तीन लाख बराबरको पटाका नष्ट
राजविराज : प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट बरामद गरेको तीन लाख रुपैयाँ बराबरको पटाका सोमबार नष्ट गरेको छ ।
एक साताभित्र बरामद भएको दुई लाख ७४ हजार नौ सय ६० रुपैयाँ बराबरको पटाका बरामद गरिएको पटाका जिल्ला प्रहरी कार्यालय परिसरमै खाल्डो खनी पानी हालेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको र भण्डारण गरेर राखेको अवस्थामा पटाका बरामद गरेको थियो ।
गएराति छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट टाउकोमा बोकी ल्याएको चारवटा ठूलो र सानो वण्डल, हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट गत मंगलबार तीन पोका, राजविराज नगरपालिका–६ स्थित दिपेन्द्रलाल दासको घरबाट गएको सोमबार एक लाख ५० हजार बराबरको पटाका र कात्तिक ३ गते बलान बिहुल गाउँपालिका मौवाबाट ४२ हजार पाँच सय रुपैयाँको अवैध पटाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दसैं, तिहार तथा छठपर्व नजिकिएसँगै सिमानाका भारतीय बजारबाट पटाकालगायत सामान ओसारपसार गर्ने क्रम बढ्दो छ ।