टीट्वेन्टी क्रिकेटमा पाकिस्तानलाई ठूलो सफलता
दुबई : पाकिस्तानले कप्तान सर्फराज अहमदको नेतृत्वमा लगातार १० वटा टीट्वेन्टी क्रिकेट शृंखला जित्दै नयाँ सफलता हात पारेको छ। अस्ट्रेलियाविरुद्ध शुक्रबार राति भएको दोस्रो टीट्वेन्टी खेलमा ११ रनको जितसँगै पाकिस्तानले यो उपलब्धि हात पारेको हो। तीन खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तान ६६ रनले विजयी बनेको थियो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४७ रनको योगफल तय गरेको थियो। जवाफी ब्याटिङमा आएको अस्ट्रेलियालाई निर्धारित ओभरमा आठ विकेट लिँदै एक सय ३६ रनमै रोक्दै पाकिस्तानले जित निश्चित गरेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टीट्वेन्टी वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानले सन् २०१६ यता कप्तान अहमदको नेतृत्वमा खेलेको अन्तर्राष्ट्रिय टीट्वेन्टी शृंखला विपक्षी टोलीलाई जित्न दिएको छैन।
खेलको अन्त्यतिर विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको पालिलाई रोकेसँगै पाकिस्तानले नयाँ उपलब्धि पक्का गरेको थियो। म्याक्सवेलले ३७ बलमा ५२ रन प्रहार गर्दै सशक्त ब्याटिङ गर्दा अस्ट्रेलिया जित नजिक देखिएको थियो। यद्यपि दुईपटक क्याच ‘ड्रप’ भएका म्याक्सवेल तेस्रोपटकमा भने आउट हुन पुगेपछि पाकिस्तानको जितको ढोको खुलेको थियो।
ब्याटिङका लागि पाँचौं क्रममा क्रिजमा छिरेका म्याक्सवेलले आफ्नो पालिमा दुई छक्का र चार चौका प्रहार गरेका थिए। उनीबाहेक अस्ट्रेलियाका लागि नाथन कउल्टर नाइलले तीन छक्काको मद्दतले १७ बलमा २७ रन प्रहार गरे पनि टोलीको जित सम्भव भएन। त्यसबाहेक अस्ट्रेलियाका लागि मिचेल मार्सले २१ रन जोड्दा अन्य खेलाडीले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानको जितमा टोलीका बलरहरूको विशेष भूमिका रह्यो। इमाद वासिमले चार ओभरमा एक मेडनसहित मात्र आठ रन खर्चेर एक विकेट लिँदै किफायती बलिङ गर्दा सादब खान र सहिन्सा अफ्रिदीले समान दुई÷दुई विकेट लिए।
त्यसअघि ब्याटिङतर्फ पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान बाबर आजमले ४४ बलमा ४५ रन तथा मोहमद हाफिजले ३४ बलमा ४० रनको योगदान दिएका थिए। यस्तै फहिम अ श्रफले १० बलमा अविजित १७ रन जोड्दा सोएब माल्लिकले १२ बलमा १४ रन तथा फखार जामनले ११ रन जोडेका थिए। अस्ट्रेलियाका कल्टर नाइलले तीन तथा बिल्ली स्टनलेकले दुई विकेट लिएका थिए। दुई देशबीचको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेल आइतबार दुबईमा हुनेछ।