश्रय दियो : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाएका छन्। पार्टीनिकट तरुण दलको ६५ औँ स्थापना दिवसका अवसरमा सानेपास्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा देउवाले सरकारकै कारण देशका विभिन्न भागमा अपराधिक घटनाहरू वृद्धि भएको दावी गरे।
'आपराधिक घटना बढ्नुमा सरकारकै कमजोरी छ। राज्यले दण्डहीनतालाई प्रश्रय दिँदा यस्ता घटना बढेका हुन्', देउवाले भने, 'नागरिकले शान्ति सुरक्षा पाउने स्थित छैन। अपराधीलाई कारबाही नहुँदा आपराधिक मनोवृत्ति झन् बढेको छ।'
वर्तमान् सरकारसँग दुई तिहाईको शक्ति भए पनि यसले जनअपेक्षाबमोजिम काम गर्न नसकेको देउवाले बताए।
'चुनावमा बाँडेका सपना र आश्वासन सरकारले पूरा गर्न सकेन', देउवाले भने, 'शान्तिपूर्ण रुपमा बाँच्न पाउने नागरिकको अधिकार पनि यसले रक्षा गर्न सकेन।'
कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले लोकतन्त्र संकटमा रहेको तर्क गर्दै आफूहरू सरकारका गलत क्रियाकलापविरुद्ध लडिरहने बताए। 'बीपी कोइरालाले जुन उद्देश्य लिएर तरुण दल स्थापना गर्नुभयो, आज पनि त्यसको सान्दर्भिकता छ', उनले भने, 'लोकतन्त्र संकटमा छ। यसलाई लोकतन्त्र जनताको पहरेदार भएर हामी सडकमा उभिनेछौँ।'
तरुण दल बीपी कोइरालाले २०१० कात्तिक १० गते स्थापना गरेका हुन्।