व्यापार घाटा तीन खर्ब ४९ अर्ब
काठमाडौं : चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो। गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो।
भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो। यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै आयात भएको छ। यसपछि दोस्रोमा आइरन र स्टिलले पनि व्यापारघाटा चुलिँदै जानुमा भूमिका खेलेको छ। तीन महिनामा आइरन र स्टिल गरी ४० अर्ब तीन करोडको आयात भएको छ। यसपछि सवारीसाधन, मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको छ।
चालु आवको पहिलो तीन महिनामा पौने तीन खर्बको उपभोग्य वस्तु आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस अवधिमा आयातको आकार ४३.५७ प्रतिशतले ठूलो भएको छ। यो वर्षको तीन महिनामा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको तीन महिनामा दुई खर्ब ६० अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको थियो।
आयातमा सबैभन्दा ठूलो हिस्सा इन्धनले ओगटेको छ। गत वर्षको तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा वैदेशिक व्यापार ४१.५७ प्रतिशतले वृद्धि भएको छ। यसअनुसार पछिल्लो तीन महिनामा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको नेपालले वैदेशिक व्यापार गरेको छ। कुल व्यापारमा आयातको हिस्सा गत आवको यसै अवधिको तुलनामा भने १७.९५ प्रतिशतले घटेको छ। निर्यात भने १६.८ प्रतिशत वृद्धि भएको छ।
चालू आवको तीन महिनामा नेपालबाट २३ अर्ब ७४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष यसै अवधिमा २० अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको थियो।
३६ अर्बको कृषिजन्य वस्तु
सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने दाबी गरिरहेकै बेला चालु आवको तीन महिनामा ३६ अर्ब २० करोड ४८ लाख रुपैयाँको कृषि तथा मासुजन्य वस्तुको आयात भएको छ। यसमध्ये सबैभन्दा बढी खाद्यान्न (धान, चामल, मकै, जुनेलो, गहुँ) आयात भएको छ।
यस अवधिमा १२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ। चामलमात्रै सात अर्ब ६३ करोड रुपैयाँको (झण्डै दुई लाख मेट्रिक टन) आयात भएको छ। यसपछि दोस्रोमा तरकारीजन्य उत्पादनको आयात भएको छ। ६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँको तरकारी आयात भएको छ।
फलफूल चार अर्ब ८९ करोड, तेलहन तीन अर्ब ५५ करोड, मल तीन अर्ब ९७ करोड, चिया तथा कफी दुई अर्ब ३१ करोड, मासुजन्य जिउँदो जनावर एक अर्ब ६७ करोड, ४२ करोडको माछा, चार करोडको तयारी मासु र ४१ करोड १४ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ।
तीन चौथाईभन्दा बढी भारतसँग व्यापार
कुल आयातको हिस्सामध्ये ६३.२ प्रतिशत भारतबाट भएको छ। यसपछि दोस्रोमा १४.२ प्रतिशत चीनबाट, ३.८ प्रतिशत फ्रान्सबाट, २.१ प्रतिशत संयुक्त अरबबाट आयात भएको छ। कुन निर्यातमध्ये ५५.४ प्रतिशत भारतमा भएको छ। १३.५ प्रतिशत निर्यात अमेरिकामा भएको छ।