फलफूल विकास केन्द्र प्रशिक्षण हबमा परिणत

फलफूल विकास केन्द्र प्रशिक्षण हबमा परिणत

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका पूर्णानन्द भट्ट फलफूलका बिरुवाको नर्सरी आफै बनाउन थालेका छन्। सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रबाट सीप सिकेर उनले फलफूल नर्सरी बनाउन थालेका हुन्। उनले भने, ‘सुक्खा फलफूल विकास केन्द्रबाट बोटविरुवाको कलमी गर्ने, ग्राफ्टिङ गर्ने सीप सिके। अहिले आफ्नै नर्सरी बनाएर आम्दानी गर्न थालेको छु।’

दार्चुलाकी पूजा अवस्थी कृषि जेटीएकी विद्यार्थी हुन्। उनी पनि आफ्नो प्रयोगात्मक कक्षाका लागि सतबाँझस्थित सुक्खा फलफूल केन्द्रमा पुगेकी छिन्। उनले भनिन्, ‘प्रयोगात्मक सीप सिक्न केन्द्रमा सजिलो भएको छ। फलफूलका बिरुवा कलमी गर्ने, गोडमेल गर्ने, विषादीको प्रयोग गर्ने, प्लास्टिक हाउस बनाउने सीप सिक्न थालेकी छु। यसले मलाई आगामी दिनमा सहयोग गर्नेछ।’

सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रमा स्याउ फल्न छाडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादनका साथै किसान र विद्यार्थीलाई सीप सिकाउन थालिएको प्राविधिक अर्जुन खड्काले बताए। उनले भने, ‘जलवायुमा भएको परिवर्तनका कारण पछिल्लो समय स्याउ फल्न छाडेपछि हामीले फलफूलका बिरुवा उत्पादन गर्न थालेका छौं। यसका साथै स्थानीय किसान र विद्यार्थीलाई सीप सिकाउन थालेका छौं। यसले फलफूल बिरुवा उत्पादन गर्ने सीपको विस्तार हुँदै गएको छ।’

सुक्खा फलफूल विकास केन्द्रबाट सीप सिकेर बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ र सुर्नया गाउँपालिका वडा नं २ का किसानले निजी नर्सरीसमेत स्थापना गरेका छन्। ‘हामीले किसानलाई फलफूलका बिरुवा उत्पादन गर्ने सीप सिकाएका छौं। अहिले नर्सरीबाटै किसानले लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्’, सुक्खा फलफूल विकास केन्द्रका प्रमुख वरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले भने। ‘पछिल्लो समय प्राविधिक शिक्षा पढिरहेका विद्यार्थी पनि प्रयोगात्मक कक्षाका लागि सुक्खा फलफूल विकास केन्द्रमा आउने गरेका छन्। यसले गर्दा हाम्रो कार्यालय सिकाइ केन्द्रकै रूपमा स्थापित भएको छ।’

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका प्राविधिक शिक्षालयमा अध्ययनरत ४९ जना विद्यार्थी प्रयोगात्मक कक्षाका लागि सुक्खा फलफूल विकास केन्द्रमा पुगेको प्राविधिक अर्जुन खड्काले बताए। उनले भने, ‘प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीले विभिन्न सीप सिकिरहेका छन्। हामीले पनि उनीहरूलाई सीप सिकाइरहेका छौं।’

सुक्खा फलफूल विकास केन्द्रमा स्थानीय महिलाले ज्यालामा काम पनि गर्ने र सीप पनि सिक्ने गरेको वागवानी विकास अधिकृत लक्ष्मीदत्त पाण्डेयले बताए। उनले भने, ‘स्थानीय महिलाले सुक्खा फलफूल विकास केन्द्रमा ज्यालामा दैनिक काम पनि गर्छन्। यहीँबाट बोटबिरुवाको कलमी गर्ने, ग्राफ्टिङ गर्ने, काँटछाँट गर्ने सीप पनि सिकिरहेका छन्। महिलाले सिकेको सीपले घरमा नर्सरीसमेत बनाएका छन्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.