प्रदेश सरकारमातहत कार्यालयमा कर्मचारी अभाव
बैतडी : सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापित कृषि ज्ञान केन्द्र बैतडीमा एक उपसचिवसहित १६ जनाको दरबन्दी छ । कार्यालय स्थापना भएको तीन महिना बितिसक्दासमेत ६ जना कर्मचारीले काम गरिरहेका छन् । दार्चुला र बैतडी जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालयमा कर्मचारी अभाव रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले भने, ‘पहिले कार्यक्रम नआएर समस्या भयो । अब कार्यक्रम आएर कार्यान्वयनमा समस्या छ । दुई जिल्ला हेर्नुपर्छ ।’
बैतडीकै पाटनमा स्थापना भएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा कर्मचारी अभाव छ । १२ जनाको दरबन्दी रहेको कार्यालयमा ७ जना मात्रै कार्यरत रहेको पशुसेवा प्राविधिक बिसनसिंह विष्टले बताए । उनले भने, ‘कार्यालयमा कर्मचारी नहुँदा समस्या छ । प्रदेश सरकारमातहत स्थापना भएको कार्यालय भएकाले अझै राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन । कर्मचारी अभावमा कार्यक्रम पनि अघि बढाउन सकिएको छैन ।’
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थापना भएको पूर्वाधार विकास कार्यालयमा पनि कर्मचारी अभाव छ । दार्चुला र बैतडीका प्रादेशिक सडक, ग्रामीण सडक र लामा झोलुंगे पुल हेर्ने जिम्मेवारी पाएको कार्यालयमा तत्कालका लागि कर्मचारी अभाव रहेको सिनियर डिभिजनल इन्जिनियर जगत्प्रसाद जोशीले बताए । उनले भने, ‘भर्खरै कार्यालय स्थापना भएको छ । अख्तियारीका लागि म पनि मन्त्रालयतिरै छु । छिट्टै कर्मचारी अभाव पूर्ति गरेर कार्यक्रम अघि बढाउने तयारीमा छौं ।’
प्रदेश सरकारमातहत स्थापना भएका डिभिजन वन कार्यालय, महाकाली बृहत्तर जलाधार केन्द्रलगायत कार्यालयमा पनि कर्मचारी अभाव रहेको कार्यालयले जनाएका छन् ।