धमाधम कर तिर्दै निजी विद्यालय
ललितपुर : ललितपुरका ठूला विद्यालयले महानगरपालिकामा धमाधम कर तिर्न थालेका छन्। कर तिर्न अनाकानी गरेपछि महानगरले अनुगमन गर्दै चाँडो कर बुझाउन निजी विद्यालयलाई गत आर्थिक वर्ष नै ताकेता गरेको थियो। ललितपुर महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख डिल्लीराज शाक्यका अनुसार धापाखेलस्थित जेम्स स्कुलले ताकेतापछि एक करोड ६ लाख राजस्व तिरेको छ।
मानभवनस्थित आदर्श विद्या मन्दिरले पनि एक करोड ४५ लाख तिरेको छ। यसैगरी हात्तीवनमा रहेको लिटिल एन्जल्सले ४५ लाख र च्यासलस्थित हिमालयन कलेजले १८ लाख रुपैयाँ बुझाएका छन्। तर, धोबीघाटमा रहेको डीएभी स्कुलले भने कागजी प्रक्रिया नमिलेका कारण अझैसम्म कर बुझाएको छैन।
शाक्यले ललितपुरका धेरैजसो विद्यालयले आफ्नो जग्गा कति भन्ने नै देखाउन नसकेको बताए। ‘कतिपय विद्यालय दर्ता र भवन तथा टहराको नक्सा पास नगरी सञ्चालनमा आएको पाइएको छ’, शाक्यले भने, ‘अझै धेरै विद्यालय आउन बाँकी छ भने केहीले पूरा कर तिरेका छैनन्।’
कर तिर्न अनाकानी गरेपछि महानगरले अनुगमन गर्दै चाँडो कर बुझाउन निजी विद्यालयलाई गत आर्थिक वर्ष नै ताकेता गरेको थियो।
महानगरपालिकाको आर्थिक समितिले गत वर्ष जिल्लाका ठूला विद्यालयमा अनुगमनसमेत गरेको थियो। अनुगमनपछि विद्यालयले कर मिनाहा गरिदिन आग्रह गर्दै आएका थिए। महानगरपालिकको आर्थिक समितिका संयोजक रवीन्द्र मजर्हनले सबै क्षेत्रलाई करको दायरामा ल्याउन अब वडाबाटै कर उठाउने व्यवस्थाको तयारी भइरहेको जानकारी दिए। तिहारलगतै अभिमुखीकरणका लागि प्रत्येक वडामा जाने उनको भनाइ छ।
कर लिने भएपछि प्रत्येक वडाले सुरुमा आफ्ना क्षेत्रमा सञ्चालित विद्यालय दर्ता र नक्सा पासबारे जानकारी लिने उनले बताए। ‘जग्गा आफ्नो हो वा लिजमा लिएको हो बुझेर एकपटकलाई सम्झाउने काम हुन्छ, त्यसपछि करको दायरामा आउन आग्रह गरिन्छ’, महर्जनले भने। तर कर नतिरेको अवस्थामा सरकारी काममा आफैंलाई अप्ठेरो पर्ने भनाइ महर्जनको छ। ‘करको दायरामा नआएका कुनै पनि क्षेत्रलाई छोडिँदैन। कारबाही हुन्छ’, महर्जनले भने।
महानगरपालिकाको बोर्ड बैठकबाट सबै वडाले घरबहाल, व्यवसाय तथा आयस्रोत कर उठाउन पाउने मापदण्ड पारित भइसकेको छ। अब नागरिकले महानगरपालिकाको कार्यालयमा नगइ आफ्नै वडाबाट कर तिर्न पाउनेछन्। वडामा गएपछि सबैले कर तिर्नुपर्छ। आर्थिक वर्ष २०७४/०७५ लाई कर वर्षका रूपमा मनाउँदै जतिसक्दो बढी राजस्व संकलन गर्ने लक्ष्य महानगरपालिकाको छ। राजस्व प्रशासन महाशाखाका अनुसार गत आवमा अनुमानभन्दा ७२ करोड बढी राजस्व संकलन भएको छ।